गोली लागि घाइते भएका थप एक युवकको निधन
जयकृष्ण यादव । इनरुवा
इनरुवा, साउन १४ गते । गोली लागि घाइते भएका सुनसरीको देवानजगञ्ज गाउँपालिका ३ कप्तानगञ्जका थप एक जना घाईते युवकको निधन भएको छ । जिल्लाको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राती भएको दुई समुदालयको विवाद र त्यसपछि चलाएको गोलीले घाइते भएका देवानगञ्ज गाउँपालिका–३ निवासी २१ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो कार्डियोलोजी अस्पतालमा उपचारका क्रममा दिउँसो १ः२४ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । गोली लागेर गम्भीर घाइते भएका मेहताको उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको स्थानीय पत्रकार जुगेश दासले जानकारी दिनुभयो । यस घटनासँगै गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । यसअघि २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।
