सामाजिक रुपमा एकता, सदभाव र धार्मिक प्रबचनको कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको बेला मुस्लिम समुदायको धार्मिक कार्यक्रम इज्तेमा स्थगित गर्न सुनसरीका राजनीतिकहरुले अपिल गरेको छ । एकसता अघि गृहमन्त्रालयको आदेशमा जिल्ला प्रशासन कार्यालय सुनसरीले धार्मिक कार्यक्रम इज्तेमा स्थगित गर्न आग्रह गरेकोमा सोमबार दलहरुले समेत कार्यक्रम स्थगित गर्न आग्रह गरेको हो ।

सुनसरीको इटहरी उपमहानगरपालिका र दुहवी नगरपालिकामा गरि छुट्टा छुट्टै दुई स्थानमा हुन लागेको मुस्लिम समुदायको धार्मिक कार्यक्रम इज्तेमा स्थगित गर्न यहाँका प्रमुख राजनीतिक दलहरुले अनुरोध गरेको छ ।
सोमबार बसेको सर्वदलीय बैठकले मुस्लिम सुमदायको धार्मिक कार्यक्रम इज्तेमा स्थगित गर्न सरोकारवालालाई अनुरोध गर्ने निर्णय गरेको हो । कार्यक्रम स्थगन गर्ने सहमति अनुसार स्थानीय प्रशासनले नेपाल सरकारसमक्ष अनुरोध गरेको र नेपाल सरकारले दुहवी नगरपालिका १ स्थित प्राष्टोकीमा मंसिर ५ देखि ७ गतेसम्म र इटहरी उपमहानगरपालिका १३ स्थित खनारमा मंसिर ७ देखि ९ गतेसम्म आयोजना गर्ने भनिएको कार्यक्रम रोक्ने निर्णयलाई सर्वदलीय बैठकले पनि ऐक्यवद्धता जनाएको छ ।


नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त मुलुक भएको हुँदा सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक तथा लैंगिकजस्ता पक्षहरुको सम्मान र संरक्षण गर्ने राज्यको दायित्व र संकल्प भएको र सोहीअनुसार राज्य संचालन हुँदै आएको भनी बैठक पछि संयुक्त बिज्ञप्ति जारी गर्दै सुनसरीका राजनीतिक दलहरूले वर्तमान सुरक्षा संवेदनशीलताका कारण तत्कालका लागि कार्यक्रम स्थगन गर्न उपयुक्त हुने निर्णय भए बमोजिम कार्वान्वयन गर्न सरोकारलाहरुलाई अपिल गरिएको छ । वर्तमान सुरक्षा संवेदनशीलताको अवस्थामा केही उच्श्रृङ्खल तत्वहरुको समेत घुसपैठ हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै हाललाई सो कार्यक्रम स्थगित गर्न प्रमुख राजनीतिक दलहरुले संयुक्त प्रेस विज्ञप्ति मार्फत सम्बन्धित सरोकारवालाहरुलाई अनुरोध गरेको हो ।
यहाँका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस सुनसरीका सभापती केदार भण्डारी, नेकपा एमालेका अध्यक्ष रेवतीरमण भण्डारी, नेकपा माओवादी केन्द्रका संयोजक योगेन्द्र प्रसाद मण्डल (पप्पु), राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष दुर्गा बहादुर बस्नेत र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष भगिरथ खत्वेद्वारा जारी संयुक्त प्रेश विज्ञप्तिमा मुलुकको वातावरण सहज भए पश्चात आपसी समन्वयमा आगामी कार्यक्रम तय गर्न उपयुक्त देखिएमा सोही बमोजिम हुने र गृह मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्न सबैले सहयोग गर्नुपर्नेमा उल्लेख गर्नुभएको छ ।
यसअघि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको सर्वदलिय बैठकमा समेत मुस्लिम समुदायको धार्मिक कार्यक्रम इज्तेमा स्थगित गर्न अपिल गर्ने निर्णय र सहमती भएको थियो । सोही अनुसार राजनीतिकहरुले समेत विज्ञप्ती जारी गरेर एक्यवद्धता जनाएको बुझिएको छ ।