नेपाल प्रहरी साइबर ब्यूरोको तथ्याङ्कअनुसार आ.व ०८२/८३ मा साइबर अपराधसम्बन्धी २० हजार ५ सय २६ वटा उजुरी परेका छन् । आव ०८१/८२ मा १८ हजार ९ सय २६, आ. व ०८०/८१ मा १९ हजार ७ सय ३०, आ.व ०७९/८० मा ९ हजार १३ र आ.व ०७८/७९ मा ४ हजार ६ सय ८६ वटा उजुरी परेको तथ्याङ्क नेपाल प्रहरीले सार्वजनिक गरेको छ । आ. व ०८२/८३ मा डिजिटल हिंसामा पर्ने बालबालिकामध्ये २ सय ७५ बालक र ४ सय ४ बालिका रहेका छन् । नेपाल प्रहरीका अनुसार बालकको तुलनामा बालिका ४६.९ प्रतिशत बढी डिजिटल हिंसाको सिकार भएका छन्।

त्यस्तै सोही आ.वमा ८ हजार ७ सय २६ महिला र १० हजार १ सय ८४ पुरुषले साइबर अपराधसम्बन्धी उजुरी दिएका छन् । आ. व ०८१/८२ मा ७ हजार ९ सय २१ महिला र ९ हजार ७ सय ८७ पुरुषले उजुरी दिएका थिए । साथै, आ. व ०८०/८१ मा ८ हजार ७ सय ४५ महिला र ९ हजार ५ सय ८३ पुरुषले उजुरी दिएका थिए ।

साइबर ब्यूरोको तथ्याङ्कअनुसार सामाजिक सञ्जालको दुरुपयोगसम्बन्धी उजुरीमा बुलिङ तथा हिंसाका घटना उल्लेख्य छन् । फेक आइडी बनाएर हुने हिंसा तथा ठगीका घटना पनि ठूलो सङ्ख्यामा रहेका छन् । साइबर ब्यूरोका अनुसार गत आ.व मा सामाजिक सञ्जालमध्ये फेसबुक तथा म्यासेन्जरबाट ७ हजार २ सय १८, टिकटकबाट ६ हजार ९ सय ४६, ह्वाट्सएपबाट ३ हजार ३ सय ७१ र टेलिग्रामबाट ८ सय ५३ वटा घटना भएका छन् ।

यसै सन्दर्भमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रविधिको आधुनिक प्रयोगसँगै डिजिटल हिंसा तथा साइबर अपराधका घटना बढ्दै गएको बताउनु भयो । उहाँले साइबर अपराध नियन्त्रणका लागि साइबर ब्यूरोमा थप जनशक्ति आवश्यक रहेको बताउनुभयो । प्रदेशस्तरमा ‘स्याटेलाइट युनिट’ विस्तार, साइबर अपराधसम्बन्धी कानुन निर्माण, सामाजिक सञ्जालको नियमन तथा गोपनीयतासम्बन्धी प्रभावकारी कानुनी व्यवस्था आवश्यक रहेको उहाँको भनाइ छ । डिजिटल फरेन्सिकसँग सम्बन्धित चुनौती समाधान गर्न आवश्यक स्रोतसाधन र पूर्वाधार विकासमा समेत ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । विद्युतीय कारोबार ऐन, २०६३ अनुसार विद्युतीय माध्यम वा उपकरणको प्रयोग गरी हिंसा तथा आपत्तिजनक गतिविधि गर्ने कार्यमा २ लाख रुपियाँसम्म जरिवाना र पाँच वर्षसम्म कैद हुने व्यवस्था छ ।