जयकृष्ण यादव । इनरुवा
इनरुवा, जेठ १५ गते । सुनसरीको विभिन्न स्थानीय तहमा १६ औं गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । दिवशको अवसरमा जिल्ला सदरमुकाम इनरुवामा वृक्षारोपण कार्यक्रम गरिएको छ । इनरुवा नगरपालिका, जिल्ला प्रशासन कार्यालय र सरकारी कार्यालयहरुको समन्वयमा इनरुवा १ को महानन्द पञ्चवटी पार्कमा वृक्षारोपण गरिएको छ । इनरुवा १ मा गणतन्त्र दिवस २०८१ को अवसरमा पार्कमा वृक्षारोपण गरिएको हो ।

दिवसको अवसरमा इनरुवा नगर प्रमुख केदार भण्डारीले गणतन्त्रले संस्थागत गरेको सङ्घीयता अभ्यास भएको छोटो समयमा तीनै तहको सरकार संवृद्ध हुँदै गएको बताउनुभयो । उहाँले सङ्घीयतापछि सेवा प्रवाहका तथा विकास निर्माणका काम नयाँ ढङ्गले अघि बढेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले गणतन्त्र दिवसको अवसर पारेर रोपिएको बिरुवा स्थानीय तह तथा वडा कार्यालयले महत्वका साथ अपनत्व लिई संरक्षण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

इनरुवा उपप्रमुख विनिता मेहताले विभिन्न जातका बिरुवा रोपिएको जानकारी दिनुहुदै हरीयाली बढाउन र विकास तथा समृद्धिका लागि वृक्षारोवण गरेको बताउनुभयो । वृक्षारोपण कार्यक्रममा इनरुवाका प्रमुख प्रशासकिय अधिकृत डिल्ली निरौला, प्रहरी उपरीक्षक वीपीन रेग्मी, कर्मचारीहरु तथा स्थानीय सरोकारबाला लगायतको सहभागिता रहेको थियो । उता हरिनगर र देवानगञ्जमा समेत प्रभातफेरी गरेर गणतन्त्र दिवस मनाएको छ ।

यसैबीच १६औं गणतन्त्र दिवसको अवसरमा इनरुवा जेसीजले ट्राफिक सचेतना तथा सडक सुरक्षा सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ ।

इनरुवा ४,बस चौकमा सरोकारबालाहरुको उपस्थितिमा ट्राफिक सचेतना तथा सडक सुरक्षा सम्बन्धि कार्यक्रम सम्पन्न भएको जेसीज सत्य यादवले जानकारी दिनुभयो ।