इनरुवा, चैत २६ गते । सुनसरीको हरिनगर गाउँपालिकामा पाँचदिन अघिदेखी जारी रहेको तनाबलाई कम गर्न सर्वपक्षीय छलफलबाट सहमती गरेपछि साम्य भएको छ ।
स्थानीय जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधि तथा हिन्दु र मुस्लिम समुदाय सहितको सर्वपक्षीय छलफलबाट कफ्र्यु हटाउन आग्रह गर्ने, स्थानीय बजार पसल खोल्ने र एक अर्कालाई सम्मान गर्ने, दोषीलाई कार्वाहीका लागि पहल गर्ने एकआपसमा सहमती गरेपछि अवस्था साम्य भएको हो ।
सर्वपक्षिय छलफलमा सामाजिक सद्भाव कायम गर्ने सबैले प्रतिवद्धता जनाएका छन् । हरिनगर गाउँपालिका अध्यक्ष गफार अंसारी सहितको उपस्थितीमा भएको सर्वपक्षिय छलफलबाट स्थानीयस्तरमा शान्ती एवम् सदभाव कायम गर्ने उदेश्यले एक निगारनी(रेखदेख) समिति गठन गरेको छ । हरिनगर १ का वडा अध्यक्ष प्रविण गुप्ता र मोहमद अंसारीको संयुक्त अध्यक्षतामा ११ सदस्य समिति गठन गरेको छ । समितिमा मुर्सिद सिद्धिकि, फारुक अंसारी, सैजाज अंसारी, पर्शुराम मण्डल, युवक कुमार मुखिया, रामकुमार गुप्ता, तफलेल अंसारी, सुशिल कुमार ठाकुर सहित सदस्य रहनुभएको छ । त्यसैगरी उक्त समितिमा महफुज आलम, लश्करी अंसारी र हरिनगर गाउँपालिका अध्यक्ष गफार अंसारीलाई अभिभावकत्वको भुमिका निर्वाह गर्ने सर्वपक्षिय छलफल पछि जारी निणर्य पुस्तीकामा उल्लेख गरिएको छ ।


सहमती भएपछि जनजीवन सामान्य बनेको छ भने हाटबजारमा चहलपहल बढेको छ ।
हरिनगर गाउँ कार्यपालिकाले घाईतेको उपचार खर्च दिने निर्णय



इनरुवा, चैत २६ गते । सुनसरीको हरिनगर गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले चैत २२ गते हरिनगर ३ नीवासी जीवन मेहता माथि कुटपीटबाट भएको घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँको उपचार खर्चमा लाग्ने नपुग रकम गाउँपालिकाबाट व्यहोर्ने निणर्य गरेको छ । अध्यक्ष गफार अंसारीको अध्यक्षतामा बसेको बैठकले हरिनगर गाउँपालिका वडा नं. १ रामनगर भुटाहामा चैत २२ गते हरिनगर ३ का जीवन मेहतालाई कुटपिट भएको घटना प्रति दुखः व्यक्त गर्ने, मेहताको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचार खर्चमा लाग्ने नपुग रकम व्यहोर्ने साथै उक्त घटनाबाट उत्पन्न भएको प्रदर्शनको क्रममा घाइते भएका आम जनता, सञ्चारकर्मी एवम् सुरक्षाकर्मीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको छ ।
त्यसैगरी जीवन मेहतामाथीको कुटपीटको घटनाको सम्बन्धमा सत्य तथ्य छानविन गरी ७ दिन भित्र प्रतिवेदन पेश गर्न हरिनगर ५ का वडा अध्यक्ष सिकमलाल यादवको संयोजक्त्वमा पाँच सदस्य छानविन समिति गठन गरेको छ । समितिको सदस्यहरुमा हरिनगर ४ का वडा अध्यक्ष देवनारायण मेहता, हरिनगर ३ का वडा अध्यक्ष अरविन्द कुमार मेहता, हरिनगर १ का वडा अध्यक्ष प्रविण प्रसाद गुप्ता र हरिनगरका प्रशासन सहायक पाँचौ सचिव रमेश कुमार स्वर्णकार रहनुभएको छ ।
त्यसैगरी बैठकले मेहतामाथीको कुटपीट घटनाको बिरोधमा प्रदर्शनकारीहरुले नागरिकहरुको धन सम्पत्ति, सार्वजनिक सम्पत्ति तथा यस हरिनगर गाउँपालिका कार्यालयको कार्यालय भवनमा तोडफोड गरी क्षति पुर्याएको हुँदा सो क्षतिको सम्बन्धमा आवश्यक कार्वाहीका लागि कार्य अगाडि बढाउन अध्यक्षलाई अधिकार दिने निर्णय गरेको छ ।
त्यसैगरी घटनाको बिरोधमा प्रदर्शन हुँदा जनताको सुरक्षामा खटिएका प्रहरी प्रशासनबाट कमी कमजोरी भएकोले आगामी दिनमा यस किसिमको कमी कमजोरी हुन नदिन सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण गर्ने निर्णय भएको छ । घटनाको बिषयलाई लिएर एक आपसमा रहि आएको सामाजिक सद्भाव र सहिष्णुतालाई खलल पुर्याउने गरी बाहिरी हस्तक्षेप भईरहेकोले सो कार्य रोक्नका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई आवश्यक कार्वाहीका लागि लिखित रुपमा अनुरोध गर्ने निर्णय गरिएको छ । सुनसरीको बराहक्षेत्रमा १२ वर्षमा एकपटक लाग्ने पूर्ण महाकुम्भ मेला यही मिति २०८० साल चैत्र २७ गते देखि २०८१ साल बैशाख २८ गते सम्म आयोजना हुने गइरहेको पूर्ण महाकुम्भ मेला सुनसरीबासीहरुका लागि सौभाग्य तथा गौरवको विषय भएकोले यसलाई सभ्य र भव्यका साथसफल बनाउनु हामी सुनसरी बासीहरुको नैतिक जिम्मेवारी भएकोले पूर्ण महाकुम्भ मेला सफल बनाउनका लागि सबैमा हार्दिक अपिल गर्ने, महाकुम्भ मेलामा सहभागी हुन आउने सम्पूर्ण आगन्तुक, धर्मावलम्बी तथा भक्तजनहरुलाई आ–आफनो ठाउँबाट मानवीय सहयोग, स्वागत तथा धार्मिक सहिष्णुता कायम राख्दै शान्तिपूर्ण तरीकाबाट महाकुम्भ मेलालाई भव्यताका साथ सफल बनाउन सबैमा हार्दिक अनुरोध गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरियो । साथै इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमादान (रोजा) को समाप्ति सँगै मनाईने पर्व इदुल फित्र (इद) को समेत सबैमा हार्दिक शुभकामना ब्यक्त गर्ने निर्णय भएको छ ।
हरिनगरको घटनाको निष्पक्ष छानविन सहित कानूनी कार्बाही गर्छाै ः अध्यक्ष अन्सारी


इनरुवा, चैत २६ गते । सुनसरीको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँले हरिनगर घटनाको छानबिन गरि दोषीलाई कार्वाही गरिने बताउनुभएको छ । घटना पश्चात् प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन गरि दोषीलाई कार्वाही गरिने जानकारी दिनुभएको छ ।
वहाँले सामाजिक सद्भाव कायम राख्न जनसमुदायमा आग्रह समेत गर्नु भएको छ । चतराधाममा हुने महाकुम्भ मेलालाई साँस्कृतिक एवम धार्मीक पर्यटनको महत्वपुर्ण उत्सवको रुपमा भब्यतापुर्वक सफल पार्न गाउँपालिका सम्पूर्ण गाउँबासीमा हार्दिक आव्हान गर्नुभएको छ । यस्तै इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमादान (रोजा) को समाप्तिसँगै मनाईने पर्व इदुल फित्र (इद) को समेत सम्पूर्ण गाउँबासीमा शुभकामना दिनुभएको छ ।
अांसरीले एक विज्ञप्ति मार्फत“नेपाल बहुजातिय, बहु धार्मीक एवम बहु साँस्कृतिक विविधताले भरिएको देश भएकाले पारस्परिक विश्वास, एकता, भाइचारा र धार्मीक सहिष्णुतालाई अक्षुण राख्दै अघि बढी रहेको हाम्रो सामाजिक परिवेशलाई आघात पुर्याउने गरी गत केहि दिन देखी भैरहेको अवाञ्छित गतिविधिका कारण आम नागरिकको दैनिकीलाई संकुचन मात्रै गरेको छैन यसले हामी विचको सामाजिक सद्भाव र धार्मीक सहिष्णुतालाई समेत आघात पुर्याएको छ ।” भन्नुभएको छ ।