विद्यालय बन्द भए पनि प्रधानाध्यापक यादवले विद्यार्थीलाई लगाए दशैंको टीका, सिकाए मौलिकताको महत्त्व
ममता कुमारी यादव । जजन्युज
इनरुवा, सुनसरी। विजयादशमीको अवसरमा इनरुवा नगरपालिका–१०, जलपापुरस्थित श्री आधारभूत विद्यालयका प्रधानाध्यापक देवकृष्ण यादवले बिदाको दिनसमेत विद्यालयमा उपस्थित भएर विद्यार्थी बालबालिकालाई दशैंको टीका लगाइदिनुभएको छ।

विद्यालय बन्द रहेको समयमा पनि विद्यार्थीको इच्छालाई सकारात्मक रूपमा स्वीकार गर्दै प्रधानाध्यापक यादवले बालबालिकालाई टीका लगाइदिनुका साथै विजयादशमी पर्वको महत्त्व, धार्मिक तथा सांस्कृतिक मान्यता र नेपाली मौलिक परम्पराबारे जानकारी गराउनुभएको हो।
दशैं नेपाली समाजको प्रमुख सांस्कृतिक पर्व हो। असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको स्थापना तथा असत्यमाथि सत्कर्मको विजयको प्रतीकका रूपमा विजयादशमी मनाउने गरिन्छ। यस अवसरमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा नेपाली समाजमा प्राचीनकालदेखि चलिआएको छ। टीका र जमराले विजय, शुभता, समृद्धि तथा पारिवारिक सद्भावको सन्देश दिने विश्वास गरिन्छ।
प्रधानाध्यापक यादवले विद्यार्थीलाई टीका लगाइदिँदै दशैं केवल रमाइलो र उत्सवमा सीमित नभई अग्रजप्रतिको सम्मान, परिवारबीचको आत्मीयता, आपसी सद्भाव र संस्कृतिको संरक्षण गर्ने अवसरसमेत भएको सन्देश दिनुभएको थियो। नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्पराबारे जानकारी गराउनु आवश्यक रहेको उहाँको यस कार्यले देखाएको छ।

विद्यालयमै पहिलोपटक प्रधानाध्यापकबाट दशैंको टीका ग्रहण गर्न पाउँदा विद्यार्थी बालबालिकाहरू खुसी भएका छन्। विद्यालयमा टीका लगाउन पाएको र दशैंको महत्त्व तथा मौलिकताबारे जानकारी प्राप्त गरेकोमा विद्यार्थीहरूले खुसी व्यक्त गर्दै आभारसमेत प्रकट गरेका छन्।
विद्यालय बन्द भए पनि विद्यार्थीहरूले दशैंको टीका लगाउने इच्छा व्यक्त गरेपछि प्रधानाध्यापक यादवले त्यसलाई सकारात्मक रूपमा स्वीकार गरी विद्यालयमै टीका लगाउने व्यवस्था मिलाउनुभएको शिक्षक दिलीप पोदारले जानकारी दिनुभयो।

यस प्रकारको कार्यले विद्यार्थीहरूमा आफ्नो संस्कृति र परम्पराप्रति सम्मानको भावना विकास गर्नुका साथै विद्यालय र विद्यार्थीबीचको आत्मीय सम्बन्धलाई समेत थप बलियो बनाउने अपेक्षा गरिएको छ।

विजयादशमीको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा देश–विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना।
