जयकृष्ण यादव । इनरुवा
इनरुवा, कार्तिक २ गते । सुनसरीको निर्वाचन क्षेत्र भ्रमण कार्यक्रम अन्तर्गत बराहक्षेत्र नगरपालिका–६ स्थित चक्रघट्टी बजारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री इ.दीपक कुमार साहले जनतासँग भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्नुभएको छ । स्थानीयहरुको उपस्थितीमा भव्यताका साथ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सम्बोधन गर्नुहुदै प्रमुख अतिथि एवं प्रतिनिधिसभा सदस्य तथा मन्त्री दीपक कुमार साहले यस क्षेत्रको समग्र विकास र समृद्धिका लागि आफू निरन्तर क्रियाशील रहेको बताउनुभयो । साथै, उहाँले देशमा सहज आपूर्तिको व्यवस्था मिलाउन सरकार प्रतिबद्ध भएर काम गरिरहेको स्पष्ट पार्नुभयो । मन्त्री साहले जनतालाई आश्वस्त पार्दै भन्नुभयो, “देशभर अत्यावश्यक वस्तुको सहज आपूर्ति गराउन हाम्रा कामहरू निरन्तर अघि बढिरहेका छन् । अब कुनै पनि नागरिकले अभाव र असुरक्षाको महसुस गर्नुपर्ने छैन ।” स्थानीय जनता, व्यापारी तथा समाजसेवीहरूको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा चक्रघट्टी तथा आसपासका क्षेत्रको विकास, बजार व्यवस्थापन र स्थानीय समस्याबारे समेत छलफल भएको थियो । कार्यक्रमका सहभागीहरूले मन्त्री साहलाई शुभकामना व्यक्त गर्दै स्थानीय विकासका प्राथमिकताहरूबारे ध्यानाकर्षण गराएका थिए । उता उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री इ.दीपककुमार शाह बडादसैँ तथा शुभ दीपावलीको शुभकामना आदानप्रदान गर्दै वराहक्षेत्र नगरपालिकाका विभिन्न वडामा पुग्नुभएको छ ।
सोही क्रममा मन्त्री शाहले वराहक्षेत्रस्थित प्रसिद्ध औलिया मन्दिरमा दर्शनसमेत गर्नुभएको छ । चाडपर्वको अवसरमा स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट, शुभकामना आदानप्रदान तथा धार्मिक स्थलको दर्शन गर्ने क्रममा उहाँ बराहक्षेत्रका विभिन्न स्थानमा पुग्नुभएको थियो । मन्त्री शाहको यो भ्रमण मन्त्री बनेपछि बराहक्षेत्रमा भएको दोस्रो भ्रमण हो भने प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि पाँचौँ पटकको भ्रमण भएको बताइएको छ ।

१, सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित चक्रघट्टी बजारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री इ.दीपक कुमार साहले जनतासँग भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्नुुहदै सहभागी भएको अवस्था ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा