इनरुवा, मंसिर २७ गते । सुनसरीको इनरुवामा मधेसी नागरिक समाज र मधेसवादी दलहरुले विरोध प्रदर्शन गरेका छन् । कोशी प्रदेशसभाले प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको बिधयेक २०८० पारित गर्दा जनसंख्याको आधारमा आरक्षणको व्यवस्था नगरेको भन्दै विरोध गरेका छन् । यहाँका सरोकारबालाहरुले प्रदेश निजामती ऐनमा मधेसी कोटा जनसंख्याका अधारमा नछुटयाएको प्रती गम्भीर ध्यानाकर्षण भएको भन्दै विरोध गरेका हुन् ।


बुधकार आन्दोलनकारीहरुले नेपालको संविधान २०७२ ले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्वलाई सुनिश्चित गरेको अवस्थामा कोशी प्रदेश सभाबाट २०८० साल मंसिर २५ गते कोशी प्रदेशमा मधेसी समुदायको १४.२६ प्रतिशात रहेकोमा ५ प्रतिशत मात्र आरक्षण कोटा छुटाएकोले सो कार्यको घोर भत्सर्ना गर्दै विरोध गरेका छन् ।
अस्ती सोमबार प्रदेशसभाबाट पारित विधेयकको दफा (८) को उपदफा (१) बमोजिम खुला प्रतियोगितात्मक परिक्षाद्वारा पूर्ति हुने पदमध्ये ४५ प्रतिशत पद छुट्याइ सो प्रतिशतलाई शतप्रतिशत मानेर छुट्टाछुट्टै प्रतिस्पर्धा गराइ पदपूर्ति गरिने उल्लेख छ । जसमा छुटयाएको कोटा अनुसार मधेसीका ५ प्रतिशत उल्लेख गरेको छ । मधेसी आयोगको च.न.९७ मिति २०८०÷०८÷०१ गतेको पत्रानुसार कोशी प्रदेशमा मधेसी समुदायको उपस्थिति १४.२६ प्रतिशत देखिएकोले सोही बमोजिम प्रदेश निजामती सेवा ऐनमा व्यवस्थाको लागि कोशी प्रदेशसभा सचिवालय विराटनगरलाई पत्राचार गरेको छ । तर मधेसी समुदायको जनसंख्यालाई अवमूल्यन गर्दै कोशी प्रदेशसभाबाट ५ प्रतिशत मात्रै कोटा आरक्षण गर्नु नितान्त मधेसी समुदायलाई सरकारी सेवा प्रवेशमा बन्चित गर्न मधेसी समुदाय माथी गरेको नियोजित षडयन्त्र भएको जनता समाजवादी पार्टीका नेता दिलिपचन्द साहले जानकारी दिनुभयो ।
साहका अनुसार मंगलबार साझँ बिरोध स्वरुप प्रस्तावित संसोधित ऐनको प्रतिलिपी जलाएको र बुधबार विरोध प्रदर्शन गरिएको हो ं।
अर्का नेता जनमत पार्टीका केन्द्रिय परिषद सदस्य देवराम मधेसीले कोशी प्रदेशसभाले प्रदेश निजामती सेवा ऐनमा जनसंख्याको आधारमा मधेसी समुदायको उपस्थितिको सुनिश्चित गर्न आरक्षण कोटाको अविलम्ब व्यवस्था गर्न, संविधान बिपरित भएको कार्यलाई संशोधन गराउन र मधेसी समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गराउनको लागि दवाव स्वरुप आन्दोलन गरेको बताउनुभयो ।
उहाँले आन्दोलनमा विद्यार्थी, महिला, बुद्धिजीवी, व्यापारी, नागरिक समाज, राजनैतिक दलको सहभागीता रहेकाले सबैलाई कोशी प्रदेश सरकार, प्रदेशसभालाई दबाब दिन आहवान गर्नुभयो ।


१, सुनसरीको इनरुवामा विरोध प्रदर्शन गर्दै स्थानीयबासीहरु ।
तस्विर ः जयकष्ण यादव । इनरुवा