उम्मेदबारहरुलाई मनोनय दर्ताका लागि समय तोकियो
जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज २२ गते । सुनसरीमा चारवटै निर्वाचन क्षेत्रमा विभिन्न पार्टीहरुलाई मनोनय दर्तामा सहजर्ता लागि निर्वाचन अधिकृतको कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले समय दिएको छ । सनिबार बसेको जिल्ला स्तरीय सर्वदलीय तथा सर्वपक्षिय बैठकमा सत्ताधारी दलहरु समिलित गठबन्धनलाई आईतबार दिउसो –४ बजेको समय दिएको छ । त्यसैगरी एमाले र जसपा गठबन्धनलाई दिउसो–२ बजे, राप्रपा– ३ बजे,सुनसरीले निर्धारण गरेको मनोनयन दर्ता समय तालिका ः गठबन्धन – ४ बजे, राष्ट्रिय स्वतन्त्र पार्टीलाई विहान–१०ः३० बजे,जनमत पार्टीलाई विहान– ११ बजे, नेपाल लोकतान्त्रिक पार्टीलाई –११ ः २० बजे, नागरिक उन्मुक्ति पार्टीलाई १०ः४०, मंगोल नेशनल पार्टीलाई– ११ः५० बजे, नेपालका लागि नेपाली पार्टीलाई– ११ः३० बजे, जनता प्रगतिशील पार्टीलाई–१२ बजे, नेपाली काग्रेंस विपीलाई–२ः३० बजे समय दिएको छ । स्वतन्त्रहरु एक एक जना आउने भएकाले उम्मेदार मनोनय दर्ताको समय विहान १० देखी साझँ ५ बजेसम्ममा जतिबेला पनि आउन पाउृने भएका छन् । आईतबार असोज २३ गते आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता कार्यक्रम हुँदैछ । सोही सन्दर्भमा सुनसरीका सबै राजनितिक दलहरु र सरोकारबाला बीचमा निर्वाचनको मनोनय दर्ता र अन्य प्रकृयाका बारेमा जानकारी दिन सर्वपक्षिय तथा सर्वदलिय छलफल कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा दिएको जानकारी अनुसार असोज २० गतेमा सबै चार वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।
छलफल कार्यक्रममा सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत रुद्रप्रसाद अर्याल, निर्वाचन क्षेत्र नम्बर २ का अधिकृत एकराज अधिकारी, क्षेत्र नम्बर ३ का अधिकृत उमाकान्त पौडेल र क्षेत्र नम्बर ४ का अधिकृत एवम् मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारी सहित सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रमुप्रसाद ढकाल, सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाई, उपअनुसन्धान अधिकृत कुलचन्द्र नेपाल लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी कार्यक्रममा नेपाली काग्रेंसका जिल्ल सचिब विरेन्द्र कुमार साह, नेकपा एमालेका अध्यक्ष रेवतीरमण भण्डारी, जनता समाजवादी पार्टीका अध्यक्ष भगिरथ खत्वे, नेकपा माओवादी केन्द्रका संयोजक योगेन्द्र मण्डल, नेता निर्मल बराल, राप्रपाका विधान्दन यादव सहित तीस बढी दलहरुका प्रमुख तथा प्रतिनिधिहरु, कार्यालयका सरोकारबालाहरु समेतको उपस्थितीमा छलफल गरिएको मनोनयन पत्र सहितका आवश्यक कागजात वितरण गरेको जिल्ला निर्वाचन कार्यालय सुनसरीका निर्वाचन अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कस्तो छ निर्वाचन कार्यतालिका ?
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मंसिर ४ गतेका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम अनुसार असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, सोही दिनको साझँ ५ बजे कार्यालयमा मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने , असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिनदेखी असोज २५ गते दिउसो ५ बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, असोज २५ गते अपराह्न ५.०० बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गर्ने, असोज २६ गते दिउसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समयदिने, असोज २६ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन साँझ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ । मंसिर ४ गते सबै क्षेत्रमा मतदान हुने कार्यतालिका छ । आयोगले सम्बन्धित मतदान केन्द्रमा विहान ७ बजे देखी साँझ ५ बजे सम्म मतदान गर्ने व्यवस्था मिलाएको छ ।
आयोगका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको उम्मेदवार हुन पाउने छैन । प्रत्येक निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रमा मतदान भएका सबै मतपेटिका मतदान अधिकृतबाट निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भए पश्चात मतगणना कार्य शुरू गरिनेछ ।



निर्वाचनमा उम्मेदबारले के के कागजात पेश गर्नुपर्छ ?
यसैबीच निर्वाचनमा भाग लिने उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा मतदाता नामावली ऐन, २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४, प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४, प्रदेशसभा सदस्य निर्वाचन नियमावली, २०७४, प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ र निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मनोनयन पत्रसाथ विभिन्न कागजात पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीका अनुसार, मनोनयनपत्रका साथ उम्मेदवारको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि, प्रतिनिधिसभाको सदस्य उम्मेदवारको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेशसभा सदस्य उम्मेदवारको हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेस गर्नुपर्नेछ ।
उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहमा तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउनेगरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सासमेत संलग्न हुनुपर्ने उल्लेख गर्नुभयो ।
उम्मेदवार हुने व्यक्तिले आफ्नो तर्फबाट निर्वाचन प्रतिनिधि तोकी उम्मेदवारी मनोनयन गर्ने भएमा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २४ सँग सम्बन्धित अनुसूची–११ बमोजिमका प्रतिनिधि मुकरर गरेको फारम पेस गर्नुपर्ने अधिकारीले जानकारी दिनुभएको छ । प्रचलित कानुनबमोजिम योग्यता पुगेको व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा वा गराउँदा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम र प्रदेशसभा सदस्यको लागि प्रदेशसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको एक जनाले प्रस्ताव र अर्को एक जनाले समर्थन गरेर विवरण भरी सहीछाप गरेको मनोनयनपत्र पेस गर्नुपर्नेछ ।
दलको तर्फबाट उम्मेदवारी दिएको भए उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको पदाधिकारीले प्रदान गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची –७ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र हुनुपर्नेछ । तर एकल चुनाव चिह्न लिई संयुक्तरुपमा निर्वाचनमा सहभागी दलको हकमा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–७ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र पेस गर्नुपर्ने प्रावधान छ ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवारका लागि १० हजार र प्रदेशसभा सदस्य उम्मेदवार हुनका लागि पाँच हजार रुपियाँ सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा धरौटी जम्मा गरेको रसिद वा भौचर, तर महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ ।
आर्थिक रूपले विपन्न भएकाको हकमा सम्बन्धित स्थानीय तहले आर्थिक रूपमा विपन्न भनी सिफारिस गरेको पत्र संलग्न हुनुपर्नेछ । आयोगका अनुसार, उम्मेदवार हुने व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ सँग सम्बन्धित अनुसूची –६ बमोजिमको स्वघोषणापत्र पेस गर्न पर्नेछ ।
उम्मेदवार हुने व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ सँग सम्बन्धित अनुसूची –९ बमोजिमको ढाँचामा आफ्नो चल, अचल सम्पत्ति, बैङ्क तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र, शेयर, ऋणपत्र, कसैलाई ऋण दिएको वा लिएको भए त्यसको समेत सम्पूर्ण विवरण उल्लेखगरी सिलबन्दी रूपमा पेस गरेको सम्पत्ति विवरण हुनुपर्नेछ ।
उहाँका अनुसार, उम्मेदवार हुने व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १० सँग सम्बन्धित अनुसूची –१० बमोजिम आफू प्रचलित नियम कानुन अनुसार उम्मेदवार हुन योग्य भनी भरिएको वैयक्तिक विवरण फारमसमेत संलग्न हुनुपर्नेछ ।
आयोगले उम्मेदवार हुने व्यक्तिले आफू निर्वाचित, मनोनीत वा नियुक्त भएको निकायबाट कुनै पनि प्रकारको पेस्की लिएको भए सो पेस्की फर्छ्यौट भएको बेहोराको निस्सासमेत समावेश गर्न भनेको छ । लेखापरीक्षणबाट कुनै पनि उम्मेदवारको नाममा किटानीसाथ असुलउपर गर्नुपर्ने भनी कायम भएको बेरुजु भए सो बेरुजु फर्छ्योट गरेको निस्सा पनि पेस गर्नुपर्नेछ । निर्वाचन आचारसंहिता, २०७९ को अनुसूची–३ बमोजिमको प्रतिबद्धतापत्र समेत संलग्न गर्नुपर्ने अधिकारीले बताउनुभयो ।
