वराहक्षेत्र (सुनसरी), साउन ३० गते ।  सप्तकोसी नदीमा आएको बाढीले सुनसरीको श्रीलङ्का टापुमा तीव्र रूपमा कटान गरिरहेको छ । पूर्वी पहाडी जिल्लाहरूमा लगातार पानी परेपछि कोसीमा आएको बाढीले सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ मा पर्ने टापुमा कटान सुरु गरेको हो । 

कटान भएसँगै श्रीलङ्का टापुका एक दर्जन घर सार्न सुरु गरिएको टापुका स्थानीय अनिल चन्द्रवंशीले बताउनु भयो । टापुमा असारदेखि नै कोसीले सामान्य कटान गर्दै आएको थियो । बाढीसँगै कटान तीव्र हुँदै गएको छ । अहिले १ किलो मिटर भन्दा बढी कटान भइसकेको छ । आज कटानको जोखिममा परेको वराहक्षेत्र ९ गरैया टोलका विश्वनाथ उराउको घर सारिएको टापुका अनिल चन्द्रवंशीले बताउनु भयो । 

अनिलका अनुसार अजवलाल उराउ, कालु उराउ, रामचन्द्र उराउ, नुनु उराउ, रिजाल उराउ र दुखी तत्माको घर पनि जोखिममा परेको छ । श्रीलङ्का टापुको चिलैया र गरैया क्षेत्रमा कोसीले कटान गरिहरेको छ । 

आइतबार रातिदेखि सप्तकोसी नदीमा आएको बाढीले पश्चिमतर्फको भूभाग कटान गर्दा श्रीलङ्का टापुका ५ सय घरपरिवार बाढीको उच्च जोखिममा परेका छन् । सोमवार कोसी कटान क्षेत्र श्रीलङ्का टापुका स्थानीय बासीहरूसँग प्रकोपको पूर्व तयारी बारे वराहक्षेत्र नगरपालिकाले छलफल गरेको छ । 

वराहक्षेत्र नगर प्रमुख रमेश कार्की सहित सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे लगायत जिल्लाका ३ वटै सुरक्षा निकायका प्रमुखसहित टापु पुगेका थिए । नगर प्रमुख कार्कीले स्थानीय बासीहरूसँग छलफल , पूर्व तयारी , कटानको अवस्था , सुरक्षित स्थान बारे स्थानीय सँग जानकारी र प्रकोपको पूर्व तयारी बारे छलफल गरेको वराहक्षेत्र नगर प्रमुख रमेश कार्कीले बताउनु भयो । 

नगर प्रमुख कार्कीले कोसी कटानलाई नियन्त्रण गर्न तत्काल जिल्ला प्रशासन र गृह मन्त्रालय मार्फत बिहार सरकारको ध्यानाकर्षण गराउन आग्रह गर्नु भएको छ । प्रदेश सरकार , सङ्घीय सरकारमार्फत नगरपालिकाले पनि कटान नियन्त्रणका लागि काम तत्काल थाल्ने र सरकारका सम्पूर्ण निकायहरू कोसी कटान नियन्त्रणमा लाग्नु पर्ने नगर प्रमुख कार्कीको भनाइ छ । 

सप्तकोसी कटानका कारण सुनसरीको वराहक्षेत्र नगरपालिका, कोसी उदयपुरको बेलका नगरपालिका र सप्तरीको कंकालिनी हनुमान नगर नगरपालिका, कोलारी तिलाठी र छिन्नमस्ता नगरपालिकामा पर्ने दर्जनौँ बस्तीहरू जोखिममा रहेका छन् ।

सप्तकोसीमा आज बिहान ४ बजे ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजको ५६ वटै ढोका खोलिएको थियो । यो समाचार तयार पार्दा सोमवार साँझ ७ बजे ३ लाख ५७ हजार क्युसेक प्रति सेकेन्ड मापन गरेको कोसी ब्यारेज कन्ट्रोल रुमका कर्मचारी सुजन गिरीले जानकारी दिनुभयो ।