अचारसंहिता उलंघन गर्ने होडबाजी
मुनफ हसन । कोशी
सुनसरीमा निर्वाचन प्रचार प्रसार र सभाको चरण सुरु भएपछि दल र स्वतन्त्रका उम्मेदबारहरूले रातारात सार्वजनिक स्थानहरूमा तोरण, व्यानर, झण्डा झुण्ड्याएर गाउँशहरको रुवरुप नै बिगारेका छन् । निर्वाचन अचारसंहित विपरितको कार्य गर्ने दल र स्वतन्त्रका उम्मेदबारहरूको बीचमा होडबाजी नै चलेको छ । गाउँ–सहरको स्वरुप नै बिग्रनेगरी फ्लेक्स, पोस्टर, ब्यानर, झण्डाको तोरण टाँगेर निर्वाचन आचार संहिताको व्यापक उल्लङ्घन भएको स्थानीयवासीले बताएका छन् । यहाँ ठूला राजनीतिक दलदेखी साना दलहरु र स्वन्त्रकका समेत उम्मेदबारले निर्वाचन आचार संहिता २०७९ को प्रतिकुल हुने गरि काम गरेका छन् । यहाँ राजनीतिक दल र स्वतन्त्रका उम्मेदबारहरूले सार्वजनिक स्थल, विधुतको पोल, चौतारा, बस पार्क, हाट, बजार र सडकको चौबाटोहरुमा तोरण, व्यानर, झण्डा झुण्ड्याएर रुवरुप नै बिगारेका छन् ।








सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा सरकारको प्रवत्ता एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहनुभएका कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निर्वाचन आचार संहिता २०७९ उलंघन गरेका छन् । कार्कीले कानुन मन्त्री भएर पनि कानुनको सामान्य पालन नगरि सुरक्षाकर्मी र सरकारी गाडी तथा इन्धनको प्रयोग गरेर भोट माग्नुका साथै धार्मिक, साँस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल वा सार्वजनिक संस्थाको भवन लगायतका सार्वजनिक स्थानमा पर्चा टाँस्न र व्यार झुण्डयाउन कार्यकर्ता परिचालन गरेका छन् । जुन कुरा निषेध गरिएको छ सोही काम गरेर कार्कीले निर्वाचन आचार संहिता उलंघन गरेका छन् । कार्की नेपाली काग्रेंसका तर्फबाट सुनसरी निर्वाचन क्षेत्र नं.४ प्रतिनिधि सभा सदस्य उम्मेदबार भएकाले एक महिनायता सुनसरीको गाउँगाउँ र टोलटोलमा केही कार्यकर्ता सहित घुम्दै निर्वाचन आचार संहिता विपरितका गतिविधि समेत गरिरहेका छन् ।
सोही क्षेत्रमा नकेपा एमालेका तर्फबाट उम्ेमदबार रहनुभएका जगदिश प्रसाद कुसियैत सेमतले निर्वाचन आचार संहिता विपरितका कार्य गरेको स्थानीयहरुले गुनासो गरेका छन् । कुसियैतले पनि कोशी र भोक्राहाका ऐतिहासिक स्थल वा सार्वजनिक स्थलको भवन, पर्खाल, सडक, खम्बामा प्रचार प्रसार सामाग्री टाँगेका छन् ।निर्वाचन आचार संहिता २०७९ मा धार्मिक, साँस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचना लगायतका कुनै पनि सार्वजनिक स्थानमा पर्चा टाँस्न वा टाँग्न निषेध गरिएको छ । निर्वाचनमा होमिएका सुनसरीका अधिकाँश दलले निर्वाचन आचार संहिता उल्लङ्घन गर्दै स्वास्थ्य संस्था, अस्पताल, मन्दिर, सरकारी कार्यालय, चोक, पार्क र अधिकाँश बिजुलीको खम्बामा प्रचार प्रसार सामाग्री टाँगेका छन् । निर्वाचनका क्रममा आमसभा गरेको स्थल र समयमा बाहेक अन्य समय र स्थलमा माइक तथा लाउडस्पिकर र ध्वनी उत्पन्न गर्ने यन्त्रको प्रयोग गर्न आचार संहिताले बन्देज लगाएको छ । तर, सुनसरीमा डिजे बाजा, लाउडस्पिकरमा चुनावी गीत, नारा, जिंगल घन्काउँदै गाउँशहर परिक्रमा भइरहेको छ । केही उम्मेदबारले भारतीय नम्बर प्लेटको सवारी साधन समेत प्रयोग गरिरहेको छ । उम्मेदवार र कार्यकर्ताहरू पार्टीको चुनाव चिह्न अंकित स्टिकर, व्याच, लोगो लगाएर आमसभा, जुलुस, घरदैलो, भेटघाटमा सहभागी बनेको देखिएको छ । कर्मचारी, शिक्षक, सञ्चारकर्मीले समेत सामाजिक सञ्जालमा उम्मेदवार र चुनाव चिन्हको प्रचार गर्दै मत मागिरहेका छन् । निर्वाचनमा होमिएका राजनैतिक दलका नेतासँगै मत माग्ने भेलावैठकमा कर्मचारी र शिक्षकहरू पनि संलग्न रहेको पाइएको छ । भोक्राहा नरसिंह गाउँपालिका ५ को आर्दश आधारभुत विद्यालयका शिक्षक देवराम यादव नेकपा एमाले र जसपाको बबिया टोल भेलामा सहभागी भएर भोट मागेको पाइएको छ । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा कात्तिक २१ गतेसम्ममा सात जनासंग स्पष्टीकरण नै मागेको छ । केहीलाई सचेत गराएको छ । भोक्राहा नरसिंह गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हिरा सहाले नेपाली काग्रेंसको उम्मेदबारको मत फेसबुक बाट मागेकाले वाल बाट हटाउन लगाएको मूख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनुभयो । भड्किलो प्रचार शैली नअपनाउन र आचार संहिताको पालना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले बोलाएको सर्वदलीय बैठकमा दलका नेता, उम्मेदवार र प्रतिनिधिले प्रतिबद्धता जनाए पनि चुनावी प्रचारको चरणमा प्रवेश गर्नासाथ उम्मेदवारहरुले आचार संहिताको बेवास्ता गर्न थालेको उम्मेदवारहरु कै भनाई छ । देखासिकीले होडबाजी भएको भन्दै राप्रपा नेपालका क्षेत्र नं. ४ का प्रतिनिध सभा सदस्य उम्मेदबार विधान्दन यादवले निर्वाचन आचार संहिता विपरितका सामाग्री आरम्भमै नियन्त्रण लिनुपर्नेमा जोड दिनुभयो । एक अर्काको देखासिकीले सानादेखि ठूला पार्टीका उम्मेदवारसम्मले प्रचार शैली भड्किलो बनाउँदै लगेकोले अनुगमन र नियमन हुन जरुरी रहेको नेपाली जनता दलका प्रदेश १ संयोजक सिताराम पोदारले माग गर्नुभयो । चुनावी प्रचार–प्रसारका क्रममा निर्वाचन आचार संहिता उल्लङ्घन भइरहेको उजुरी आइरहेको र निगरानी समेत भइरहेको जानकारी दिनुहुँदै सुनसरीका मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले निर्वाचनको निष्ठालाई जोगाएर निर्वाचन आचार संहिताको पालना गर्न सबैसँग आग्रह गर्नुभयो । अधिकारीले उल्लङ्घनको तथ्य फेला परेमा उम्मेदवारलाई आग्रह गर्ने, सावधान र सचेत गराउने तथा कारवाहीका लागि निर्वाचन आयोगमा सिफारिश गर्ने कार्य पनि भइरहेको बताउनुभयो ।
