सशस्त्रको सकारात्मक प्रयास , तस्करीमा संलग्नलाई त्रास
जजन्युज/भाेक्राहा (सुनसरी) ।
सुरक्षाकर्मीहरूले पछिल्लो समय लागूऔषध तथा अवैध तस्करी नियन्त्रणमा देखाएको शून्य सहनशीलता र कडा कदमपछि त्रसित बनेका समूहहरूले सुरक्षा निकायको मनोबल गिराउन र आम जनमानसमा भ्रम छर्न अतिरञ्जित प्रचारबाजी सुरु गरेका छन्।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित नहर चोक नजिकैबाट बरामद गरिएको ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध र मोटरसाइकल नियन्त्रणमा लिने क्रममा स्थानीयस्तरमा सिर्जना गर्न खोजिएको अशान्तिको घटनाले यस कुरालाई पुष्टि गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीबाट खटिएको विशेष गस्ती टोलीले विशेष सूचनाका आधारमा कात्तिक ४ गते मंगलबार अपराह्न अन्दाजी २:३० बजे भोक्राहा नरसिंह–४ स्थित पुरानो स्टार होटल नजिकै शंकास्पद अवस्थामा रहेको प्र.१ ०२–०४७ प १४७२ नम्बरको सेतो–कालो रङको २०० सीसी Pulsar NS मोटरसाइकल पछ्याएको थियो।
सुरक्षाकर्मीले पछ्याएपछि चालकले मोटरसाइकल सोही भवन परिसरमा पार्क गरी भित्र पसेर भित्री चेन गेट लगाएका थिए। सशस्त्र प्रहरीले बारम्बार बोलाउँदा पनि चालक बाहिर नआएपछि प्रहरी टोलीले मोटरसाइकललाई कम्पाउन्डबाट निकाली १५-२० मिटर दक्षिणतर्फ रहेको पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा ल्याएको थियो।
सोही क्रममा अपराह्न २:४५ बजेतिर ५० देखि ५५ जनाको संख्यामा भेला भएका स्थानीय व्यक्तिहरूले सुरक्षाकर्मीको टोलीलाई घेराउ गर्दै डिउटीमा बाधा पुर्याएका थिए। घटनालगत्तै नेपाल प्रहरीको टोलीसमेत पुगेर संयुक्त रूपमा मोटरसाइकल चेकजाँच सुरु गरेको थियो।
तर, स्थिति सामान्य बनाउनुको साटो उक्साहटमा आएका केही व्यक्तिहरूले बरामद हुन लागेको लागूऔषध लुटपाट गर्ने र मुख्य दसी प्रमाण नै नष्ट गर्ने प्रयास गरेका थिए। उनीहरूले ‘प्रहरी प्रशासन मुर्दावाद’ जस्ता नाराबाजी गर्दै घटनालाई मोड्न नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलोमतोमा निर्दोषलाई फसाउन खोजिएको भन्दै अनर्गल र कपोलकल्पित अफवाह फैलाउन थालेका थिए।
स्थानीयको अनपेक्षित विरोध र दसी प्रमाण नष्ट गर्ने प्रयासका बाबजुद सशस्त्र प्रहरी सहायक हवल्दार नरबहादुर खड्काले तानातानका क्रममा भुइँमा खसेको कालो प्लास्टिकको पोको सुरक्षित रूपमा टिपेर पुनः मोटरसाइकलमै राखी सूक्ष्म चेकजाँच अघि बढाएका थिए।
प्रहरीको विस्तृत चेकजाँचका क्रममा उक्त कालो प्लास्टिकभित्र लुकाइछिपाइ राखिएको भारी परिमाणको प्रतिबन्धित लागूऔषध फेला परेको छ। बरामद लागूऔषधमा:
नाइट्रोजेपाम (Nitrozepam) ट्याब्लेट: १० पत्ता (९९ पिस)
ट्रामेडोल (Tramadol) ट्याब्लेट: १६ पत्ता (१६० पिस)
स्पासमो (Spasmo) ट्याब्लेट: ४ पत्ता (३२ पिस)
बरामद गरिएको उक्त एनएस मोटरसाइकल र सम्पूर्ण प्रतिबन्धित लागूऔषधलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको छ।
सुरक्षा निकायको कडा कदम र भ्रम सिर्जना गर्ने प्रयास
सुनसरी जिल्लाका प्रमुख सीमावर्ती क्षेत्र तथा सहरी भेगहरूमा पछिल्लो समय लागूऔषध ओसारपसार, प्रयोग र अवैध तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई अत्यन्त निर्मम र आक्रामक रूपमा परिचालन गरिएको छ। सुरक्षा निकायको यो कडा नीतिका कारण सीमापारबाट हुने illegal आपूर्ति र गिरोहको सञ्जाल भत्किन थालेको छ।
सोही बौखलाहटमा परेर गिरोह र तिनका समर्थकहरूले सर्वसाधारणलाई उक्साउने, प्रहरीविरुद्ध भ्रम फैलाउने र निष्पक्ष कारबाहीलाई ‘फसाइएको’ भन्दै अतिरञ्जित प्रचारप्रसार गर्ने दुष्प्रयास गरिरहेको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ। यद्यपि, सुरक्षा निकायले भने यस्ता अफवाह र घेराबन्दीबाट विचलित नभई लागूऔषध र तस्करीविरुद्धको अभियानलाई अझ कडाइका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ।

सशस्त्र प्रहरी उपरीक्षक लव सापकोटाले दिनुभएको जानकारी अनुसार सशस्त्रले सिमानाकामा कडाइ गरेकोले तस्करहरु त्रसित बनेका छन् । तस्कर र लागू ओषध काराेबारीकाे जालो ताेड्न सशस्त्र प्रहरी लागि परेको उहाँले बताउनुभयो ।
