इनरुवा नगरपालिका १० दिनपछि संचालनमा
इनरुवा, साउन ११ गते । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा करारमा कार्यरत रहका कर्मचारीको म्याद थप नभएको विषयलाई लिएर भएको आन्दोलनका कारण ठप्प रहेको नगरपालिका ११ औं दिन खुलेको छ ।
इनरुवा नगरपालिकाको कामकाज ठप्प पार्ने गरि मुल गेटमा धर्ना दिई कर्मचारी र जनप्रतिनिधिहरुलाई प्रवेशमा रोक लगाउदै आएका आन्दोलनकारीलाई बुधबार मध्यान प्रहरीले गिरफतार गरेपछि १० दिनदेखी ठप्प बनेको कार्यालय संचालनमा आएको हो । करार सेवामा रहेका कर्मचारीको म्याद थप नगरि कटौतीमा परेका कर्मचारी आन्दोलनमा उत्रिदा नगरपालिका सहित २ र ५ नम्बर वडाको कामकाज प्रभावित बनेको थियो । कार्य मूल्यांकनको आधार देखाउँदै ५७ जना करारका कर्मचारीलाई नगरले म्याद थप नगरेको तर कर्मचारीले आस्थाका आधार र पहुचका आधारमा कटौती गरेको विषयलाई लिएर आन्दोलन चर्काउदा काम ठप्प भएको थियो । आन्दोलनमा विभिन्न संगठन तथा पार्टीहरुले ऐक्यवद्धता रहेको भएपनि नगरपालिकाले तत्काल निर्णयबाट पछि नहट्ने र कर्मचारीहरुले धर्ना कार्यालय प्रवेशमा रोक लगाउन नछाडेपछि बुधबार जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले नागरिकको काम काज प्रभावित पार्ने गरि आन्दोलनमा उत्रेका मध्ये १६ जनालाई गिरफतार गरेको छ ।
नगरपालिकामा धर्ना दिदै चर्का नाराबाजी र नगरप्रमुख विरुद्ध अनावश्यक आरोप लगाउदै काममा समेत अवरोध गरेकाले आन्दोलनकारी सुरज मण्डल, विवेक पोखरेल, रेणु खड्का, स्याम मेहता, अनिल उराँव र धर्मराज जोसी सहितकालाई गिरफतार गरेको प्रहरीले जनाएको छ ।
उता गिरफतारमा परेका अनुषा वर्माले आफूलाई काखी बालक सहित काममा निस्काशन गरेकोले पुनरस्थापित नभएसम्म आन्दोलन जारी राख्ने बताउनुभयो । वर्माले निष्काशनमा परेका सबै कर्मचारीहरुलाई राजनितिक स्वार्थ र पहुँचका आधारमा आफ्ना बाहेककालाई हटाइएको आरोप लगाउनुभयो ।
प्रहरीको नियन्त्रणमा रहेकाहरुले हटाउँदा करारका सबैलाई समान तवरले हटाउनु पर्ने अडान लिएका छन । यता इनरुवा नगर प्रमुख केदार भण्डारीले भने नगरपालिकाले आवश्यकताका आधारमा कार्य मूल्यांकनलाई ध्यान दिई कर्मचारी कटौती गरिएको स्पष्ट पार्नुभएको छ । भण्डारीले अन्य बाँकी कर्मचारी समेत कार्य मूल्यांकनका आधारमा कटौती गरिने बताउनुभयो ।
यसैबिच आन्दोलनको विषयमा निर्णय लिन बसेको कार्यपालिका बैठकले साउन २० गते विषेश नगर सभा बोलाईएको भण्डारीले बताउनुभयो । इनरुवा नगरपालिकाले साउनको १ गतेबाट लागु हुनेगरी ५७ जना कर्मचारी म्याद थप नगरी हटाएको थियो । नगरपालिकाले ५७ जनालाई हटाएपनि करार सेवाकै ७९ जना कर्मचारीको भने म्याद थप गरेको थियो ।
