जयकृष्ण यादव । इनरुवा
इनरुवा, असोज १८ गते । बालमैत्री नगर घोषणाको लक्ष्य सहित इनरुवा नगरपालिका तयारीमा जुटेको छ । प्रारम्भिक चरणमा बालमैत्री नगरको तयारीका लागि सरोकारबालाहरुलाई बालमैत्री स्थानीय शासनको बारेमा अभिमुखिकरण गरिएको छ । इनरुवा नगरपालिकाका प्रमुख केदार भणडरीको अध्यक्षतामा नगरका शिक्षा, स्वास्थ्य, महिला , बालबालिका, जेष्ठनागरिक, खानेपानी, पूर्वाधार सहितका शाखाका प्रमुखहरु र सरोकारबालाहरुको उपस्थितीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । बालमैत्री नगर घोषणाको तयारी स्वरुप नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष सहित कार्यपालिका सदस्यहरुको प्रतिवद्धता सहित अभिमुखिकरण गरिएको प्रमुख प्रशासकिय अधिकृत अग्नीप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार इनरुवा नगरपालिकाले बालमैत्री अभियानलाई तिव्र बनाएको छ । लक्ष्य प्राप्तीको लागि नगरपालिकाले तिव्र रुपमा विभिन्न गतिविधी सञ्चालन गर्ने गरी अगाडी बढेको हो ।
बालमैत्री नगर घोषणाको तयारी स्वरुप नगरप्रमुख र वडाअध्यक्षसहितको टोलीले बालमैत्री नगर घोषणाको पूर्व तयारी, यसको आवश्यकता , सरकारको लक्ष्य र यसको दिगोपना लगायतका विविध पक्षबारे अभिमुखिकरण मार्फत जानकारी लिनुभएको छ । नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख दिपा पोखरेलका अनुसार, नगरमा बालमैत्री बाल अधिकार समिति, नगरपालिकाका सबै वडामा बाल समूह, नगर स्तरीय बाल सञ्जालको बैठक बसेर विभिन्न कार्यक्रम तय गर्ने तयारी भएको छ । सबै वडामा बालमैत्री सहजकर्ता, सबै विद्यालयमा बालमैत्री सम्पर्क शिक्षक तोकिने र १० वटा वडामा बालमैत्री वडा समिति र बाल अधिकार वडा समिति गठन तथा पुनर्गठन गर्ने भएका छन् ।
नगरपालिकाले ३० वटा सामुदायिक विद्यालय र ४६ वटा बढी संस्थागत विद्यालयमा बालमैत्री सूचकहरुको अनुगमन गर्ने भएको छ । शिक्षासंग सम्बन्धित सूचकको अवस्थाबारे सबै विद्यालयमा अनुगमन शिक्षा शाखा प्रमुखले, स्वास्थ्य संस्थाहरुको स्वास्थ्य शाखा प्रमुखले बालबालिकाको समग्र अवस्थाका बारेमा महिला तथा बालबालिका शाखाले अनुगमन गर्ने गरि काम अगाडी बढाएको जानकारी दिएको छ । वर्तमा बालमैत्रीको अवस्था पत्ता लागेपछि सूधारको लागि योजना निर्माण गरिने पनि नगर प्रमुख भण्डारीले जानकारी दिनुभयो ।
नगरपालिकाले विहीबार नगरका संस्थागत र सामुदायिक विद्यालयका शिक्षक, संचालक, विद्यालय व्यवस्थापन समिति, वडा अध्यक्षहरु, वडा सचिव र नगरका सबै कर्मचारीलाई बालमैत्री अभियान बारेमा अभिमुखिकरण सञ्चालन गरेको छ । प्रमुख, उपप्रमुख सहित जनप्रतिनिधी र वडा सचिवलाई बालमैत्री अभियानबारे अभिमुखिकरण गर्ने कार्यक्रम गरेको भण्डारीले जानकारी दिनुभयो । बालमैत्री स्थानीय शासनका विज्ञहरुले बालमैत्रीका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
नगर प्रमुख भण्डारी, उपप्रमुख विनिताकुमारी मेहता, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरुले समेत यसमा तदारुकता लिदै बालमैत्री नगर घोषणाको लागि आवश्यक सूचक पुरा गर्न सबै सरोकारवालाहरु लाग्नुपर्नेमा जोड दिएका थिए ।
बालमैत्री स्थानीय तह घोषणाको लागि बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता, संस्थागत सहभागिता सम्बन्धी ५१ वटा सूचकहरु पुरा गरेको हुनुपर्छ । पहिलो अभिमुखिकरण कार्यक्रम उद्धघाटन गर्नुहुदै नगरप्रमुख भण्डारीले बालमैत्री अभियानलाई सबै सरोकारवालाको सहयोगले सफल बनाउने प्रतिवद्धा व्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत अग्नी प्रसाद अधिकारीले अभियान अन्तर्गत विभिन्न गतिविधी सञ्चालन गरिने भएकाले सबै सरोकारवालाको उत्तिकै सहयोग आवश्यक भएको बताउनुभयो ।
१, बालमैत्री नगर घोषणाको लक्ष्य सहित इनरुवा नगरपालिका तयारीमा जुटेको बेला अभिमुखिकरण गर्दै ।

तस्विर ः जयकृष्ण यादव । इनरुवा