जयकृष्ण यादव । इनरुवा
इनरुवा, पुस २१ गते । एतिहासिक बर्जु तालमा विगतको वर्षझै यस वर्षपनि महोत्सवको तयारी भएको छ । सुनसरीको बर्जु सामुदायिक विकास केन्द्र बर्जु ६ चिमडीको आयोजनामा पाचौं बर्जु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बर्जु सामुदायिक विकास केन्द्रले जनाएको छ । बर्जु ६ का वडा अध्यक्ष श्रवण चौधरीले बर्जु तालमा पाँचौं बर्जु महोत्सव पुस २७ गतेदेखी सुरु हुने जानकारी दिनुभयो । चौधरीका अनुसार यो पाचौं बर्जु महोत्सव बर्जु ताल एरिया १ नं. गेट छेउमा आउँदो पुस २७ देखी माघको पहिलो हस्तासम्म लाग्ने छ ।
बर्जु गाउँपालिका वडा नम्बर ६ को चिमडी बजार नजिकै लाग्ने यो महोत्सवमा दर्जनौ राष्टिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार कलाकारको जम्वो टोलीमा, मोडल, टिकटक स्टारहरु, कुस्ती खेलाडीहरुको मुख्य प्रस्तुती रहने छ ।
तालका कर्मचारी सरोज चौधरीका अनुसार महोत्सवको आकर्षणको रुपमा मौलिक तथा संस्कृतिक प्रस्तुति, कुस्ती खेल, कमेडी, नृत्यलाई समेत समावेश गरिएको छ । चौधरीका अनुसार, नेपाली तथा भारतीय कुस्ती खेलाडी पहलमानहरुको सहभागितामा कुस्ती खेल संचालन गरिनेछ ।
उता बर्जु महोत्सव पूर्व नै कोशी प्रदेशका आर्थिक मामिला तथा कानून मन्त्री शमशेर राई , कोशी प्रदेश सभा सदस्य सुनिता गुरुङ , कोशी प्रदेश सभा सदस्य खगेश्वरी पौडेलले तालको अवलोकन तथा निरिक्षण गर्नुभएको छ । उहाँहरुले बर्जु गाउँपालिकाको ऐतिहासिक धरोहर पर्यटकीय स्थल चिमडी बर्जु तालको अवलोकन भ्रमण गर्नुभएको चौधरीले जानकारी दिनुभएको छ ।