जयकृष्ण यादव । इनरुवा
इनरुवा, साउन ६ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बीपी कोइराला ४१ औँ स्मृति दिवसको अवसरमा सनिबार सुनसरीको इनरुवा नगरपालिका ९ बबियामा महामानव बीपी कोइरालाको पूर्णकदको सालिक अनावरण गर्नुभएको छ । एक कार्यक्रमका बीच सभापती देउवाले सालिक अनावरण गर्नुहुदै जननायक विश्वेश्वरप्रसाद कोइरालाले गर्नुभएको योगदानको चर्चा गर्नुभयो । विभिन्न राजनीतिक उतार–चढावहरू भोग्नुभएका कोईरालाले देश र जनताका लागि गर्नुभएको योगादन सदैव स्मरणिय रहेने बताउनुभयो । देउवाले कोईरालाको राजनीतिक र साहित्य क्षेत्रमा गर्नुभएको अमिट छाप नेपाली माझ रहिरहने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “भारतमा रहेको ब्रिटिस साम्राज्यवादका विरुद्ध पनि लड्नुभएका कोईराला अनेक जेल–यातना सहनुभएको थियो । लामो अनुभव बटुलेका भारतीय नेताहरूसँग बीपी कोइरालाको सुमधुर सम्बन्ध थियो किनभने अङ्ग्रेजहरूका विरुद्ध सङ्घर्ष गर्नेमध्ये उहाँ पनि एक हुनुहुन्थ्यो ।”
देउवाले सुनसरी कांग्रेसले ग्रामिण र शहरी क्षेत्रको मध्य भागमा जनताको नेताको रुपमा स्मरण गराउन वीपी चौक नामाकरण गरेकोमा धन्यवाद दिनुभयो ।
उता सभापति देउवा अहिले कांग्रेस सुनसरीको जिल्ला सम्मेलनमा सहभागिता जनाउनुभएको छ । जिल्ला सम्मेलनमा केन्द्रीय सदस्यहरू, कोशी प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी तथा सदस्यहरू प्रतिनिधि सभा निर्वाचन क्षेत्रका पदाधिकारी तथा सदस्यहरू, प्रदेश निर्वाचन क्षेत्रका पदाधिकारी तथा सदस्यहरू, पालिकाका पदाधिकारीहरू तथा सदस्यहरू, वडाका पदाधिकारी तथा सदस्य, टोल समितिका पदाधिकारी तथा सदस्य लगायतको उपस्थिति रहेको पार्टीका जिल्ला सचिव वीरेन्द्र शाहले जानकारी दिनुभयो ।
जिल्ला सम्मेलन जिल्ला सभापति केदार भण्डारीको अध्यक्षता र देउवाको प्रमुख आथित्यतामा जारी रहेको शाहले जानकारी दिनुभयो ।


१, वि.पी.स्मृति दिवस अवसरमा जिल्लाको इनरुवा नगरपालिका ९ बबियामा महामानव बीपी कोइरालाको पूर्णकदको सालिक अनावरण गर्नुहुदै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा