दिगो शान्ती र स्थायित्वका लागि एकजुट हुनुपर्ने ः देउवा
जयकृष्ण यादव । इनरुवा
इनरुवा, साउन ६ गते । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशमा अझैपनि दिगो शान्ती र स्थायित्वका लागि पार्टीभित्र एक ढिक्का हुनुपर्ने र लोकतन्त्रपक्षधर दलहरु एकजुट हुनुपर्ने आवश्यक रहेको बताउनुभएको छ । देउवाले सुनसरीको इनरुवामा सनिबार ४१ औं वीपी स्मृति दिवश तथा नेपाली काँग्रेस सुनसरीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहुदै विगतमा दुई तिहाइ बहुमतको दम्भले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संविधान र प्रजातन्त्रलाई धरापमा पार्न उद्धत रहेको घटना र अहिले स्थिर सरकार रहन नदिने चलखेलका कारणले दलहरु एकजुट हुनुपर्ने आवश्यक रहेको बताउनुभएको हो ।
काँग्रेसको जिल्ला सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहनुभएका देवाले उनले गुट उपगुटको राजनीति त्यागेर समष्टिगत रुपमा देश र जनताप्रति उत्तरदायी हुँदै एकढिक्काको साथ अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “पार्टीभित्रको झिनामसिना विवादहरु आन्तरिक रुपमा मिलाउदै लोकतन्त्रको रक्षा, दिगोशान्ती र स्थायित्वको पक्षमा लाग्नुपर्ने बेला आएको छ ।”



सभापति देउवाले प्रजातान्त्रिक चरित्र र संस्कारलाई दिगो व्यवस्थापन गर्न काँग्रेसको नेतृत्व परिवर्तन हैन कार्यकर्ताबीच जनमुखी सेवाभाव र व्यावहारिक हुनेतर्फ आफैं परिवर्तन हुनुपर्नेमा सचेत गराउनुभयो ।
मुलुकमा बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि बनेको नेपाली काँग्रेसको सरकारले जनताका पक्षमा कार्यक्रम ल्याएको भए पनि नेतृत्वले जनताको माझ पुगेर ती कुरा बुझाउन नसक्दा बहुमत ल्याउन नसकिएको चर्चा गर्नुहुदै २०८४ को निर्वाचनमा एकल नेपाली काग्रेंसको तीनै तहमा सरकार बनाउने गरि नेताकार्यकताएहरुलाई अभियानमा जुटन आग्रह गर्नुभयो ।
कार्यक्रमका आधा दर्जन बढी केन्द्रिय सदस्यहरुले पार्टीभित्रको अन्तर कलह र आलोचना तथा गाली गर्ने काम ६ महिना मात्रै बन्द गर्न सके काग्रेंस प्रतिको जनताको धारणामा परिर्वतन आउनेमा जोड दिएका थिए ।
केन्द्रिय सदस्य मिन बहादुर विश्वकर्माले नेतृत्वले नै गुटबन्दी गर्न उपयुक्त नहुने विचार व्यक्त गर्नुहुदै अब कोहीपनि कुनै गुटको पछि नलाग्ने र सबै काग्रेंस भएको सन्देश दिने प्रण गर्नुपर्ने बताउनुभयो ।
मुलुक, जनता र प्रजातन्त्रलाई दिशाबोध गर्न भावनात्मक रुपमा हृदय परिवर्तन गरेर अब सधैँका लागि काँग्रेस एक भएको सन्देश प्रवाह गर्नलाई आग्रह गर्नुभयो ।









काँग्रेसका अर्का केन्द्रिय सदस्य एवम् पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले देशको विकास, समृद्धि र जनभावनाको कदर गर्ने पार्टी काग्रेंस भएपनि त्यसलाई बुझाउन नसक्दाँ समस्या देखिएकाले त्यसमा लाग्न सबैलाई आग्रह गर्नुभयो । त्यसैगरी पार्टीका नेता विजयकुमार गच्छदारले काँग्रेस एकजुट भएको विश्वास जनता माझ पु¥याउन नेताहरु नै विवेकशील बन्नुपर्ने बताउनुभयो । उहाँले आफू वीपीबाबु र गीरिजाबाबुसंगैं काग्रेंसको बारेमा बुझेको र देशका लागि काग्रेंस बाहेकको विकल्प नगरेको भएपनि नेताकार्यकर्ता विचमै बुझाई फरक हुदाँ पराजय भोग्नुपरेको स्मरण गराउदै पार्टीको अभिभानमा जुट्नुपर्ने बताउनुभयो । उहाँले प्रजातान्त्रिक शक्तिबीच सहकार्य गरी प्रजातन्त्रलाई थप सुदृढीकरण गर्ने अभियानमा क्रियाशील हुन आफूमा रहेको हिनताको भावनालाई त्यागेर अगाडि बढ्नुपर्ने बताउनुभयो । अर्का केन्द्रिय सदस्य राजीव कोइरालाले मुलुकलाई दिगो शान्ति, राजनीतिक स्थायित्व प्रदान गर्न काँग्रेसको भित्र कुशलता, पारदर्शीता र जवाफदेहिता हुनुपर्ने बताउनुभयो । जिल्ला सम्मेलन पार्टीका सुनसरी सभापती केदार भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

१, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुनसरी काग्रेंसको जिल्ला सम्मेलनमा काग्रेंसका अग्रजलाई सम्मान गर्नुहुदै ।
तस्विर ः
