काठमाडौँ, वैशाख २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको मूल मर्म, भावना र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उद्देश्यअनुरूप नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना गर्नुपर्ने बताउनुभएको छ। 

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्नका लागि आवश्यक कानुन र संरचना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले संवैधानिक दृष्टिले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गरिएको स्मरण गर्दै यसलाई कार्यान्वयनमा ल्याउन सरकारले सञ्चार क्षेत्रको संरक्षण, संवद्र्धन एवं विकासका निम्ति यसको पुनर्संरचना, नीतिगत र कानुनी सुधारका क्षेत्रमा जोड दिएको बताउनुभएको छ। उहाँले सञ्चार क्षेत्रले पनि आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न आग्रह गर्नुभएको छ। 

प्रधानमन्त्री प्रचण्डले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, पत्रकारको दक्षता अभिवृद्धिका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना, सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापना, सञ्चारमाध्यमको नियमनका लागि आमसञ्चार प्राधिकरण जस्ता निकायको स्थापना गर्न पहल भइरहेको बताउनुभएको छ। 

उहाँले भन्नुभयो, “प्रेस काउन्सिलको पुनर्संरचना, सञ्चारमाध्यमलाई सञ्चार सेवा उद्योगको मान्यता, विज्ञापन बोर्डमार्फत सरकारी विज्ञापनको समानुपातिक वितरण, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बिमा, ज्येष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था एवं एकीकृत आमसञ्चार विकास कोषको स्थापनाका लागि सरकारका तर्फबाट पहल भइरहेको जानकारी गराउँदछु।”

उहाँले प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा होइन, यो समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय हो र लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र प्रेसको महत्व सरकारले बुझेको बताउनुभएको छ।