सुनसरी दिनभर तनावग्रस्त, गोली लागेर एकको मृत्यु दर्जनभन्दा बढी घाईते, कफ्र्यु जारी उलंघन भएपछि सेना सडकमा
इनरुवा, साउन ११ गते । आईतबार गोली लागेर एक जनाको मृत्यु र दर्जनभन्दा बढी घाईते भएको घटनालाई लिएर सोमबार सुनसरी दिनभर तनावग्रस्त रहयो । रातीको समयमा सुरक्षाकर्मीले चलाएको गोली लागेर एकको मृत्यु दर्जनभन्दा बढी घाईते भएकोमा घटनालाई उग्र हुन नदिन जिल्ला प्रशासान कार्यालय सुनसरीले हरिनगर र देवनागञ्ज गाउँभालिकामा कफ्र्यु जारी गरेको थियो । कफ्र्यु जारी गरेको भएपनि उलंघन भएपछि नेपाली सेना सडकमा उत्रेको छ । प्रशासनको कफ्र्यु जारी उलंघन गरेर प्रदर्शन भएपछि सेना सडकमा गाडि सहित परिचालन भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जनाकारी दिनुभयो ।





के भएको थियो घटना ः
सुनसरीको देवानगंज गाउंपालिका ३ कप्तानगंजमा हिन्दुु र मुस्लीम दुई समुदाय बीच भएको झडपमा एकजनाको मृत्यू र २५ जना घाईते भएको छ । झडपमा सुनसरीको देवानगंज गाउँपालिका वडा नम्बर ४ का २५ वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परि घाइते हुनेहरूमा देवानगंज गाउँपालिका ३ का २० वर्षिय जय प्रकाश मेहता, २२ वर्षिय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता,२५ वर्षिय मिथलेश मेहता, २० वर्षीय अमित कुमार यादव सहितका रहेका छन् । उनीहरुको बाँया हात र कोखामा चोट रहेको न्युरो अस्पतालमा उपचार भईरहेको र अवस्था गम्भीर रहेको छ । त्यसैगरी देवानगंज गाउँपालिका ३ का २१ वर्षिय रविन्द्र मेहता, १८ वर्षीय अमित कुमार यादव, २५ वर्षिय सुनिल कुमार मेहता, २६ वर्षिय सुशिल कुमार मेहता सहितका पनि घाइते भएको छ । उनीहरूको विराट नर्सिङ होममा उपचार भइरहेको छ । त्यसैगरी प्रहरी घाइतेहरुमा ३५ वर्षिय प्रहरी निरीक्षक राकेश राई, प्रहरी नायव निरीक्षक गणेश नारायण श्रेष्ठ, बरिष्ठ हबलदार अमरलाल यादव, प्रहरी हबलदार राम बहादुर राई, बिजय यादव, नवराज पोखरेल, बुद्ध देव साह, निवेश यादव सहित १० जना प्रहरी घाइते भएका छन् । झडपमा शसस्त्र प्रहरीतर्फ ५ जना घाईते भएको छ । स्थानीय शिव मन्दिरमा साउन महिनामा हुने बोलबमका लागि हिन्दु धर्मालम्बीका मानिसहरु कोशी ब्यारेजबाट जल लिन भनि सवारी साधनमा डिजे समेत राखि बजाई नाचगान गर्दै नजिकै रहेको कप्तानगञ्ज चोकमा जाने क्रममा केही मुस्लिम युवाले ठूलो आवाजलाई कम गर्न भनेपछि विवाद भएको थियो । कप्तानगञ्ज चोकमा जाने क्रममा डिजेको आवाज ठुलो भएको भनि मुस्लीम धर्मालम्वीका मानिसहरु आई बिरोध जनाउने क्रममा दुबै पक्ष बीच ठेलाठेल भएको र त्यस क्रममा अवस्था नियन्त्रणमा लिन प्रहरीले २३ राउन्ड हवाई फायर र गोली चलाउनु परेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सुरुमै दुई समुदायको विवाद उग्र भएकोमा प्रहरी चौकि कप्तानगंज सुनसरीबाट खटिएको प्रहरी सहायक निरीक्षक प्रकाश कुमार श्रेष्ठको कमाण्डमा रहेको टोलीले तीन राउन्ड हवाई फायर गरेको थियो । प्रहरीले दुवै पक्षलाई सम्झाई बुझाई गर्दै गर्दा दुबै समुदायका थप मानिसहरु हातमा चिर्पट, ढुंगा, बाँस, भाला लाठी बोकी आउन थाले पछि तत्काल इप्रका देवानगंज, प्रहरी चौकि घुस्की, साहेवगंगबाट थप मद्धत पठाईएको थियो । सोही स्थानमा रहेको सशस्त्र प्रहरी घटनास्थलमा पुग्दा दुबै समुदायका भिड बढ्न गई एक आपसमा ढुंगा लगायत प्रहार गर्दा सम्माउने क्रममा इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक राकेश राई समेत १० जना प्रहरीलाई ढुंगाले लागी घाईते बनाई प्रहरीलाई आक्रमण गर्न खोजे पछि तीन राउण्ड हवाई फायर गरीएको थियोे । अवस्था नियन्त्रणमा नआएकाले सशस्त्र प्रहरी टोलीबाट २० राउण्ड हवाई फायर भएको थियो । घटना लगतै चार सय सुरक्षाकर्मी परिचालन गरेको थियो ।



शान्ति–सुरक्षा मजबुत बनाउन र सदभाव कायम गर्न अपिल
जिल्लामा शान्ति–सुरक्षा मजबुत बनाउन र सदभाव कायम गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले अपिल गरेको छ । सुनसरीको देवानगन्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको दुई समूह बीचको घटना र त्यसमा गोली चलेर मृत्यु र घाईते भएपछि सबै पक्षलाई संयमित भएर सामाजिक सद्भाव कायम गर्न अपिल गरेको हो । घटनापछि सोमबार दिउँसो सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा इनरुवामा बसेको सर्वपक्षीय बैठकमा निषकर्ष ननिस्के पनि सद्भाव कायम राख्न अपिल गरेको हो ।
बैठकमा सहभागीहरुले गृहमन्त्रालयद्वारा गठित पाँच सदस्यीय छानबिन समितिलाई घटनाको निष्पक्ष छानबिनका लागि आवश्यक सहयोग गर्ने, घटनालाई लिएर उत्पन्न परिस्थितिलाई थप जटिल बन्न नदिन सबै पक्षले संयम अपनाउने र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । प्रमुख जिल्ला अधिकारी घिमिरेले बैठकमा सुरक्षा निकायका प्रमुख,राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न सरोकारवालाहरूको उपस्थिती रहेको थियो । गृहमन्त्रालयले कप्तानगञ्ज घटनाको छानबिन गर्न सोमबार नै पाँच सदस्यीय समिति गठन गरेकाले तथ्य बाहिर आउने भएकाले थप कोही कुनै समुदायमाथि अप्रिय घटना नगराउन सरोकाबरालाहरुले अपिल गरेको छ ।



कप्तानगंजमा भएको घटनालाई लिएर इनरुवामा प्रदर्शन
इनरुवा, साउन ११ गते । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिका ३ कप्तानगंजमा राती गोली लागेर एक जानको मृत्यु र १० जना गम्भीर सहित २५ जना घाइते भएको घटनालाई लिएर सोमबार दिनभर सदरमुकाम इनरुवामा प्रदर्शन भएको छ । गएराती देवानगञ्ज ३ का ओमप्रकाश मेहताको गोली लागि मृत्यु भएको र सुनिल मेहता, अमित यादव र रबिन मेहता सहितको १६ जना घाईते भई न्युरो, नोबेल र बिराटनगर नर्सिङ होम अस्पतालमा उपचार भईरहेको र कफर्यू आदेश जारी रहेकोमा मृतकलाई न्याय र घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै इनरुवामा प्रदर्शन गरेको हो । आन्दोलनमा उत्रेका स्थानीयहरुले देवानगञ्जमा कफ्र्युको बीच पनि मृतकलाई श्रदाञ्जली र शोक सन्तप्त परिवारजनमा गहिरो सम्बेदना व्यक्त गर्दै प्रदर्शनमा उत्रेका थिए भने हिन्दु युवाहरुको हत्या र घाईते घटनाको छानविन र दोषी माथि कार्वाहीको माग गर्दै स्थानीयहरुले सदरमुकाम इनरुवामा प्रदर्शन गरेका छन् । ठाउँठाउँमा कडा सुरक्षा दिदै चार सय बढी सुरक्षाकर्मीहरु परिचालन भएको छ भने इनरुवाको प्रहरी बीटमा तोडफोड भएको छ । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले कफ्र्यु आदेश जारी भएको र केही ठाउँमा प्रदर्शन भईरहेको जानकारी दिनुभयो । उहाँले सबैलाई सम्यमित हुनलाई आग्रह समेत गर्नुभएको छ । उता सुनसरीको देवानगञ्ज गाउँपालिका ३ मा कफ्र्यु आदेश जारी भएको बीच पनि प्रर्दशन गर्न थालेपछि चार सय सुरक्षाकर्मी र नेपाली सेनाको गस्ती समेत खटाएको छ ।
यसैबीच कोशी गाउँपालिकाको लौकही र हरिपुर बजारमा पनि दिनभर प्रदर्शन भएको स्थानीय पत्रकार पवन रौनीयारले जानकारी दिनुभयो । भोक्राहा नरसिंहको सुनसरी पुल, चिरौली र पुल चौकमा पनि प्रदर्शन भएको उहाँले जानकारी दिनुभयो ।
