जयकृष्ण यादव । इनरुवा
इनरुवा, साउन १० गते । सुनसरीको कोशी टप्पु बन्यजन्तु आरक्षमा रहेको पालुवा हात्ती लक्ष्मीकलीले शनिबार राती छावा जन्माएको छ । लक्ष्मीकली आमा बनेसगैं आरक्षमा हात्तीको संख्या एउटाले बढेको छ । जन्मिएको छावाको स्वास्थ्य स्थिति भने ठीकठाक रहेको आरक्ष प्रशासनले जनाएको छ । लक्ष्मीकलीले जन्माएको छावा अलि दुब्लो भएपनि स्वास्थ्यस्थिति अहिलेसम्म राम्रो रहेको आरक्षका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिनुभयो । वहाँले छावाको स्वास्थ्य स्थिति राम्रो भए पनि आरक्ष हात्तीसारका साथीहरुले विशेष निगरानीमा राखेको जानकारी दिनुभयो । सामान्यतः हात्तीहरूको प्रजनन अवधि १८ देखि २४ महिनाको हुने गर्छ । साउनको पहिलोहप्ता सम्ममा बच्चा जन्माउने अनुमानका आधारमा लक्ष्मीकलीलाई एकसत्तायता विशेष निगरानीमा राखिएको थियो ।
स्थानीय राजकुमार शर्माका अनुसार कोशीटप्पुको हिरो र अपराधी दुवैको उपमा पाएको जङ्गली हात्ती ‘मकुना’ को सम्र्पकबाट भर्ग बोकेकी लक्ष्मीकलीले स्वस्थ्य छावा जन्माएको हो । माकुनाको गत असोज १७ गते विद्युतीय धरापमा परेर ज्यान गएको भएपनि त्यही मकुनासँगको संसर्गमा कोशीटप्पुको सरकारी हात्तीसारमा रहेको हात्ती लक्ष्मीकलीले शनिबार भाले अर्थात् छावालाई जन्माएकोले आरक्षसगैं स्थानीयहरु पनि खुसी भएका छन् । अर्का स्थानीय पत्रकार पनव रौनीयारका अनुसार १४ वर्षीया लक्ष्मीकलीले शनिबार राति जन्माएको छावा पहिलो हो । हात्तीले छावा पाएपछि स्थानीयहरुमा खुसियाली छाएको छ ।