राजकुमार भट्टराई

खोटाङ, कात्तिक २६ गते । स्थानीय तहको निर्वाचनमा निवार्चित खोटाङका जनप्रतिनिधिहरु रोजगारीका लागि विदेश जान थालेका छन् । गाउँठाउँको विकासका लागि निर्वाचित जनप्रतिनिधिहरु नै अन्ततः रोजगारीको लागि विदेश पलायन हुन थालेपछि स्थानीयहरु चिन्ता व्यक्त गरेका छन् । 

जिल्लाको केपिलासगढी गाउँपालिकाका कार्यपालिका सदस्य फुर्ते शेर्पा बैदेशिक रोजगारीका लागि कोरिया जानुभएको छ । जनता समाजवादी पार्टीका शेर्पा गत असारमा कोरिया जानुभएको हो । 

असार १० गते गाउँपालिकामा राजिनामा दिएर शेर्पा विदेश जानुभयो । असार २० गतेको कार्यपालिका बैठकलले शेर्पाको राजिनामा स्वीकृत गरेको गाउँपालिका अध्यक्ष समिर राईले जानकारी दिनुभयो । 

यस्तै, रोजगारीका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१४ बुईपाका वडा सदस्य छत्रकुमार श्रेष्ठ जापान पुग्नुभएको छ । २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा अत्यधिक मतसहित विजयी श्रेष्ठ अन्ततः रोजगारीका लागि जापान जानुभएको हो । 

नेकपा (एमाले) बाट निर्वाचित श्रेष्ठ ७ महिनाअघि स्टुडेन्ट भिसामा जापान पुगेको बताइएको छ । छोटो समयको लागि भनेर जापान उडेका श्रेष्ठ अहिले उतै सेटल भएको जानकारी आएको वडाध्यक्ष दिनेश राईले बताउनुभयो । 

यस्तै, हलेसी तुवाचुङ नगरपालिका –१० अर्खौलेका निर्वाचित वडा सदस्य यादन राई पनि अहिले वडाको सम्पर्कमा हुनुहुन्न । माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य राई करिब १ वर्षदेखि सम्पर्कमा नरहेको वडाध्यक्ष अर्जुन पुरीले बताउनुभयो । विगतमा कोरिया बसेर आएका राई पुनः कोरिया जाने तयारीमा रहेको बुझिएको वडाध्यक्ष पुरीले बताउनुभयो । 

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरी डाँडाका निर्वाचित वडा सदस्य हरीकुमार खत्री पनि बैदेशिक रोजगारीका लागि तयारी गरिरहेको बुझिएको छ । २३ वर्षको उमेरमै राजनीतिमा लागेर वडा सदस्य निर्वाचित खत्री अहिले रोजगारीका लागि विदेश जाने तयारीमा रहेको वडाध्यक्ष लिलाकुमार चौहानले बताउनुभयो । 

हाल वडा सदस्य खत्री दुई तीन महिनादेखि वडा कार्यालयमा उपस्थित नरहेको वडाध्यक्ष चौहानको भनाइ छ । वर्तमान अवस्थामा राजनीतिमा युवाहरुको माग बढ्दो छ । करिब डेढ वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा खोटाङका धेरै ठाउँमा वडाध्यक्षदेखि वडा सदस्यमा युवाहरु निर्वाचित भएका थिए । 

निर्वाचित युवाहरु अहिले धमाधम रोजगारीका लागि विदेश जान थालेपछि स्थानीयहरुले पनि चिन्ता जनाउने गरेका छन् । गाउँको विकास गर्ने, गाउँमै रोजगारीको सिर्जना गर्ने नारासहित चुनावी मैदानमा युवाहरु होमिएको भए पनि अहिले जनताको काम गर्न छाडेर विदेश पलायन भएको स्थानीयको गुनासो छ ।