इनरुवा, फागुन २० गते । सुनसरीको कोशी गाउँपालिकामा नमुना संसद अभ्यास गर्ने क्रममा भएको निर्वाचनबाट नमुना गाउँपालिका अध्यक्षमा सुरज कुमार पोदार निर्वाचित हुनुभएको छ ।

भविष्यमा युवाहरुले गाउँपालिकामा असल नेतृत्व गर्ने उद्देश्यका साथ कोशी गाउँपालिकामा जारी चार दिने नमुना संसद अभ्यास कार्यक्रममा भएको निर्वाचनमा चार जना अध्यक्षको उम्मेदबार रहनुभएकोमा पोदार निर्वाचित हुनुभएको हो ।

पालिकाभरीका प्रत्येक वडाका तीन जनाका दरले २४ जना मध्ये १८ जनाले मतदानमा सहभागिता जनाउनुभएको थियो । युवाहरुले शुक्रबारदेखी गाउँपालिकाको सभा हलमा गाउँ सभा र युवा संसदको अभ्यास सुरु गरेकोमा सनिबार पालिकास्तरीय निर्वाचनकोे अभ्यास गरेका हुन् ।

अभ्यासका क्रममा मतदाता नामावली प्रकाशन, उम्मेदबारको मनोनय दर्ता, दावी विरोध र मनोनय फिर्ता लगायतका प्रकृया पुरा गरि सम्पन्न मतदानमा युवाहरुले उत्साहजनक सहभागिता जनाउदै अध्यक्षमा पोदार र उपाध्यक्षमा बन्दना कुमारी मण्डल र वडा अध्यक्षहरु सुरज शर्मा, सम्झना यादव तथा लेखा समिति संयोजकमा महेन्द्र कामैत चयन हुनुभएको छ ।


अभ्यासमा समसामयिक राजनैतिक घटनाक्रम, विकास निर्माण, रोजगारी, युवा नीति निर्माण, सामाजिक विकृति र विंसंगति, लागूपदार्थ दुव्र्यसनी, युवा सीप रोजगार, युवामा सूचना प्रविधिको पहुँच, युवा क्लबको क्षमता विकास, छुवाछूत तथा लैंङ्गिक विभेद, दाइजोप्रथा, विद्यार्थीको सेवा सुविधा, युवा स्वरोजगार कार्यक्रम,साइवर क्राइम र यसको नियन्त्रण, प्रजनन स्वास्थ्य लगायतका क्षेत्रमा सरकारको कामका बारेमा प्रशिक्षण दिईरहेको छ ।
भविष्यमा युवाहरुले नै नेतृत्व गर्ने भएकोले त्यो क्षमताको जग निर्माण गर्न पनि अभ्यास आवस्यक रहेको कोशी गाउँपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत सुरप्रसाद दंगालले बताउनुभयो ।


गाउँपालिका भित्रका १६ वर्ष देखि २४ वर्ष उमेरका युवाहरुले गाउँपालिकादेखी देश चलाउने संसद अभ्यास गर्ने भएका छन् ।