राष्ट्रसंघका महासचिव भन्छन्- गाजामा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भयो
राष्ट्रसंघका महासचिव भन्छन्- गाजामा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भयोकाठमाडौँ — संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा बिना सर्त दुवै पक्षले तत्काल युद्धविरामको घोषणा गर्नुपर्ने बताएका छन् । उनले इजरायली सेना र प्यालेस्टाइनको हमास समूह बिच चर्किएको द्वन्द्वले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको पनि बताएका छन् ।

१५ सदस्यीय राष्ट्र संघको सुरक्षा परिषद्लाई सम्बोधन गर्दै गुटेरेसले निर्दोष सर्वसाधारणहरूको अधिकारलाई दुवै पक्षले कुण्ठित पार्न नहुने र यसले द्वन्द्वलाई चर्काउन मात्रै मद्दत पुग्नेमा सचेत रहन समेत आग्रह गरेका थिए । ‘हमासले गरेको हमला शून्यतामा भएको होइन भनेर पनि बुझ्न जरुरी छ । प्यालेस्टिनी जनता ५६ वर्षदेखि दमनकारी कब्जामा परेका छन्,’ उनले भने ,’तर प्यालेस्टिनी जनताको गुनासोलाई हमासको डरलाग्दो आक्रमणलाई न्यायोचित ठहराउन सक्दैन । र त्यो डरलाग्दो आक्रमणहरूका कारण प्यालेस्टिनी जनता सामूहिक दण्डको भागी हुन सक्दैनन् ।’
इजरायलको नाम नलिइ आलोचना गर्दै गुटेरेसले भने, ‘नागरिकहरूको सुरक्षा गर्नु भनेको दश लाखभन्दा बढी मानिसहरूलाई आश्रय, खाना, पानी, औषधि र इन्धन नै नभएको दक्षिणतिर लखेट्नु होइन । र, त्यहाँ पनि आक्रमण र बम विष्फोट गर्न जारी छ ।’जरायली अधिकारीहरूले महासचिव गुटेरेसको सम्बोधन प्रति आपत्ति जनाउँदै उनले राजिनामा दिनुपर्ने बताएका छन् । इजरायली विदेश मन्त्रालयका प्रवक्ता लिअर हयातले बीबीसीसँग कुराकानी गर्दै महासचिव गुटेरेसले मंगलबार दिएको भाषणलाई ‘अपमानजनक’ भनेर टिप्पणीसमेत गरेका छन् ।हयातका अनुसार गुटेरेसको भनाइले आतंकवादलाई बढावा दिएको छ ।
