इनरुवा, कार्तिक १५ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका किसान अहिले आलु रोप्न व्यस्त भएका छन् । धान र जुट खेती गरेका किसानले बाली भित्रियाएर अहिले आलु रोप्न व्यस्त भएका हुन् । अहिले भोक्राहा नरसिंहका किसानलाई आलु रोप्ने कामले भ्याइ नभ्याई छ । आलु रोप्नको लागि जग्गा जोत्ने, खन्ने, मल बोक्ने र आलु रोप्ने काममा किसान व्यस्त भएका छन् ।
भोक्राहा नरसिंह गाउँपालिका ५ को नरसिंह टपरा क्षेत्रमा किसान एक हजार बढी हेक्टर क्षेत्रफल जमिनमा आलु खेती गर्दै आएका छन् । यहाँका किसानको हिउदे बालीमा मुख्य उत्पादन नै आलु रहेको किसान शिवराम यादवले बताउनुभयो । आलुको माग बजारमा उच्च भएपछि किसानहरू थप व्यावसायिक रूपमा आलु खेतीमा लागेका स्थानीय किसान मनोज कुमार यादवले बताउनुभयो । नरसिंहका कतिपय किसानले एक सिजनमा पाँच लाख रुपिँयासम्मको आलु उत्पादन गरेर बिक्री गर्ने गरेको यादवको भनाई छ । गाउँको आलु जिल्ला सदरमुकाम इनरुवा हुदै अन्य मुख्य तरकारी बजारमा बिक्री हुने गरेकोले बजारको अभाव नभएको अर्का किसान मिथलेश यादवको कथन छ । विगतमा परम्परागत पुरानो आलुको बिउ लगाउँदै आएको किसानहरु अहिले नयाँ जातको बिउ लगाउन सुरु गरिएको छ । यसले आलुको उत्पादन बढाउने भएको छ । सुनसरीमा कुल आलु उत्पादनको झण्डै ३० प्रतिशत भोक्राहा नरसिहमा उत्पादन हुने गरेको कृषि शाखाको दावी रहेको छ ।


१, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ५ का किसान आफ्नो बारीमा आलु रोप्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा