जयकृष्ण यादव । इनरुवा
इनरुवा, साउन १० गते । सुनसरीको कोशी गाउँपालिका क्षेत्रमा नहर भएरपनि पानी नआएको भन्दै स्थानीयहरु प्रदर्शनमा उत्रेका छन् । कोशी गाउँपालिकाको पश्चिम कुशाहा र हरिपुर क्षेत्रमा सिचाईका लागि हरिपुर शाखा नहर भएरपनि वर्षौदेखी नहरमा पानी नआएकाले आक्रोर्षित किसानहरु पानी माग्दै प्रदर्शनमा उत्रेका हुन् ।
कोशी कटानको समयमा भत्केको संरचना निर्माण भएको दशक वित्दा समेत प्रयाप्त पानी नछाड्ना कोशी गाँउपालिकाका तीन हजार बढी किसानलाई मर्का परेको भन्दै आन्दोलित भएका स्थानीय समसाद मियाँले जानकारी दिनुभयो ।
सुनसरी मोरगं सिचाई योजनाको हरिपुर शाखा नहरको मधुवन दक्षिण तर्फ मूल तथा माइनर नहरमा प्रयाप्त पानी नदिएको कारण धानखेती लगाउन नसकेको र लगाएको बाली पनि सुक्न थालेको भन्दै किसान हातमा कृषि औजार बोकेर आन्दोलित भएका मियाँले बताउनुभयो ।
पानी माग्दै आन्दोलनमा उत्रिएका किसानले सोमबार एक घण्टा र मंगलबार दुई घण्टा जमुवा चौकमा विरोध प्रदर्शन गरेका छन् । सिंचाई तथा जल उपभोक्ता समितिको नाममा करौडोको बजेट खर्च गरेपनि समयमा नहरमा पानी प्रयाप्त नछाडेका करण धानखेती सुक्न थालेको भन्दै आक्रोशित भएका किसानले तत्काल नहरमा पानी नदिए थप चरणबन्द्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
कोशी गाँउपालिकाको विभिन्न वडा तथा स्थानबाट भेला भएका सयभन्दा बढी किसानले हरिपुर लौकही खण्डमा नाराबाजी गर्दै सडक पनि केही बेर अवरुद्ध गरेका छन् । सिचाईका सरोकारबाला र सरकारसँग सिँचाइका लागि पर्याप्त पानी उपलब्ध गराउन माग गर्दै आन्दोलनमा उत्रेको किसान सन्तोश यादवले बताउनुभयो । सुनसरी–मोरङ सिँचाइ आयोजनाले किसानलाई धानखेती र अन्य नगदेवाली लगाउन पानी नदिएका कारण केही खेत बाझै रहेको र केही खेतमा लगाएको धान सुक्न थालेको स्थानीय किसान विधान्दन यादवले बताउनुभयो । यादवले आयोजनाका कर्मचारीले नहर सफाई नगरेको, सिजनमा पानी नछाडेको, किसानको मागलाई बेवास्ता गरेका कारण आन्दोलनमा उत्रनु परेको बताउनुभयो ।