विकास योजना र बजेटको माग गर्दै संघीय मन्त्रालयमा भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष आजाद
जयकृष्ण यादव । इनरुवा
इनरुवा, साउन १२ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकालाई विकशित र समृद्ध बनाउने लक्ष्यका साथ जनप्रतिनिधिले काम थालेका छन् । गाउँपालिकाको ८ वटै वडामा समानुपातिक र न्यायिक विकासको योजना सहित काम थालेका हुन् । आर्थिक वर्ष २०७९ । ०८० को लागि बार्षिक बजेट, नीति तथा कार्यक्रम ल्याएको स्थानीय सरकारले थप काम र योजनाहरुलाई सकार पार्नका लागि संघीय सरकारका मन्त्रालयहरुमा पहल थालेको छ ।
स्थानीय तहको निर्वाचनमा आफू नेपाली काङ्ग्रेसको तर्फबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपनि चुनाव पछि आफू सबै गाउँबासीको अध्यक्ष भएकाले सबैको माग, आवश्यकता र चाहनालाई ध्यानमा राखेर विकासमा जुटेको अध्यक्ष अजमल अख्तर आजादले बताउनुभएको छ ।
आजादका अनुसार संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित भौतिक पूर्वाधारमन्त्री मो. इस्तियाक राई, प्रधानमन्त्री शेरबहादुर देउवाँ, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहित गठबन्धनका नेताहरु र मन्त्रीसंग भेटघाट भएको र हुने क्रम जारी रहेको छ ।
आफ्नो गाउँपालिकाको १५ वटा योजनाहरुलाई सकार पार्नका लागि भन्दै संघीय राजधानी काठमाण्डौ पुग्नुभएका अध्यक्ष अजमल अख्तर आजादले निर्वाचत पछि लोकप्रिय र जनमैत्री सहित रचनात्मक काम सुरु गरेको र थप ठूला योजनाहरुलाई भित्रियाउनका लागि मन्त्रालयहरुमा पहल थालेको बताउनुभयो ।
वहाँले गाउँपालिकाको विभिन्न क्षेत्रमा सोलार बती, सडकबाटो, पार्क, रंगशाला, कृषि सिचाई, कृषि बाटो, ट्रमा सेन्टर, एम्बुलेन्स सम्मको व्यवस्था मिलाउन संघीय सरकारसंग आग्रह गर्दै विभिन्न मन्त्रालयमा माग निवेदन पेश गरेको बताउनुभयो ।
गाउँपालिकाको ६ वटा सडकबाटोको स्तोरोन्नतीका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा माग निवेदन पेश गरेको बताउनुभयो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा खेल मैदान, फुटबल तथा क्रिकेट प्रतियोगिता, अध्यक्ष कप प्रतियोगिता, रंगशाला निर्माण माग निवेदन पेश गरेको बताउनुभयो ।
जलस्रोत तथा उर्जा मन्त्रालयमा सोलार बतीका लागि एक करोड बजेट माग गरिएको छ । पार्क निर्माणका लागि पर्यटन नागरिक उड्यान मन्त्रालयमा माग निवेदन पेश गरेको बताउनुभयो ।
अर्थ मन्त्रालयमा अर्थ मन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९।०८० को लागि बार्षिक बजेट, नीति तथा कार्यक्रममा आर्थिक विषेश क्षेत्र घोषणा गरेकाले त्यसको केन्द्र सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नै राख्नका लागि आग्रह सहितको माग समेत पेश गरेको आजादले बताउनुभयो । वहाँले यसका लागि गाउँ सभाबाट पास गर्दै जिल्ला समन्वय समिति, नेपाल विधुत प्राधिकरण, जिल्ला प्रशासन कार्यालय र साझेदार सरोकारबाला निकायसंग समेत समन्वयन गरेर अर्थ मन्त्रालयमा माग पेश गरेको बताउनुभयो ।
नेपाल सरकारका प्रवत्ता एवम् सूचना तथा संचार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको तोक आदेश तथा समन्वय मार्फत सम्बन्धीत मन्त्रालयहरुमा माग निवेदन पेश गरेको बताउनुभयो ।
सरकारी निकायसगैं गाउँको विकासका लागि गैरसरकारी संस्थाहरुसंग समेत राजधानीमा पहल गर्दै माग निवेदन पेश गर्ने तयारी गरेको बताउनुभयो । आफ्नै गाउँपालिकाको लगानीमा १२ किलो मिटर सडकमा पोल बती लगाएको र लगाउने काम जारी रहेको बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयमा ट्रमा सेन्टर र एम्बुलेन्सको माग गरेको छ । कृषि मन्त्रालयमा सित भण्डार निर्माण, कृषि सिचाई तथा औजार र कृषि सडक निर्माणका लागि माग गरेको छ । कृषि मन्त्रालयमा भोक्राहा नरसिंह गाउँपालिका ६ को हुलाकी मार्ग हुदै भित्रि कृषि सडक, भोक्राहा चिरौली चौक हुनै हफाजको घर हुदै रहमान टोल सहित हनुमानी चौकसम्मको सडक, इसराईल कामत हुनै सिशुवासम्मको बाटो र भोक्राहा नरसिंह १ को सुनसरी खोला स्मसान घाटसम्मको कृषि बाटोको निर्माण सहितको माग गरेको जनाएको छ । सम्बन्धीत मन्त्रालयमा योजनाहरु रकम पारिदिन निवेदन दर्ता भएको जानकारी दिदै सक्दो सहयोग गर्ने प्रतिवद्धता पाएको बताइएको छ ।
उता अध्यक्ष आजादका स्वकिय सचिव सोहेल अख्तर अंसारीले भोक्राहा नरसिंह गाउँपालिकामा काङ्ग्रेसको नेतृत्वमा जनप्रतिनिधि आएपछि जनमुखी काम सुरु गरिएको बताउनुभयो । सुशासनका लागि गाउँपालिकाको हरेर गतिविधिहरु र गाउँ सभा तथा कार्यपालिकाका निर्णयहरु वेभसाइट, फेसबुक मार्फत सार्वजनिक गर्दै सर्वसाधारणहरुलाई जानकारी गराउदै आएको छ । नीति कार्यक्रम बजेट तर्जुमा गर्दा स्थानीय राजनीतिक दल, बुद्धिजिवी, सामाजसेवी, सरोकारवालासंग सल्लाह सुझाव परामर्श लिई सर्वपक्षिय माग अनुसार शैक्षिक सुधार र किसान मैत्री बजेट निर्माण भएको जानकारी दिनुभयो ।
अध्यक्षले कार्यभार समालेसगैं वडा कार्यालयहरुमा निःशुल्क हेल्प डेस्क स्थापना, निशुल्क रूपमा निवेदन लेख्ने, फारम भर्ने, फोटोकपी गर्ने काम सुरु भएकोले सर्वसाधारणहरु खुशी भएका अंसारीले बताउनुभयो ।
गाउँमा उच्च स्तरिय शैक्षिक सुधार अध्ययन टोलीले आफ्नो काम जारी राखेको र प्रतिवेदन आएपछि कम विधार्थी भएका विद्यालयहरू मर्ज गर्ने, पाँच कक्षासम्म अंग्रेजी माध्यममा पठनपाठन सुरु गर्ने, कार्यक्षमता कमजोर भएका शिक्षकलाई तालिम दिने, पालिकाभित्रै शिक्षक सरुवा गर्ने लगायतको तयारी गरेको छ ।
उता भोक्राहा नरसिंह गाउककपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुनन्दन मेहताले पालिकालाई विकासमा अगाडि र शैक्षिक क्षेत्रमा सुधार भएको क्षेत्रका रुपमा काम भईरहेको बताउनुभएको छ । विकासमा साकारात्मक दिशातर्फ डोर्याउने काम गाउँकपालिका अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षहरु, वडा सचिव तथा कर्मचारीहरु पनि सकृय भएर लागेको बताउनुभयो ।

