जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज १६ गते । सता गठबन्धन र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गठन गरेको समाजवादी मोर्चाले सुनसरी सदरमुकाम इनरुवामा सन्देश सभा गर्ने भएको छ । मंगलबार बसेको समाजवादी मोर्चा नेपाल सुनसरीको बैठकले मोर्चाको आवश्यकता र औचित्यका बारेमा आम नागरिक सहित नेताकार्यकर्ताहरुलाई जानकारी दिन इनरुवामा सन्देश सभा गर्ने निर्णय गरेको हो । नेकपा माओवादी केन्द्र सुनसरीका संयोजक योगेन्द्र मण्डल पप्पुको अध्यक्षतामा नेकपा माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकले असोज २६ गते शुक्रबार इनरुवाको नेपाल निर्माण व्यवसायी संघको सभाहलमा सन्देश सभा गर्ने निर्णय गरेको बैठकमा सहभागी जनता समाजवादी पार्टीका नेता दिलिपचन्द साहुले जानकारी दिनुभयो । सन्देश सभामा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहितका नेताहरुको उपस्थिती रहने जनाएको छ । समाजवादी मोर्चा गठन भएपछि सातवटै प्रदेशमा प्रदेश स्तरीय सन्देश सभा गरेपछि जिल्लामा समेतसन्देश सभा गर्ने उदेश्य अनुरुप तयारीमा जुटेको नेकपा एसका सचिव बसन्त सुवेदीले जानकारी दिनुभयो ।