भन्सार छलीका सुर्तीजन्य पदार्थ बरामद
जयकृष्ण यादव । इनरुवा
इनरुवा , भदौ २१ गते । जिल्ला प्रहरी कार्यालय सुनसरीले सीमावर्ती क्षेत्रबाट भन्सार छलीका सुर्तीजन्य पदार्थ बरामद गरेको छ । प्रहरी टोलीले जिल्लाकाे ईनरुवा नगरपालिका वडा नं. ४ बसचोकमा भारतबाट अवैध रुपमा भन्सार छली ल्याएका अन्दाजी समान बरामद गरेको हो । प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी चन्द्र बहादुर खड्काका अनुसार एक लाख दुई हजार बराबरको सुर्तीजन्य पदार्थहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई राखिएको छ।
अबैध युरिया मल बरामद
जयकृष्ण यादव । इनरुवा
इनरुवा , भदौ २१ गते । जिल्ला प्रहरी कार्यालय सुनसरीले भन्सार छलीका युरिया मल र १ मोटरसाईकल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय देवानगंज र अस्थायी प्रहरी चौकी मध्यहर्षाही सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्लाकाे देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीबाट अबैध मल बरामद गरेको हो ।  भारतबाट अवैध रुपमा भन्सार छली ल्याई लुकाई छिपाई राखिएको १२८ बोरा युरिया मल र को. ५ प. ९१२० नम्बरको मोटरसाईकल बरामद गरी आवश्यक कारवाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाईएको छ । मल नेपाली बजारमा एक लाख ६६ हजार ३००।- रुपियाँ  बराबरको रहेको छ ।