कप्तानगञ्ज घट्नामा घाइते रविन्द्र मेहताको उपचारका क्रममा काठमाडौंमा निधन
इनरुवा , साउन १९ गते । सुनसरीको देवानगञ्ज गाउँपालिका ३ स्थित कप्तानगञ्ज घट्नामा साउन १० गते गोली लागेर गम्भीर घाइते हुनुभएकाे रविन्द्र मेहताको काठमाडौँमा उपचारका क्रममा निधन भएको छ। गाेली घटनापछि गम्भीर घाइते भएका मेहताको प्रारम्भिक उपचार विराटनगरमा गरिएको थियो। तर, विराटनगरमा उपचार सम्भव नभएपछि मेहतालाई थप उपचारका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) रेफर गरिएको थियो। शिक्षण अस्पतालमा उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतलाई उदृत गर्दै देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले जानकारी दिनुभयो । मेहताको निधनको खबरले देवानगञ्ज र कप्तानगञ्ज क्षेत्र शोकमा डूबेको मेहताले बताउनुभयो । स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका स्थानीय विवेक मेहताले जानकारी दिनुभयो । घटनामा मृत्यु हुनेकाे संख्या तीन पुगेको छ ।
