सुनसरी–३ मा तेस्रो पटक गच्छदार र चौधरी आमनेसामने
इनरुवा, असोज २५ गते । प्रतिस्पर्धामा एक पटक दुई पकट नभई तेस्रो पटक सुनसरी क्षेत्र नम्बर ३ मा दुई नेता बीच प्रतिस्पर्धा हुदैछ । आगामी मंसिर ४ गतेको आम निर्वाचनमा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदार र नेकपा एमालेकी भगवती चौधरीको तेस्रो पटक प्रतिस्पर्धा हुँदैछ ।
गच्छदार सुनसरीबाट प्रतिनिधि सभा, संविधान सभा गरि छ पटक विजयी हुदै सातौ पटक निर्वाचनमा उम्मेदवार बन्नुभएको छ भने चौधरी तेस्रो पटक चुनावी मैदानमा हुनुहुन्छ । गच्छदार प्रजातन्त्र स्थापनापछि ६ पटक निर्वाचित हुदै सांसद भइसक्नुभएको छ भने चौधरी दुई पटक झिनो मतान्तरले गच्छदारसँगै पराजित हुनुभएको थियो ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दुबै जना फेरी पनि एउटै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा उत्रेपछि चुनावी माहोल तंरगित सगैं रोचक बनेको छ । गच्छदार र चौधरीबीच २०७० सालको दोश्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनधिसभा निर्वाचनमा प्रतिस्पर्धा भएको थियो । दुवैमा गच्छदारले जित हासिल गर्नुभएको थियो ।
काग्रेंसका गच्छदारले तत्कालिन मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीबाट दोश्रो संविधानसभा २०७० मा १७ हजार ५ सय २४ मत ल्याएर विजयी हुनुभएको थियो भने एमालेबाट चौधरीले १७ हजार १ सय ६२ मत ल्याएर पराजित हुनुभएको थियो । गच्छदार र चौधरीबीच ३ सय ६२ मतान्तर रहेको थियो ।

त्यस्तै २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा ३८ हजार ९७२ मत ल्याएर विजयी हुनुभएको थियो भने ३ सय २१ मतान्तर अर्थात ३८ हजार ६५१ मत ल्याएर चौधरी पराजित हुनुभएको थियो ।
गच्छदार २०४८ साल ,२०५१ साल, र २०५६ सालको आम निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित हुनुभएको थियो भने २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा मधेशी जनअधिकार फोरम र २०७० सालको संविधान सभाको निर्वाचनका मधेशी अधिकार फोरम(लोकतान्त्रिक) बाट चुनाव लड्दै विजयी हुनुभएको थियो ।
