जयकृष्ण यादव । इनरुवा
इनरुवा, साउन १२ गते । सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा भएको दुई समुदाय बीचको विवाद र त्यसपछि भएको गोली काण्डको घटना बारेमा छानबिन गर्न गठन भएको समिति सदरमुकाम इनरुवा आईपुगेको छ । गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको नेतृत्वमा गठन भएको छानबिन समितिले घाईतेहरुलाई भेटेर काम थालेकोमा दोस्रो दिन सुरक्षाअधिकारीहरु र संचारकर्मी सहितका सरोकारबालाहरुलाई भेटेको छ । सोमबार राती काठमाण्डौबाट विराटनगर आएको समितिले उपचाररत्त रहेका घाइते भेट्ने देखि सुरक्षा अधिकारी र संचारकर्मीसंग भेटेर घटनाको प्रारम्भिक जानकारी लिएको हो । संयोजक थापाले मंगलबार प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद आचार्य र प्रहरी प्रमुख तथा संचारकर्मीहरुसंग छलफल गरेर जानकारी दिएको बताउनुहुदै समिति भोली बुधबार घटना स्थलमा पुग्ने जानकारी दिनुभयो । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समिति घाइते तथा घटनाका प्रत्यक्ष पीडितसँग घटनाबारे बयान लिँदै आवश्यक विवरण संकलन गरिरहेको छ । थापाका अनुसार समितिले सातभित्र काम सक्ने गरि घटनास्थलको निरीक्षण, प्रत्यक्षदर्शीको बयान, घटनास्थलको अवस्था, सरोकारबालाहरुको प्रतिकृया, सुरक्षा निकायबाट प्राप्त विवरण तथा उपलब्ध प्रमाणका आधारमा घटनाको वास्तविकता पत्ता लगाउने र घटनामा संलग्न तथा जिम्मेवार देखिएका व्यक्तिमाथि आवश्यक कानुनी कारबाहीका लागि सरकारसमक्ष सिफारिस गरिने छ । घटनाको सत्यतथ्य सार्वजनिक गर्दै दोषीलाई कानुनी दायरामा ल्याउने सरकारको प्रतिबद्धता रहेकाले सोही अनुसार आफूहरुले काम थालेको थापाले जानकारी दिनुभयो । उहाँले आफ्नो नेतृत्वमा नेपाल प्रहरीका विपिन रेग्मी, सशस्त्र प्रहरीका विक्रम होमागाई, उर्जा तथा जलस्रोत मन्त्रालयका शालीग्राम भण्डारी सहित पाँच जना फिल्ड रहेको जानकारी दिनुभयो ।


१, सुनसरीको कप्नागञ्ज घटनाबारेमा स्थानीय संचारकर्मीसंग जानकारी दिदै छानविन समिति ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

कप्तानगञ्ज घटनालाई लिएर दुहवीमा सद्भाव र्याली
इनरुवा, साउन १२ गते । सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा भएको गोली काण्ड घटनाको बिषयलाई लिएर जिल्लाको दुहबीमा सद्भाव र्याली निकालिएको छ । कुनैपनि धार्मिक र जातिय सद्भावका खलल पार्ने काम गर्न नहुने भन्दै सामाजिक सद्भाव र्याली निकालिएका हो । मंगलबार दुहवीमा सामाजिक सद्भाव कायम गरौं, आपसी भाइचारा सम्बन्ध स्थापित गरौं, एकअर्कालाई सम्मान गरौं भन्ने नाराका साथमा हिन्दु र मुस्लिम सहित दुबै समुदायहरुको सामुहिक सद्भाव र्याली निकालिएको हो । हिन्दु मुस्लिम समुदाय सहितले संयुक्त रुपमा निकाले सद्भाव र्यालीमा सुनसरी निर्वाचन क्षेत्र–३ का प्रतिनिधि सभा सदस्य (सांसद)अशोक कुमार चौधरी समेत सहभागी हुनुभएको छ । विवाद र द्धन्द्धले निकास नदिने भएकाले सद्भाव कायम गर्न सन्देश प्रवाह गर्न सद्भाव र्यालीमा सहभागी भएको संसद अशोक चौधरीले बताउनुभयो । दुहवीका उपमेयर मेनुका खतीवडा ,वडा अध्यक्षहरु लगायत विभिन्न दलका स्थानीय नेताकार्यकर्ताहरु समेत सुनसरीको देवानगञ्ज घटनापछि उत्पन्न भएको सद्भाव अभावलाई ध्यानमा राखेर सबै पक्ष मिलेर दुहबीमा सद्भाव र्याली निकालेको बताएका छन् । दुहबीमा आयोजना गरिएको हिन्दु मुस्लिम समुदायको सद्भाव र्यालीमा सहभागीहरुले वर्ता र संवादबाट समस्याको सामाधान गर्न अपिल परेको र सबै पक्षलाई सम्यमित हुन अपिल गरेका थिए । सुनसरी –३ का प्रतिनिधि सभा सदस्य ÷ सांसद अशोक कुमार चौधरी समेत सहभागी हुनुभएको छ । सुनसरी –३ का सांसद अशोक कुमार चौधरी सहित स्थानीय जनप्रतिनिधि र हिन्दु मुस्लिम दुवै समुदायको सहभागीतामा दुहबीमा सद्भाव र्याली सम्पन्न गरेका छन् ।

१, सुनसरीको कप्नागञ्ज घटनालाई लिएर दुहवीमा निकालिएको सद्भाव र्याली ।
तस्विर ः

सुनसरी प्रशासनको कफ्र्यूको बीच आगजनी
इनरुवा, साउन १२ गते । सुनसरीको कोशी गाउँपालिका ४ श्रीपुर कोशी कटानमा दर्जन बढी पसलमा आगजनी भएको छ । जिल्ला प्रशासन कार्यालयले राजमार्गमा कफ्र्यु आदेश हटाएको मौकामा केही युवाहरुले दर्जन बढी पसलमा आगजनी, तोडफोड र लुटपाट गरेको स्थानीय पत्रकार धर्मेन्द्र मेहताले जानकारी दिनुभयो । आगजनी ,आक्रमण र तोडफोडबाट स्थानीय सरजुग यादव, अनिल (महत्मान), उपेन्द्र मण्डल, सकलदेव यादव, राजकुमार यादव, सदानन्द यादव र रणकुमार श्रेष्ठ लगायतका पसलहरूमा ठूलो क्षति पुगेको छ । पसलमा राखिएका सामानहरू लुटिनुका साथै भौतिक संरचनामा आगजनी गरिएपछि व्यवसायीहरू त्रसित बनेका छन् । आगजनी तोडफोड भएपछि दिउसो ३ः ३० बजेदेखी अनिश्चितकालिन कफ्र्यु आदेश जारी गरेको छ । कफ्र्यू आदेश जारीसगैं नेपाली सेनाको स्थलगत र हवाई गस्ती समेत सुरु गरिएको छ । प्रशासनले जनताको सुरक्षा गर्न सरकारको निर्देशन अनुसार नेपाली सेनाले हवाई गस्ती गरेको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिनुभयो । मंगलबार देवानगञ्ज १ र २ मा केही व्यक्तिका निजी घर, व्यवसायी, गाडी समेत जलाएका छन् । दुई वटा मस्जितमा तोडफोड भएको स्थानीय अजमल अंसारीले जानकारी दिनुभयो । महेन्द्र राजमार्गमा केही युवाहरुले मोटरसाईकल नियन्त्रणमा लिएर यात्रुहरुलाई कुटपिट समेत गरेको गुनासो आएको छ । अनिश्चतकालीन कफ्र्युसगैं नेपाली सेनाले हेलिकप्टरमार्फत आकाशबाट समेत विशेष निगरानी गरिरहेको छ भने ठाउँ–ठाउँमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ । प्रशासनले सबैमा संयमता अपनाउन, आपसी सद्भाव कायम राख्न तथा शान्ति सु व्यवस्था कायम गर्न आग्रह गरेको छ ।
गोली लागि मृत्यु भएको मेहताको घरमा प्रमुख जिल्ला अधिकारी
सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा आईतबार राती गोली लागि मृत्यु भएको ओम प्रकाश मेहताको परिवारजनाई भेट्न प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याल कप्तानगञ्ज गुग्नुभएको छ । उहाँले घटनाको बारेमा जानकारी दिनुका साथै शोकाकुल परिवारलाई सम्वेदन दिनुहुदै घटनाका दोषीलाई कार्वाही गर्ने आश्वासन दिनुभएको छ । सोही क्रममा देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहतालाई समेत भेटेर घटनाको यर्थातबारेमा जानकारी लिनुभएको छ । स्थानीयहरुको तर्फबाट गोली लागि मृत्यु भएको मेहतालाई क्षतीपुर्ती सहित घाईतेको उपचार घटनाको निष्पक्ष छानविन गर्न र स्थानीय मदर्शाको नाममा भएको गलत गतिविधिमा निगरानी गर्न समेत प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको स्थानीय ब्रहमदेव मेहताले जानकारी दिनुभयो ।
कफ्र्यु आदेशको बीच पनि प्रदर्शन, ठाउँठाउँमा तोडफोड
इनरुवा, साउन १२ गते । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिका ३ कप्तानगंजमा राती गोली लागेर एक जानको मृत्यु र केही भएको घटनालाई लिएर दोस्रो दिन पनि विभिन्न स्थानमा प्रदर्शन भएको छ । जिल्ला सदरमुकाम इनरुवाको चौकचौकमा कफ्यु आदेशका बीचमा प्रदर्शन भएको छ । आईतबार राती देवानगञ्ज ३ का ओमप्रकाश मेहताको गोली लागि मृत्यु भएको घटना पनि आक्रोषित र समर्थकहरुले कफ्र्यु आदेशको बीच पनि प्रदर्शन गरेको हो । दुवै सुमदायका स्थानीयहरु आ आफ्नो प्रभावित क्षेत्रमा सडकमा उत्रेकाले ठाउँठाउँमा तोडफोड र आगजनीको प्रयास भएको छ । हिन्दु युवाहरुको हत्या र घाईते घटनाको छानविन र दोषी माथि कार्वाहीको माग गर्दै स्थानीयहरुले सदरमुकाम इनरुवामा प्रदर्शन गरेका छन् । ठाउँठाउँमा कडा सुरक्षा दिदै सुरक्षाकर्मीहरु परिचालन भएको छ भने महेन्द्र राजमार्गको इनरुवा भण्टाबारी सडक खण्डमा हिन्दु बाहुल्यता भएको ठाउँमा हिन्दु र मुस्लिम बाहुल्यता भएको ठाउँमा मुस्लिम समुदायका स्थानीयहरु तोडफोडमा उत्रका छन् । कोशी गाउँपालिका ४ र ६ मा मुस्लिम युवाहरुले स्थानीय हिन्दु समुदायको चार वटा पसलमा आगजनी गरेको छ । देवानगञ्ज गाउँपालिका १ र २ मा हिन्दु समुदायका युवाहरुले मुस्लिमको मस्जिममा तोडफोड गरेको छ । इनरुवा नगरपालिका १० जल्पापुरमा हरिनगर ३ का स्थानीय डोमी भन्ने जगरदान मेहतालाई मुस्लिम युवाहरुले कुटपीट गरेर टाउको फुटाईदिएको छ । दुई समुदायका स्थानीयहरु आक्रमक रुपमा बाहिर आएकाले तनाब थप बढेको छ ।
उता प्रभावित क्षेत्रमा नेपाली सेना सहितका सुरक्षाकर्मी परिचालन गरेको प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले जानकारी दिनुभयो । जोखिम क्षेत्रमा साँझसम्मका लागि कफ्र्यु आदेश जारी भएको र केही ठाउँमा प्रदर्शन भईरहेको जानकारी आएकाले त्यस ठाउँहरुमा थप सुरक्षाकर्मी परिचालन गरेको प्रतिकृया दिनुभयो । उहाँले सबैलाई सम्यमित हुनलाई आग्रह समेत गर्नुभएको छ ।

१, सुनसरीको हरिनगर गाउँपालिका ३ का डोमी मेहता घाईते भएकोमा उपचार गराउदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

सुनसरीको पकलि देखि कोशी ब्यारेज सम्म कफ्र्यु
इनरुवा, साउन १२ गते । सुनसरीस्थित पूर्व–पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) को आसपासका क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले मङ्गलवार एक सूचना जारी गर्दै दिउँसो ३ः३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कफ्र्यू लागू गर्नुभएको हो । प्रशासनले इटहरीको पकल्ली चोकदेखि कोशी ब्यारेज क्षेत्रसम्म आवतजावतका साथै कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न पूर्ण रूपमा निषेध गरेको छ । जारी सूचना अनुसार पूर्वमा इटहरी उपमहानगरपालिकाको पकल्ली चोक, पश्चिममा कोशी गाउँपालिका–८ स्थित कोशी ब्यारेजको पुल तथा महेन्द्र राजमार्गको दायाँ–बायाँ (उत्तर–दक्षिण) दुई सय मिटरको सीमाभित्र जुनसुकै किसिमका प्रदर्शन तथा गतिविधिमा प्रतिबन्ध लगाइएको छ। शान्ति सुरक्षाको स्थिति कायम राख्न यो कदम चालिएको स्थानीय प्रशासनले जनाएको छ । उता विभिन्न स्थानमा मङ्गलबार दोस्रो दिन पनि निषेधाज्ञा (कफ्र्यु) जारी गरिएको छ । कफ्र्युका बिच पनि सडकमा स्थानीयको आवतजावत बढ्न थालेपछि बिहान हटाइएको निषेधाज्ञा जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रभावित क्षेत्रमा पुनः जारी गरेको हो । जिल्ला प्रशासन कार्यालयले जिल्लाका दक्षिणी सात बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लागू गरेको जनाएको छ ।


सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी अर्यालको आदेशअनुसार मङ्गलबार बिहान ७ बजेदेखि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम तोकिएका क्षेत्रमा चार जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्नालगायत गतिविधि गर्न रोक लगाइएको छ । प्रशासनले निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम एक हजार रुपियाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने जनाएको छ । निषेधाज्ञा लागू गरिएका क्षेत्रहरूमा हरिनगर बजार क्षेत्र, भुटाहा बजार क्षेत्र, कप्तानगञ्ज बजार क्षेत्र, घुस्की बजार क्षेत्र, नुनिया टोल बजार र देवानगञ्ज बजार क्षेत्र रहेका छन् । आदेशमा ती क्षेत्रका पूर्व, पश्चिम, उत्तर र दक्षिण सीमासमेत निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शान्ति–सुरक्षा कायम राख्न र सम्भावित अप्रिय घटना रोक्न निषेधाज्ञा जारी गरिएको जनाएको छ । आइतबार राति दुई समूहबिच विवाद हुँदा प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर केही प्रदर्शनकारी घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

कप्तानगञ्ज घटनापछि ६ वटा स्थानीय तहमा शोक विदा

इनरुवा, साउन १२ गते । सुनसरीको ६ वटा स्थानीय तहमा शोक विदा दिएको छ । आईतबार राती सुनसरीको सिमावर्ती देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा गोली लागेर एकको मृत्युु भएको शोकमा इनरुवा नगरपालिका, हरिनगर, कोशी, बर्जु, भोक्राहा नर्सिङ र देवानगञ्ज गाउँपालिकामा शोक विदा दिएको हो । देवानगञ्ज र इनरुवाले दुई दिन शोक विदा दिएको छ भने चार स्थानीयले आ आफ्नो पालिकामा एक । एक दिन स्थानीय शोक बिदा दिएको जनाएको छ । हरिनगर, कोशी, बर्जु, भोक्राहा नर्सिङ र देवानगञ्ज गाउँपालिका सहितका स्थानीय तहले सूचना जारी गर्दै शोक विदा दिएको जनाएको हो । सूचनामा साउन १० गते सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज बजारमा भएको दुःखद घटनामा दुख व्यक्त गर्दै शोक विदा दिएको उल्लेख गरेको छ । स्थानीय तहहरुले घाइते सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । दुःखद घटनाप्रति शोक व्यक्त गर्दै नगर तथा गाउँपालिकाको कार्यालय, अन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरू, सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरू, स्वास्थ्य संस्थाहरू (अत्यावश्यक स्वास्थ्य सेवा बाहेक) तथा मातहतका अन्य सम्पूर्ण कार्यालयहरूमा स्थानीय शोक बिदा रहने जानकारी दिएको छ । इनरुवाका निमित प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज निरौलाले प्रमुख केदार भण्डारीको आदेशानुसार सबैलाई, सामाजिक सद्भाव, आपसी भाइचारा, धार्मिक सहिष्णुता तथा साम्प्रदायिक एकता कायम राख्न हुन सम्पुर्णमा हार्दिक अपिल समेत गरेको जानकारी दिनुभयो ।


१ स्थानीय तहहरुले जारी गरेको शोक विदा बारेको सूचना पत्रहरु ।