इनरुवा, बैशाख ३ गते । सुनसरीको ग्रामिण क्षेत्रमा वासन्ती (चैती) छठ सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य (अर्घ) दिँदै सम्पन्न भएको छ । पञ्चमी तिथिका दिन शनिबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत रहेका व्रतालुले सोमबार सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई चैती छठ सम्पन्न गरेको हो । वासन्ती छठ षष्टि तिथिमा निराहार व्रत र सप्तमीको सूर्योदयसँगै पारन गरि सम्पन्न गरेको भोक्राहा नरसिंह गाउँपालिका ७ का बर्ती हरिलाल यादवले जानकारी दिनुभयो । शरद र वसन्त ऋतु गरी वर्षमा दुई पटक मनाइने परम्पराको छठ पर्व मध्ये चैती छठ यस वर्ष सोमबार सम्पन्न भएको यादवले जानकारी दिनुभयो । गत साउन महिनाको अधिकमास प्रभावले चन्द्रमास गणनाका तिथि पछि धकेलिँदा वासन्ती छठले २०८१ वैशाख टेकेको मैथिल कर्मकाण्डका ज्ञाताहरु बताउँछन् ।


जिल्लाको भोक्राहा नरसिंह, इनरुवा , हरिनगर र कोशी गाउँपालिकाका व्रतालु सूर्योदय हुनु एक घडिपूर्वदेखि नै कम्मरसम्म डुब्ने पानीमा तीन पटक चोबलिएर सूर्यलाई चाँडै देखिन गीतबाट पुकारा गरिरहेका थिए । शनिबार पञ्चमीका दिन पनि दिनभरि निराहार उपवास बसेका व्रतालुले राति १० बजेतिर सख्खरमा पकाइएको खिरमात्र खाएका थिए । व्रतालुले पञ्चमीको ‘खरना’ विधियता लगातार करिब ३२ घण्टाको निराहार व्रतपछि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै ‘भोरका अरख’ सम्पन्न गरेका हुन् । ‘भोरका अरख’ गरिएसँगै छठ पर्व समापन भएको छ ।
बर्ती उर्मिला यादवका अनुसार बिहान अर्घ्य दिएसँगै सूर्य उपासनाको महापर्व सम्पन्न गरी व्रतालु इष्टमित्र , छिमेकी सहित छठी घाटबाट घर फर्केका छन् । पर्व सकिएसँगै घरघरै प्रसाद खाने÷खुवाएका छन् । छठ व्रतको प्रभावले दुःख, दारिद्र अन्त्य भई सुख, शान्ति र प्रत्येक मनोकाङ्कक्षा पूरा हुने स्थानीयहरुको जनविश्वास रहेको छ ।


१, भोक्राहा नरसिंह गाउँपालिका ७ नरसिंहमा उदाउदो सूर्यलाई अर्घ दिदै चैती छठ सम्पन्न गर्नुहुदै बर्तीहरु ।
तस्विर ः