धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावको थलो मानिने मन्दिर प्राङ्गणमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा अश्लील गीत र अशोभनीय नृत्य प्रदर्शन भएपछि स्थानीय स्तरमा तीव्र आक्रोश र चौतर्फी आलोचना सुरु भएको छ।


​
सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर १(साविक मध्यहर्षाही-५) मा रहेको दुर्गा भवानी मन्दिर प्राङ्गणमा लागिरहेको दुर्गा पूजा मेलाका अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा सार्वजनिक मर्यादा र धर्म-संस्कृतिको खिल्ली उडाउने गरी अश्लील गतिविधि प्रदर्शन गरिएको हो।
​
गम्भीर विषय त के छ भने, समाजमा उच्च नैतिक र शासकीय जिम्मेवारीमा रहेका कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामप्रसाद मेहताले सो कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो। प्रदेश सरकारको बहालवाला जिम्मेवार मन्त्री स्वयम्‌ले उद्घाटन गरेको र जनप्रतिनिधिहरुकै उपस्थिति रहेको मञ्चमा यसरी अश्लील नृत्य र भद्दा गीतहरू बजाइनुले समाजमा ठूलो प्रश्नचिह्न खडा गरेको छ।
​
स्थानीय प्रत्यक्षदर्शी र सर्वसाधारणका अनुसार धार्मिक मेलाको नाममा आयोजना गरिएको कार्यक्रममा भित्त्याइएको यस प्रकारको विकृतिले बालबालिका, युवायुवती र समाजको समग्र नैतिक धरातलमा नकारात्मक असर पुर्‍याएको छ।
“धार्मिक तथा सांस्कृतिक संरक्षणको साटो मन्दिर परिसरजस्तो पवित्र ठाउँमै सार्वजनिक मर्यादाविपरीत अश्लीलता पस्किनु र त्यसमा सरकारका मन्त्री मूकदर्शक बन्नु वा संरक्षण हुनु दुखद हो,” स्थानीय अगुवाहरूले आक्रोश व्यक्त गरे।
​
राज्यको उच्च पदमा आसीन व्यक्ति सहभागी हुने कार्यक्रमको गरिमा, विषयवस्तु र उद्देश्यबारे पूर्वतयारी तथा अनुगमन हुनुपर्नेमा उल्टै विकृतिलाई बढावा दिने गरी अश्लील गतिविधि सञ्चालन हुनुले प्रदेश सरकार र जनप्रतिनिधिको भूमिकामाथि नै गम्भीर नैतिक प्रश्न उब्जाएको छ।
​
नागरिक समाज तथा स्थानीयवासीहरूले धार्मिक तथा सांस्कृतिक मेलाहरूका नाममा हुने यस्ता अश्लील र सामाजिक मर्यादाविपरीतका कार्यहरू तत्काल रोक्न, यस्ता गतिविधिमा संलग्न आयोजकमाथि कारबाही गर्न र भविष्यमा धार्मिक स्थलहरूको पवित्रता जोगाउन सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्।

यस विषयमा बुझन आयाेजक समिति संग सम्पर्क गर्न खाेज्दा सम्पर्क हुन सकेन ।