नेपाल सरकारले पुर्व जापानी प्रधानमन्त्री आबेको निधनमा शोक मनाउने


नेपाल सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले मित्र राष्ट्र जापानका पुर्व प्रधानमन्त्री आबे हत्याको घोर भत्सर्ना गर्दै उनको निधनप्रति आज शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।
नेपाल सरकारले आबेको हत्या अत्यन्तै निन्दनीय भएको भन्दै घोर भर्त्सना गरेको छ। आबेको हिजो शुक्रबार जापानको नारा शहरमा चुनाबी भाषण गर्दै गर्दा गोली प्रहार गरी हत्या गरिएको थियो ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले आबेको निधनप्रति गहिरो शोक जनाएका छन् ।
प्रधानमन्त्री देउवाले ट्विट गर्दै ‘पूर्वप्रधानमन्त्री आबेको निधनको खबर सुनेर गहिरो दुःख लागेको छ । मेरो हार्दिक श्रद्धाञ्जली,’ देउवले ट्वीटमा लेखेका छन्, ‘उहाँ विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनुहुन्थ्यो । यस दु:खद घडीमा जापानका जनता र शोक सन्तप्त परिवारजनसँग हाम्रो विचार र प्रार्थना छ ।’
सरकारले आबेको निधनप्रति गहिरो दुःख प्रकटसमेत गरेको छ। आबेलाई गोली प्रहार गरी गरेको हत्या निन्दनीय भएको भन्दै नेपाल सरकारले जापान सरकार, जापानी जनता र आबेको परिवारप्रति समवेदना व्यक्त गरेको छ।
गोली प्रहार गरे लगत्तै जापान प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोली प्रहार गर्ने ४१ वर्षीय पुरुषलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको बीबीसीले उल्लेख गरेको छ ।
