धान पकेट कार्यक्रमबाट ५० किसानलाई प्रत्यक्ष लाभ
जयकृष्ण यादव । इनरुवा
इनरुवा, असार १४ गते । सुनसरीको हरिनगर गाउँपालिका ४ र ५ दुई वडामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई हरिनागराको धान पकेट कार्यक्रमबाट ५० जना किसानलाई प्रत्यक्ष लाभ मिलेको छ । धान पकेट सम्बन्धी अभिमुखिकरण गोष्ठी र उपकरण समेत वितरण गर्दा सो संख्यामा किसानले लाभ पाएको हो । धान पकेट कार्यक्रम २०७९।०८० को हरिनगर गाउँपालिका कृषि विकास शाखाको आर्थिक सहयोगमा हरिनगर ४ मा माँ लक्ष्मी कृषक समूह र हरिनगर ५ मा भगवती कृषक समूहको आयोजनामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन एकाईले अभिमुखिकरण गोष्ठी सहित कृषि औजार र उपकरण वितरण गरेको हो । कार्यक्रममा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारी, उपाध्यक्ष रिमझिम कुमारी भगत, हरिनगर गाउँपालिका ४ नम्बर वडा अध्यक्ष देवनारायण मेहता, ५ का वडा अध्यक्ष सिकमलाल यादव, वडा सदस्यहरु तथा वडाका राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यसैबीचमा हरिनगर गाउँपालिकाका किसानहरुलाई धान खेती सहित कृषिमा यान्त्रिकिकरण गर्नका लागि विभिन्न कृषि उपकरण हस्तान्तरण गरेको छ । गाउँपालिका कृषि शाखा प्रमुख लक्ष्मी प्रसाद मेहताले दिनुभएको जानकारी अनुसार धान पकेट कार्यक्रममा आवद्ध भएका २५ जना किसानलाई एक साथ विभिन्न कृषि उपकरण हस्तान्तरण गरेको छ ।
धान पकेट सञ्चालक समितिमा आवद्ध भएका किसान मध्ये सात जनालाई बोरिगं गडाई सहित पम्प सेट, २४ जनालाई कोदालो, ६ जना किसानलाई मोटर , २० जनालाई पावर स्पेयर, दुई जनालाई ड्रम सिट प्याड, एक हजार ५० केजी धानको विउँ, ३०० केजी जिंक, ५०० केजी कृषि चुन र डिलेभरी पाईप ६० केजी वितरण गरेको छ ।
उता हरिनगर ५ का सात जनालाई बोरिगं गडाई सहित पम्प सेट, ६ जना किसानलाई मोटर , १४ जनालाई पावर स्पेयर , ६ जना डिजिटल काटा , दुई जनालाई ड्रम सिट प्याड, एक जनालाई ब्रस कटर , आठ जनालाई अनाज सुकाउने त्रिपाल, एक हजार ५० केजी धानको विउँ, ३०० केजी जिंक, किटनाशक ८ लिटर, ५०० केजी कृषि चुन वितरण र कोदालो वितरण समेत गरेको छ । सामूहिक धान खेती प्रवर्धन गर्ने गरि स्थानीय सरकारको ५० प्रतिशत अनुदानमा कृषि औजार दिएको छ । दुवै धान पकेटमा गरि ४० हेक्टर अर्थात ६० विघा धान खेती रहने जनाएको छ ।
१, सुनसरीको हरिनगर गाउँपालिका ४ मा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई हरिनागराको धान पकेट कार्यक्रमका किसानलाई उपकरण वितरण गर्दै ।
तस्विर ः जयकृष्ण यादव ।