जयकृष्ण यादव । इनरुवा
इनरुवा, कात्तिक ३० गते । सुनसरीको हरिनगर गाउँपालिका–१ रामनगरभुटाहामा नेकपा एमाले परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई सञ्चार तथा सूचना प्रविधी एवं कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पार्टीमा स्वागत गर्नुभएको छ । बुधबार हरिनगर गाउँपालिका–१ रामनगरभुटाहामा आयोजित चुनावी सभा र घरदैलो कार्यक्रम अन्तरगत नै एमाले नेता शम्भु मलाहा सहित पाँच जना नेपाली काङ्ग्रेसमा प्रवेश गर्नुभएकोले मन्त्री कार्कीले स्वागत गर्नुभएको हो ।
सञ्चार तथा सूचना प्रविधी एवं कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नवप्रवेशीहरुलाई लोकतन्त्र र संविधानको रक्षाका निम्ति काम गर्ने पार्टी काग्रेंसमा प्रवेश गर्नुभएकोमा बधाई सहित स्वागत गर्नुभयो । उहाँले देशको विकास र जनताको भावनाको कदर गर्ने पार्टी काग्रेंस भएकाले निर्वाचन पनि गठबन्धनको बहुमतको सरकार बन्ने समेत दावी गर्नुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेस प्रदेश–१ सदस्य सुशील ठाकुर, नेपाली काङ्ग्रेस हरिनगर–१ का वडा सभापति लतिफ अन्सारी लगायतका नेताहरुले काग्रेंसमा प्रवेशको जनलहर चलेको बताउनुभयो । गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले हरिनगर–१ र २ मा वडा अध्यक्ष सहित प्यानल जितेको ठाउँमा एमालेको कार्यशैली मन नपरेको भन्दै रामनगर भुटाहामा नेपाली काङ्ग्रेसमा प्रवेश गर्नेको लहर चलेको स्थानीय फैजान अंसारीले जानकारी दिनुभएको छ ।
उता सुनसरीको दुहवी नगरपालिका स्थित भलुवामा पूर्व उपप्रधानमन्त्री तथा निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यका नेपाली काग्रेंसका उम्मेदबार विजय कुमार गच्छदारले घरदैलो कार्यक्रम गर्नुभएको छ ।
गच्छदारले आफु संविधानको रक्षा, विकास र लोकतन्त्रको पहरेदारको रुपमा काम गर्ने गरी अन्तिम पटक मतदाताको घरदैलोमा आएको बताउनुभयो । गच्छदार प्रदेश सभा सदस्य उम्मेदवार विन्देशवर यादव सहितको सहभागीतामा घरदैलो कार्यक्रम गर्दै संविधानको पूर्ण कार्यान्वयन र विकासका निमत्ती मत माग्न आएको बताउनुभयो ।
सोही क्षेत्रमा पूर्व राज्य मन्त्री एवम् एमालेका उम्मेदबार भगवती चौधरीले समेत दुहवीमा मतदाताहरुको घरमा घरदैलो गरिरहनुभएको छ । मतदानको मिति नजिकिएसगैं माहोल गाउँटोलदेखी शहरसम्म निर्वाचनमय भएको एमालेका जिल्ला अध्यक्ष एव्म प्रदेश सभा सदस्य सुनसरी २ (क)का उम्मेदबार रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।
१, सुनसरीको हरिनगर १ रामनगरभुटाहामा एमालेबाट काग्रेंसमा प्रवेश गरेकालाई सञ्चार मन्त्री कार्कीले स्वागत गर्नुहुदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा