इनरुवा नगर शैक्षिक सुधार अभियानद्धारा प्रजिअको स्वागत सम्मान र परिचयात्मक कार्यक्रम
सुनसरी सदरमुकाम इनरुवामा नागरिक समाजको तर्फबाट गठित इनरुवा नगर शैक्षिक सुधार अभियानले नयाँ अनुभएका सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई स्वागत सम्मान गर्दै अभियानको उदेश्य बारेमा जानकारी गराएको छ । इनरुवा नगर शैक्षिक सुधार अभियानका संयोजक दिलिपचन्द साहु र सचिव जयकृष्ण यादव सहितको टोलीले अभियानका तर्फबाट माला र खादा ओडाएर स्वास्गत सम्मान गर्दै अभियानका बारेमा जानकारी गराएको बताइएको छ । अभियानका सबै सदस्यहरु सहित नागरिक समाज, शिक्षक, बुद्धिजिविहरु र सामाजिक अभियन्ताहरुको उपस्थितीमा अपिल बाचन गरि हस्तान्तरण समेत गरिएको थियो ।
उक्त कार्यक्रममा सुरक्षा अधिकारीहरु प्रहरी उपरीक्षक विपिन रेग्मी, सशस्त्र प्रहरी उपरीक्षक लकेस तुम्बाहाम्फे, राष्यिय अनुसंधानका प्रमुख तथा अभियानका अग्रजहरु रामवृक्ष साह, नविनचन्द साह, सिंहेश्वर मेहता, रामपुजन मेहता, रामभजन मेहता, सुरेश शर्मा र रविन्द्र यादव सहितको उपस्थिती रहेको थियो । प्रजिअ आचार्यले अभियान राम्रो भएको बताउनुहुदै यसलाई बन्द हडताल भन्दा अनुगमन , समन्वय र नितिगत रुपमा सम्बोधन गर्न लाग्नुपर्ने बताउनुभयो ।
प्रजिअलाई हस्तान्तर गरेको अपिलको पूर्ण पाठ









इनरुवा नगर शैक्षिक सुधार अभियान
अपिल


आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु !
इनरुवा नगरपालिका जिल्लाको सवै भन्दा पुरानो शहर मात्रै नभएर शिक्षा, स्वास्थ्य र आर्थिक गतिविधिको केन्द्र भागका रुपमा रहेको थियो। बढदो शहरीकरण र जनसंख्या वृद्धि, बसाईसराइ लगायतका कारण सुनसरी जिल्लाको सदरमुकाम इनरुवा नगरपालिका जिल्लाको धरान इटहरी दुहवी बराहक्षेत्र भन्दा पछि पर्दै गएको छ । शिक्षा, स्वास्थ्यको भरपर्दो गुणस्तरिय सेवा नपाउदा इनरुवाका हजारौं विद्यार्थी र बिरामीहरु अध्ययन र उपचारका लागी इटहरी, विराटनगर, काठमाडौं जान बाध्य भएका छन ।
यहाँको करोडौं रुपैयाँ इनरुवाबाट बाहिर गइ रहेको छ । जिल्ला हाक्ने अधिकांश नेताहरू इनरुवाको भएपनि यहाँको शिक्षा स्वास्थ्यको लागि सिंको भाँच्न सकेको छैन । इनरुवामै गुणस्तरीय शिक्षाका लागि राम्रा विद्यालयहरु, क्याम्पसहरु भएदिएको भए अन्य पालिकाको विद्यार्थीहरु पनि अध्ययनको लागी यहाँ आउँथ्यो, बजारमा भिडभाड हुन्थ्यो । फल्याटहरु, घरहरू भाडा लाग्थ्यो, बजारमा चहलपहल हुन्थ्यो र व्यापार व्यवसायमा वृद्धि हुन्थ्यो । आज इनरुवा एउटा मृत शहर जस्तो छ ।
इनरुवा नगरपालिकामा रहेको ३० वटै सरकारी विद्यालयहरु भौतिक पुर्वाधारले सम्पन्न छन । विद्यालयको शिक्षकहरुको तलब निजी बोर्डिङको तुलनामा आकर्षक छ तर बोर्डिङको तुलनामा सरकारी विद्यालयमा विद्यार्थी छैनन। इनरुवाको अधिकांश सरकारी विद्यालयहरुमा गरिब, बिपन्न र सीमान्तकृत समुदायका छोराछोरी पढ्छन तर त्यहाँ जागिर खानेमा अधिकांश नेताका छोराछोरी, बुहारी, पत्नी र पार्टीका कार्यकर्ता छन। आजको दिनमा सरकारी विद्यालय राजनीतिक गर्ने अखाडा बनेको छ ।
नेपालको संविधान २०७२ ले आधारभूत तहसम्मको शिक्षा अनिवार्य र माध्यमिक तहको शिक्षालाई निशुल्क भनिएको छ तर इनरुवा नगरभित्रका विद्यार्थीहरुसंग अंग्रेजी माध्यमको नाममा, विद्यालय विकासको नाममा, रजिस्ट्रेशन शुल्कको नाममा नियम विपरीत र अबैध शुल्क उठाइरहेको छ। यहाँ पैसा तिर्नेले अंग्रेजी माध्यममा, तिर्न नसक्नेले नेपाली माध्यममा पठनपाठन गर्न बाध्य छ्न । एउटै विद्यालयमा दुई किसिमको शिक्षाको नीति अंगीकार गरेको छ । यो विभेद हो,अन्याय हो, अत्याचार हो । संविधानले प्राथमिक र माध्यमिक शिक्षाको अधिकार स्थानीय सरकारलाई दिएको छ । तर इनरुवा नगरपालिकाले, नगरको शिक्षा समितिले कतिपय प्र.अ. हरुको मिलोमतोमा खाजाको पैसा, अडिटको पैसा, बुक कर्नरको पैसा, स्टेशनरीको पैसा, विद्यालय विकासको लागि आएको पैसामा खुल्लेयाम अनियमितता र भ्रष्टाचार गरिरहेका छन । शिक्षक नियुक्ति हुँदा सोर्सफोर्सबाट हुन्छ। त्यसमा पनि एउटा निमुखा गरिबका छोराछोरीको जागीर हुनु धेरै टाढाको कुरा हो । शिक्षकहरुले सरुवा गरेर आउँदा वा जाँदा सहमतिको नाममा लाखौं रुपैया घूस खुवाउनु पर्छ । विद्यालयका जग्गाहरु दलको कार्यकर्ता द्वारा कब्जा गरिएको छ । कतिपय प्रधानाध्यापक तथा शिक्षकहरु राजनीतिक दलको जुलुसमा गएर कानुनको धज्जी उडाइरहेको छन । समाजलाई ठाडो चुनौती दिई रहेको छ ।
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु !
बिक्रम सम्बत.२०३७ सालमा स्थापित सुनसरी बहुमुखी क्याम्पसको अवस्था हेर्नुस् । केही व्यक्तिको स्वार्थको कारण क्याम्पसको बिकास ओझेलमा परेको छ । शिक्षाको मन्दिर क्याम्पसको विकासमा कसैको ध्यान गएको छैनन । यहाँ त राजनैतिक पार्टीमा व्यवस्थापन हुन नसकेको व्यक्तिलाई क्याम्पसमा व्यवस्थापन गरिन्छ। हरिनगर गाउँपालीकामा साइन्स क्याम्पस छ, जिल्लाको प्रायः सबै पालिकामा प्राविधिक धारको क्याम्पसहरु छन तर आजसम्म इनरुवा नगरपालिकामा सदरमुकाम भएर पनि एउटा साइन्स पढ्ने क्याम्पस छैन । प्राविधिक धार पढ्ने क्याम्पस छैन । यसैबाट प्रष्ट हुन्छ कि, इनरुवाको नेताहरू, स्थानीय सरकार इनरुवा नगरपालिका नगरको शिक्षा प्रति कति संबेदनसिल छ ?
भनिन्छ– “ कुनै देशको जनतालाई गुलाम बनाउनु छ भने त्यहाँका शिक्षा ध्वस्त गरिदिनुस“ हो, इनरुवाको जनता माथी यहीँ षड्यन्त्र भएको हो । विश्वव्यापीकरणको यो युगमा राम्रो रोजगारीको लागि गुणस्तरीय शिक्षा अनिवार्य छ तर यहाँ यसको लागि कुनै प्रयास भइरहेको छैन । कुनै योजना छैन, मतलब छैन । यसैको लागि इनरुवा नगर शैक्षिक सुधार अभियानले इनरुवा नगर क्षेत्रको विद्यालयहरु, क्याम्पसहरु सुधारको लागि इनरुवा नगरपालिकालाई , क्याम्पसलाई बारम्बार ज्ञापनपत्र, ध्यानाकर्षणपत्र बुझाउँदा पनि वास्ता गरिएन । सम्बन्धित निकायहरू कानमा तेल हालेर सुतेका छन । इनरुवाका जनतालाई स्थानीय सरकार छ भन्ने कुराको अनुभूती नै भइ रहेको छैन।
हाम्रा मागहरूः
१) सामुदायिक विद्यालयमा आवश्यकता अनुसारको शिक्षकहरु व्यवस्था गर्दै अंग्रेजी माध्यमको नाममा, विद्यालय विकासको नाममा अबैध र रजिस्ट्रेशन शुल्कको नाममा लिइ रहेको बढी शुल्क बन्द गर्नुपर्ने ।
२) नगरको सबै माविमा +२ र प्राविधिक धारको पठनपाठन सुरु गर्नुपर्ने ।
३) भगवती माविमा तत्काल +२,विज्ञान र कानुन संकायको पठनपाठन सुरु गर्नुपर्ने(+२ को लागि ८ वटा माविको दरबन्दी चाहिन्छ तर यहाँ ९ वटा दरबन्दी रहेको छ)।
४) सुनसरी बहुमुखी क्याम्पसमा विद्यार्थी ओसार्न बस र क्याम्पस अगाडिको बाटो क्लियर गराउनुपर्ने या वैकल्पिक बाटो बनाउनुपर्ने ।
५) विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरका लागि लगानी बढाउनुपर्ने ।
६) नगर क्षेत्रका शिक्षकरुलाइ विषय र तह अनुसार दरबन्दी मिलान तथा आवश्यकता अनुसार आन्तरिक सरुवा गर्नुपर्ने ।
७) विद्यालय न आएको दिन र रेड लागेको दिन हाजिरी गर्ने शिक्षकलाइ छानबिन गरि कार्वाही गर्नुपर्ने ।
८) नगरपालिकाको शिक्षा समितिमा विद्यालय व्यवस्थापन महासंघको प्रतिनिधि, स्वतन्त्र व्यक्ति, नागरिक समाज र विज्ञहरुलाई राख्नुपर्ने ।
९) नगरभित्रको सरकारको तलब, भत्ता खाने सबैका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याउनुपर्ने ।
१०) सबै सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यमको पठनपाठनको व्यवस्था गर्नुपर्ने ।
११) नगरपालिकाले प्रोत्साहन स्वरुप नगद पुरस्कार र प्रमाणपत्र सहित प्रत्येक वर्ष क्अजयय िया तजभ थभबच र त्भबअजभच या तजभ थभबच को व्यवस्था गर्नुपर्ने ।
१२) शिक्षा नियमावली अनुसार प्रत्येक पाँच पाँच वर्षमा कार्य सम्पादनको आधारमा प्रअको नियुक्ति वा प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने ।
१३) सामाजिक परीक्षण र लेखा परिक्षण नागरिकको सहभागितामा गर्नुपर्ने ।
१४) निजी विद्यालयमा अनिवार्य अभिभावक समितिको गठन र सामुदायिक विद्यालयका शिक्षकहरु सरह शिक्षकहरुको तलब समान गर्नुपर्ने ।
१५) नगरपालिकामा आधारभूत तहमा बहुभाषिक विद्यालयको स्थापना गर्नुपर्ने ।
१६) बालबिकास देखि कक्षा–३ सम्म नगरपालिकाले सरकारी विद्यालयमा अंग्रेजी किताब उपलब्ध गराउनुपर्ने ।
१७) सामुदायिक विद्यालयले पनि कक्षा–१ देखि कक्षा–१० सम्म उत्तरपुस्तिका अभिभावक समक्ष उपलब्ध गराउनुपर्ने ।
१८) प्रत्येक महिना प्रयोगात्मक परीक्षा गराउनुपर्ने ।
१९) सामुदायिक विद्यालयमा पाठयोजना, पाठनोट तयार गरी पठनपाठनको व्यवस्था गर्नुपर्ने ।
२०) शिक्षकहरुलाइ समयानुकूल तालीमको व्यवस्था गर्नुपर्ने ।
२१) वार्षिक बजेट, नीति तथा कार्यक्रममा शिक्षालाई प्राथमिकतामा राखेर बजेट वृद्धि गर्नुपर्ने ।
२२) असल र नियमित रूपमा रहेर पठनपाठन गर्ने शिक्षकहरुलाई सम्मान गर्नुपर्ने ।
२३) प्रत्येक विद्यालयले ४÷४ महिनामा शिक्षक– अभिभावक अन्तरक्रिया गर्नुपर्ने ।
२४) नगरपालिकाले शिक्षकहरुलाई खाजाको व्यवस्था गर्नुपर्ने ।
२५) विद्यालय अनुगमन प्रभावकारी र नियमित रूपमा गर्नुपर्ने ।
२६) अभिभावक शिक्षा र जागरण कार्यक्रम गर्नुपर्ने ।
२७) खरिद प्रक्रिया र आर्थिक ऐन, नियमावली अनुसार खर्चलाई पारदर्शी र शीर्षक अनुसार खर्च गर्नुपर्ने ।
२८) विद्यालय समय सम्म नियमित पठनपाठन सहित सृजनात्मक कृपाकलाप गर्नुपर्ने ।
२९) शिक्षा समितिको बैठक नगरपालिकाको पेज र अन्य मिडियाबाट प्रत्यक्ष प्रशारण गर्नुपर्ने ।
३०) विद्यालयमा कर्मचारी र शिक्षक भर्ना गर्दा पारदर्शी रूपमा गर्नुपर्ने ।
३१) प्रत्येक विद्यालयले प्रतिवर्ष वार्षिक बजेट बनाइ आर्थिक कारोबार गर्नुपर्ने ।
३२) प्रत्येक विद्यालयमा छुट्टै सूचना फाँट राख्नुपर्ने ।
३३) निजि तथा संस्थागत विद्यालयमा शिक्षा ऐन, नियमावली निर्देशिका अनुसार अनिवार्य छात्रवृत्ति दिनुपर्ने ।
३४) शैक्षिक मापदण्ड भन्दा कम विद्यार्थी भएका विद्यालयलाई नजिकको विद्यालय संग समायोजन गर्नुपर्ने ।
३५) मापदण्ड भन्दा बढी विद्यार्थी भएको विद्यालयमा कक्षा कोठा र शिक्षकको थप व्यवस्था गर्नुपर्ने ।
३६) विद्यालय क्षेत्रको सडक दुरुस्त र ट्राफिक संरक्षण हुनुपर्ने ।
३७) विद्यालय, क्याम्पस परिसर ध्वनि प्रदुषण रहित शान्ति क्षेत्र हुनुपर्ने ।
३८) नैतिक शिक्षा मुलक पठनपाठनको व्यवस्था अनिवार्य रूपमा गर्नुपर्ने ।
३९) इनरुवामा कम्तीमा एउटा गुरुकुल विद्यालयको स्थापना गर्नुपर्ने, आदि ।
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु !
हामीले रेफरल अस्पतालको रूपमा चिनिएको इनरुवा अस्पताल सुधार्न सफल भएकै हो । तसर्थ इनरुवा नगरभित्रको शिक्षा सुधार र विकासको लागि पनि हुने शान्तिपूर्ण धर्ना, जूलूस, अनसन, नगरपालिका घेराउ तथा तालाबन्दी जस्ता संघर्षको कार्यक्रममा साथ, सहयोग र समर्थन गरिदिन हुन नगरको युवा, विद्यार्थी, किसान,महिला, व्यापारी, बुद्धिजीवी, शिक्षाप्रेमी, पत्रकार तथा नागरिक समाजलाई इनरुवा नगर शैक्षिक सुधार अभियान हार्दिक अपिल गर्दछ ।

आन्दोलनको कार्यक्रमहरुः–
१) २०८० सालको पुस र माघ महिना– अभियानको प्रचारप्रसार, अन्तरक्रिया र समिति गठन ।
२) २०८० सालको फाल्गुन महिना–धर्ना र जुलुस ।
३) २०८० सालको चैत १ गतेदेखि अनसन ।
४) २०८० सालको चैत २५ गतेदेखि इनरुवा नगरपालिका घेराउ तथा तालाबन्दी ।
इनरुवा नगरपालिकालाई एजुकेसन हब बनाउने सबैले संकल्प गरौं ।
धन्यवाद, जय इनरुवा ।
