सुनसरी घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन पूर्वप्रधानमन्त्री प्रचण्डको माग
काठमाडौँ, साउन १४ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक, संसदीय दलका नेता एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा देखा परेका जटिल समस्या र चुनौतरूलाई संवाद तथा सहकार्यका माध्यमबाट समाधान गर्न सरकारसँग आग्रह गर्नुभएको छ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले देशको वर्तमान राजनीतिक र सामाजिक परिस्थिति सहज नरहेको उल्लेख गर्दै राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो।
सम्बोधनका क्रममा उहाँले सुनसरीको कप्तानगञ्जमा बोलबम धार्मिक यात्राका क्रममा उत्पन्न विवाद र त्यसपछि भएको दुःखद् घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो। सो घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। साथै, घटनामा सुरक्षा निकायको भूमिका र गोली चलाउनुपर्ने परिस्थितिबारे निष्पक्ष र विस्तृत अध्ययन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारसँग विशेष अपिल गर्नुभयो।

विगतका जटिल राजनीतिक सङ्कट, शान्ति प्रक्रिया र संविधान निर्माणका क्रममा सत्तापक्ष र प्रतिपक्षबिचको सहकार्यले नै निकास निकालेको स्मरण गराउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले संसद्मा राजनीतिक दलको सङ्ख्या अस्थायी विषय भएको टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो, “मुख्य कुरा राष्ट्रप्रतिको जिम्मेवारी, लोकतन्त्रप्रतिको निष्ठा र प्राप्त उपलब्धिको रक्षा हो।”
प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति टिप्पणी गर्दै उहाँले मुलुकका अनुभवी नेता, विज्ञ र राजनीतिक दलसँग संवाद र सहकार्य गर्न हिचकिचाउन नहुने सुझाव दिनुभयो।
यस्तै, देशमा बढ्दै गएका हिंसा, आत्मदाह र हत्याका घटनाप्रति चिन्ता व्यक्त गर्दै उहाँले नागरिकमा आशा जगाउने दायित्व राजनीतिक नेतृत्वको भएको बताउनुभयो। राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सीमा समस्याका विषयमा आफू सधैँ प्रस्ट रहेको उल्लेख गर्दै संयोजक प्रचण्डले सरकारले जनताको हितमा काम गरे पूर्ण समर्थन रहने र जनविरोधी काम गरे निरन्तर खबरदारी जारी राख्ने स्पष्ट पार्नुभयो।
