काठमाडौँ, साउन १४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सङ्घीय संसदीय दलका सचेतक एवम् सांसद प्रकाशचन्द्र परियारले नेपालको ऐतिहासिक सामाजिक सद्भाव र सांस्कृतिक सहिष्णुतामाथि कसैले पनि खेलबाड गर्न नहुने बताउनुभएको छ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद परियारले सुनसरीमा घटेको अप्रिय घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभयो। घटनामा ज्यान गुमाउने ओमप्रकाश मेहता र जयप्रकाश मेहताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। साथै शोक सन्तप्त परिवारप्रति सहानुभूति प्रकट गर्दै स्थिति नियन्त्रण र सहजीकरणका लागि सरकारले देखाएको तत्परताप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

नेपालको धार्मिक तथा सांस्कृतिक विविधताको चर्चा गर्दै उहाँले भन्नुभयो, “पशुपतिनाथमा बुद्धको मुकुट पहिराउने, हलेसी त्रिधाममा हिन्दू, बौद्ध र किराँतले एउटै आस्थाका साथ पूजा गर्ने र छठ पर्वमा मुस्लिम समुदायले पनि आस्था राख्ने अनुपम अभ्यास हाम्रै भूमिमा छ। इतिहासमा आजसम्म यहाँ धर्म र संस्कृतिका नाममा कहिल्यै युद्ध भएको छैन र हुन दिइने पनि छैन।”

पछिल्लो समय सुनसरीमा घटेका घटना र सद्भाव भड्काउने गतिविधिप्रति चिन्ता व्यक्त गर्दै उहाँले सदियौँदेखि कायम भाइचारा बिगार्न बाह्य वा भित्री शक्तिहरूबाट हुनसक्ने ‘प्रोजेक्ट डिजाइन’ प्रति उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो।

सचेतक परियारले सुनसरीलगायत देशका विभिन्न भागका नागरिकलाई संयमित रहन र भ्रामक हल्लाको पछि नलाग्न अपिल गर्नुभयो। साथै, सामाजिक सद्भाव बिगार्ने तत्त्वहरूको पहिचान गरी उनीहरूलाई कडा कानुनी दायरामा ल्याएर दोषीलाई कडा कारबाही गर्न सरकारसँग जोडदार माग गर्नुभयो।