पुस १७, २०७९कृष्ण खनाल

आफ्नो अवस्थाको सही मूल्याङ्‌कन र उपलब्ध विकल्पहरूको प्रयोग गर्न नसक्ने नालायक नेतृत्वको नमुना भएका छन् देउवा । नेतृत्वको सफलता पदको शिरमा पुग्नु मात्र होइन, ऊ कसरी बाहिरिन्छ भन्नेमा पनि निर्भर हुन्छ ।

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर क्याम्पसको हाताभित्र पुरानो बसस्टपको टहरोमा एउटा चियापसल छ । कुनै साइनबोर्ड छैन, बोलीचालीमा ‘विष्टको चियापसल’ । टहरोको कुनामा एउटा सटर छ । चिया–बिस्कुट, चुरोट–सुर्ती, तयारी चाउचाउ हुन् त्यहाँ पाइने ।

पसलका मालिक त्यहीँ भाजँगालका नानीकाजी विष्ट त्रिवि कीर्तिपुरमा हुने विद्यार्थी राजनीति लगायत गतिविधिका एक जीवन्त साक्षी पनि हुन् । उनी फुर्तीसाथ दाबी गर्छन्, ‘शेरबहादुर देउवा मेरा साथी हुन् । देउवाकी जस्तै मेरी श्रीमती पनि राणाकी छोरी हुन् । मेरै पसलमा दस पैसा कप चिया खाएका देउवा त प्रधानमन्त्री नै भए, मन्त्री त कति भए कति !’ उनी थप्छन्, ‘देउवा राजनीति गरेर चिनिए, मलाई पनि संसारले चिन्छ । विश्वविद्यालयको यो कुनामा बस्दाबस्दै म पनि विश्वको भइसकें, देश–विदेशका मानिसले मेरो अन्तर्वार्ता लिएका छन्, फोटा पनि छापिएका छन् ।’ ७४ वर्षका यी विष्ट र ७८ वर्षका देउवाको प्रसङ्ग जोडेर आज यो स्तम्भमा केही विमर्श गर्नु सान्दर्भिक होला भन्ने लागेको छ ।

राजा त्रिभुवनको निधनपछि उनको सम्झनामा मुलुककै पहिलो विश्वविद्यालयका रूपमा त्रिवि स्थापना भयो । पूर्वाधार केही थिएन । केही कलेज थिए, भारतको पटना विश्वविद्यालयसँग सम्बन्धनप्राप्त । पाठ्यक्रम, परीक्षा, प्रमाणपत्र सबै उसकै नाममा हुन्थे । नयाँ विश्वविद्यालयका लागि जमिनको व्यवस्था लगायत कानुनी तथा नीतिगत निर्णय एवं भौतिक पूर्वाधार निर्माण गर्नका लागि स्रोतसाधन र समय लाग्ने नै भयो । तथापि २०१६ सालदेखि त्रिपुरेश्वरस्थित सरकारी गेस्टहाउस — जहाँ अहिले ठूलो व्यापारिक कम्प्लेक्स (युनाइटेड वर्ल्ड ट्रेड सेन्टर) छ — मा अर्थशास्त्र, राजनीतिशास्त्र, इतिहास, संस्कृति, नेपाली लगायतका मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गतका विषयहरूमा स्नातकोत्तर तहको पढाइसँगै त्रिविको विधिवत् प्रारम्भ भयो । स्नातकोत्तर तहको पढाइका लागि आफ्नै सञ्चालनको त्रिवि कलेज भयो भने अन्य कलेज त्रिविको सम्बन्धनप्राप्त (एफिलिएटेड) कलेज भए । २०३० सालमा नयाँ शिक्षा योजना लागू भएपछि यी सबै कलेज एकल विश्वविद्यालयको अवधारणा अनुसार त्रिविका आङ्गिक क्याम्पस भए । एउटा आङ्गिक कलेज र केही सरकारी तथा पब्लिकसहित करिब डेढ दर्जन सम्बन्धनप्राप्त कलेजबाट सुरु भएको त्रिविमा अहिले ६० आङ्गिक र ४ सयभन्दा बढी सम्बन्धनप्राप्त क्याम्पस छन् । सरकारपछि मुलुककै दोस्रो ठूलो संस्थाका रूपमा त्रिविलाई लिन सकिन्छ ।

कीर्तिपुर डाँडामुनि उत्तरतिर ट्याङ्लाफाँटमा रहेको त्रिविको वातावरण कम प्रदूषित, खुला र प्रकृतिमय छ । बिहान हिँड्नेहरूको लर्को लाग्छ । मानविकी, विज्ञान, व्यवस्थापन र शिक्षा संकाय अन्तर्गतका स्नातकोत्तर तहका केन्द्रीय विभाग, अनुसन्धान केन्द्र, केन्द्रीय पुस्तकालयहरू रहेको त्रिवि परिसर निकै विस्तारित र शान्त पनि छ । कानुन, चिकित्साशास्त्र, इन्जिनियरिङ, कृषि र वन सम्बन्धी पढाइ कीर्तिपुरबाहिर हुन्छन् । नयाँ विश्वविद्यालयहरू पनि खुलेका छन्, त्रिविकै स्नातकोत्तर तहका पढाइ अरू क्याम्पसमा पनि हुन्छन् । अहिले मानविकी संकायतर्फ नयाँ र पुराना भवनका बीचमा सुन्दर वाटिका बनेको छ । विज्ञान संकायतर्फ हरियालीपूर्ण वातावरण छ, काटेका ठुटा रूखहरूको जीर्णताले भने मनमा विषाद ल्याउँछ । यस्तै, वीरेन्द्रको राज्याभिषेकको अवसर पारेर बनाइएको सानो जंगलजस्तै उद्यान पनि हेरविचार नभएको झाडीमा परिणत भइरहेको छ ।

करिब ३ हजार रोपनीमा फैलिएको विश्वविद्यालयको जमिन पनि देशको राजनीतिजस्तै अव्यवस्थाको उदाहरण बनेको छ । चारैतिरबाट संक्रमण भइरहेको छ । केही ठाउँमा साठी वर्षअघि हजुरबाको पालामा अधिकरण भएर मुआब्जा लिइसकेको जग्गामा नाति पुस्ताका स्थानीय किसानहरू अहिले पनि खेती गर्दै छन् । उनीहरूलाई लाग्दो हो, अनावश्यक रूपमा विश्वविद्यालयले उनीहरूको जग्गा कब्जा गरेर राखेको छ । यसले गर्दा स्थानीय व्यक्ति र त्रिविबीच मनोवैज्ञानिक द्वन्द्व कायमै छ । गैरप्राज्ञिक प्रयोजनका लागि जग्गा दिने प्रवृत्ति पनि बढ्दो छ । प्राज्ञिक प्रयोजनकै लागि पनि कुनै योजनाबिना खुद्रे बजेटमा टहरा र कोठा थप्ने काम जारी छ । बनेका केही भवन पनि हचुवा र अस्थायी प्रयोगमा सीमित छन् । उदाहरणका लागि, भारतले बनाइदिएको चर्खा आकारको गान्धी भवन प्रयोजनविहीन छ, न त्यहाँ गान्धीसँग जोडिएका कुनै गतिविधि नै हुन्छ । बरु खाँचो पर्दा त्यहाँ सिनास, व्यवस्थापन र अहिले पुस्तकालय विज्ञानको कक्षा लगायतका विभिन्न प्रयोजनका अस्थायी मुकाम रहे । यहाँको स्थिति देख्दा लाग्छ, माल भएर पनि चाल नपाएको भनेजस्तै त्रिविसँग आफ्नो जमिन उचित व्यवस्थापन गर्ने न सोच भयो, न प्राथमिकतामै पर्‍यो । यसको उपयोगको राम्रो योजना बन्न सके र उचित प्रबन्ध गर्ने हो भने त्रिविको भौतिक विस्तारका लागि जमिनको चिन्ता गर्नुपर्दैन । यसलाई अझ सुन्दर र रमणीय स्थल बनाउन सकिन्छ ।

स्थानीय व्यक्ति भएकाले कीर्तिपुरमा विश्वविद्यालय खुलेदेखि त्यहाँ मेरो पनि ध्यान तान्ने नै भयो । दुई कक्षामा पढ्दै थिएँ, राजा आउँदै छन् भनेर स्कुलबाटै हो वा साथीहरूसँग पहिलोचोटि त्यहाँ पुगेको सम्झना अहिले पनि ताजै छ । एकै पटक धेरै मोटर देखेको त्यसै बेला हो । निकै ठूलो भीडभाड थियो, अगाडि तुन्द्रुंग धागोको फुर्का झुन्डिएको तीन–चारकुने कालो टोपी र घुँडासम्म आइपुग्ने, छोटा बाहुला भएको कालै कोटजस्तो लुगा (दीक्षान्त पोसाक) लगाएका मानिस पनि देखिन्थे । अलिपर एउटा मण्डपजस्तो ठाउँमा राजा छन् भन्थे । ‘मैले त देखें, ऊ त्यही हो राजा’ भनेर सँगै गएका साथीहरू फुर्तीसाथ भन्दै पनि थिए । बुझ्ने भएपछि थाहा भयो— त्यो त्रिविको पहिलो दीक्षान्त समारोह रहेछ । यो २०१७ सालतिरको कुरा हो ।

२०२६ सालमा एसएलसी गरेपछि सहायकस्तरको कर्मचारीका रूपमा त्रिविमा मेरो जागिर भयो, प्राध्यापकसम्म भएर अहिले सेवानिवृत्त भएको छु । नजिकैको बसाइ भएकाले मेरो बिहानीको घुमफिर पनि विश्वविद्यालयभित्रै हुन्छ । बेलाबखत नानीकाजी विष्टसँग पनि भेट हुन्छ, पुराना कुरा सम्झिँदै हामी आनन्द मानेर हाँस्छौं । म उनलाई जिस्क्याउँछु, ‘देउवाले राजनीति नछोडेजस्तै तिमीले पनि यो पसल कहिल्यै नछोड्ने भयौ ।’ उनी भन्छन्, ‘के गर्ने त, कोरोना र डेङ्गुले पनि लगेन ! सानैदेखि जानेको व्यवसाय यही हो ।’ अहिले उनलाई छोरीले सघाउन थालेकी छन् । बिहान एघार बजेसम्म उनी बस्छन्, त्यसपछि छोरीले पालो दिन्छिन् । सानै भए पनि यो त उनको निजी व्यवसाय हो । आखिर देउवा पनि त राजनीतिमा हात लागेको सार्वजनिक जिम्मेवारीको पद छोराको उत्तराधिकारित्व सुरक्षित नभएसम्म सबै कुरा गुमाए पनि छोड्ने मुडमा छैनन् । पत्नी आरजुले बीचको ‘ट्रान्जिसन’ सघाउँछिन् कि भन्ने आशा थियो, अब त त्यो पनि सकियो । संसद्मा ठूलो पार्टी बनाएँ भनेर हौसिएका देउवाले प्रधानमन्त्री पद छोड्न नचाहँदा फेरि कांग्रेसलाई हात लाग्यो शून्यको स्थितिमा पुर्‍याएका छन् ।

२०२३/२४ सालदेखि कीर्तिपुरमा क्रमशः कक्षाहरू सञ्चालन हुन थाले । कुनै बेला राजनीतिको केन्द्र मानिने त्रिवि अहिले शान्त छ, पदाधिकारीका कार्यकक्षमा बारम्बार हुने तालाबन्दीबाहेक पढाइ प्रभावित हुने बन्द–हडताल छैन । डेढ दशकदेखि विद्यार्थी युनियनको पनि चुनाव भएको छैन । पञ्चायतकालमा कांग्रेस, कम्युनिस्ट पार्टीहरूको उपस्थिति विद्यार्थी राजनीतिका रूपमा हुन्थ्यो । यी पार्टीका सांसद, मन्त्री र नेतृत्व पंक्तिको ठूलो हिस्सा विद्यार्थी राजनीतिबाटै आएको हो । देउवा त प्रधानमन्त्री र कांग्रेस सभापति नै भए । दलहरू नै राजनीतिको मूल बाटामा भएपछि प्रोक्सी बाटो किन चाहियो र ? पार्टी नेतृत्वको गुटगत समूहमा विभाजित विद्यार्थी संगठनका लागि स्ववियुको उपयोगिता पनि सकिएको छ । प्राज्ञिकजस्तै राजनीतिक गतिविधिमा पनि मन्दी आएको छ । यहाँ मेरो भनाइ पहिलेजस्तै विद्यार्थी राजनीति हुनुपर्‍यो भन्ने होइन, परिवर्तित राजनीतिक सन्दर्भमा स्ववियुले पार्टी र गुटगत राजनीतिको शक्ति प्रदर्शन गर्ने थलोभन्दा पृथक् प्राज्ञिक तथा शैक्षिक मञ्चको भूमिका खेलोस् भन्ने हो ।

जुन बेला देउवा त्रिचन्द्र कलेजको विद्यार्थी राजनीतिमा देखिन थालेका थिए, नानीकाजी विष्ट त्रिवि कीर्तिपुरमा चियापसल सुरु गर्दै थिए । २०२६/२७ मा देउवा कीर्तिपुर आइपुगे, राजनीतिशास्त्रमा स्नातकोत्तर तहमा भर्ना भए । विद्यार्थी युनियनको चुनावमा उनी प्रजातन्त्रवादी समूहबाट सभापतिको उम्मेदवार भए । तर उनी र उनको टिम पराजित भयो । त्यही बेला कांग्रेसनिकट प्रजातन्त्रवादी विद्यार्थीहरू नेवि संघको स्थापनाका लागि संघर्ष गर्दै थिए । पञ्चायती दमन र धरपकड व्यापक थियो । त्यसको सामना गर्दै र छल्दै २०२७ सालमा नेवि संघको स्थापना भयो । कम्युनिस्ट समर्थक अनेरास्ववियु त्योभन्दा डेढ वर्षअघि नै स्थापना भइसकेको थियो । केही ढिलो गरी स्थापना भएको नेवि संघलाई सरकारले पञ्चायत व्यवस्थाविरोधी भनेर प्रतिबन्ध लगायो । विद्यार्थीहरूले मुद्दा हाले, सर्वोच्च अदालतले सरकारको निर्णय कानुनविपरीत भएकाले अवैध भनेर फैसला गर्‍यो । २०२८ सालमा चितवनमा भएको नेवि संघको दोस्रो अधिवेशनमा देउवा सभापति चुनिए । उनी सभापति भएपछि नेवि संघको अधिवेशन नै भएन । २०३६ सालमा जनमतसंग्रहको घोषणा भएपछि मात्र फागुनमा जनकपुरमा तेस्रो अधिवेशन भयो र नयाँ सभापति विमलेन्द्र निधिलाई नेतृत्वको जिम्मेवारी बुझाएर देउवा कांग्रेस केन्द्रीय नेतृत्वको बाटोतिर लागे ।

चाहे नेवि संघ होस् वा पार्टी राजनीति, चुनौती र प्रतिस्पर्धाको खासै सामना नगरी नेतृत्वको शिखरमा पुग्ने भाग्यमानी नेता हुन् देउवा । २०४८ सालदेखि निरन्तर संसद्मा चुनिने उनी एक मात्र भाग्यशाली सांसद हुन्, तर मन्त्री, प्रधानमन्त्री हुनुबाहेक सांसदका रुपमा उनको कुनै उल्लेख्य भूमिका देख्न सकिन्न । पाँच पटक त प्रधानमन्त्री नै भए । तर विडम्बना के छ भने, पाँचै पटक प्रधानमन्त्रीको पदबाट बाहिरिँदा उनले आफ्नो उत्तराधिकारीका रूपमा कांग्रेसकै अर्को कुनै नेतालाई जिम्मेवारी बुझाउन पाएको इतिहास छैन । यस पटक त अब प्रधानमन्त्रीको कुर्सी र बालुवाटारको बसाइ छोड्नैपर्दैनजस्तो गरी गजधम्म बसेका उनलाई हेर्दाहेर्दै प्रचण्डले मूर्ख बनाए । आफ्नो अवस्थाको सही मूल्याङ्कन र उपलब्ध विकल्पहरूको प्रयोग गर्न नसक्ने नालायक नेतृत्वको नमुना भएका छन् देउवा । नेतृत्वको सफलता पदको शिरमा पुग्नु मात्र होइन, ऊ कसरी बाहिरिन्छ भन्नेमा पनि निर्भर हुन्छ । प्रधानमन्त्रीबाट बाहिरिँदा देउवाले खराब उदाहरण मात्र राखेका छन् । नेपालको राजनीति न हो, के बेर र छैटौं पटक प्रधानमन्त्री !

यहाँ मैले उठाउन खोजेको देउवा र विष्टको निजी कथा होइन, नेपाली राजनीति र साधारण जनताको दूरी कति छ भन्ने हो । देउवा समाजवादी टोपी लगाएको कांग्रेसमा नेतृत्व पंक्तिको प्रतिनिधि पात्र हुन् । विष्टको चियापसल सर्वसाधारण गाउँले नेपालीको दैनिकीको विम्ब हो । रातसाँझ नभनी दुःखसाथ गरेको सानो कमाइबाट भए पनि विष्टले आफ्ना छोराछोरीलाई पढाए र उनीहरूले दीक्षान्तको टोपी पनि लगाए । तर पचास वर्षअघिको उनको पसल र आज स्थितिमा कुनै अन्तर देखिन्न । यसबीचमा मुलुकमा धेरै ठूला राजनीतिक परिवर्तनहरू भए, २०१७ सालमा खोसिएको प्रजातन्त्र पुनःस्थापित भयो । २०६२/६३ मा अझ ठूलो आन्दोलन भयोÙ राजतन्त्र फालियो, गणतन्त्र आयो । तर जनताको अवस्थामा रूपान्तरण हुन सकेन । राजनीति गर्ने नेताहरूको जीवनशैली र स्तर बदलियो, अलि राम्रो व्यवसाय गर्ने नागरिकहरूको अवस्थामा पनि केही परिवर्तन भयो होला, तर आम जनताको अवस्थामा तात्त्विक परिवर्तन आउन सकेको छैन । वृद्ध, अपांग या यस्तै अन्य भत्ता बाँड्दैमा जनताको स्तर वृद्धि र आर्थिक–सामाजिक रूपान्तरण हुने होइन ।

देउवाको मात्र पनि कुरा होइन, यही कीर्तिपुरको स्ववियुको नेतृत्व गरेर कांग्रेस र एमाले शासनकालमा मन्त्री भएकाहरूको धेरै लामो सूची बन्छ । यहीँ प्राध्यापन गरेकाहरू पनि मन्त्री भए । तर कसैको ध्यान मुलुकको शिक्षा सुधार्नपट्टि गएको छैन, तिनले विश्वविद्यालयको अवस्था केकस्तो छ भनेर चासोसम्म राखेको पाइन्न । सुक्खा लागेको विश्वविद्यालयबाट ज्ञानको सिञ्चन कसरी अपेक्षा गर्ने ? न ती कसैले हिजो आफूले यातना भोगेको प्रहरी खोर, जेलको अवस्था के छ भनेर सोधखोज नै गर्छन् । राजनीति भनेको सत्ता–चटकमा बाजी मार्नु र मोजमस्ती गर्नुभन्दा बढी केही छ भनेर विश्वास गर्ने ठाउँ नै रहेन । विश्वविद्यालयमा पनि सबैको ध्यान आफ्ना मान्छेलाई पद बाँड्ने र जागिर खुवाउनेमा मात्र केन्द्रित भयो । केही भवन थपिए, थपिने क्रम जारी छ । तर यसको हालत पनि विष्टको चियापसलभन्दा माथि उठ्न सकेको छैन । अरू धेरै के भन्नु, परिचित कोही विदेशी प्राध्यापक, अध्येता नेपाल आएका बखत ‘म तिमीलाई विश्वविद्यालयमै भेट्न आउँछु’ भन्दा लज्जित हुनुपर्ने अवस्था छ । खाना (लन्च) खाऔं भन्ने कुरै छाडौं, सँगै चियाकफी खाऔं भन्न पनि विष्टको भन्दा गतिलो अर्को चियापसल छैन ।

प्रकाशित : पुस १७, २०७९ ०८:३कान्तिपुरबाट