जयकृष्ण यादव । इनरुवा
इनरुवा , साउन १६ गते । सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालबाट जारी कर्फ्यू आदेश हटाइ सुनसरीमा निषेध आदेश जारी गरिएको छ । कप्तानगञ्जमा मृतक दुईको अन्तिम संस्कार गरेकोमा अवस्था सामान्य बन्दै गएकोले ६ दिनदेखि प्रमुख जिल्ला अधिकारीबाट अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम १० स्थानीय तहका विभिन्न  स्थानहरुमा कसैले आवतजावत गर्न तथा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएकोमा आज विहान ८:३० बजेदेखि दिउसाे ५ बजेसम्म कर्फ्यू आदेश हटाइ कर्फ्यू निषेधज्ञा आदेश जारी गरिएको हो । प्रजिअ अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम एकै ठाँउमा ५ जना भन्दा बढी मानिस भेला जम्मा हुन नपाउने गरी निषेध आदेश जारी गर्नुभएको छ ।
कर्फ्यू आदेश हटाइ निषेध आदेश जारी गरिएको स्थानमा इटहरी उपमहानगरपालिका (वडा नं. १६ र १७ क्षेत्र अन्तर्गत महेन्द्र राजमार्गको २०० मिटर दाया बाँया क्षेत्र),रामधुनी नगरपालिका (वडा नं. १ र ५ अन्तर्गत महेन्द्र राजमार्गको २०० मिटर दाया बाँया क्षेत्र),इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका,गढी गाउँपालिका, देवानगंज गाउँपालिका,हरिनगर गाउँपालिका, बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा रहेको छ ।

(इश्वरी प्रसाद अर्याल)

प्रमुख जिल्ला अधिकारी