सुनसरीकाेे कोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट , निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कोशी गाउँ सभाको १६ औं अधिवेशन कार्यक्रमका बीच कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले आगामी आर्थिक वर्षको लागि अनुमानित ५३ करोड ७४ लाख ५७ हजार ३१ रुपियाँ बराबरको वार्षिक बजेट निति तथा कार्यक्रम सार्वजनिक गर्नुभएकाे हाे। कोशी गाउँपालिकाले निति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि संघीय सरकार वित्तीय सामानीकरणबाट १३ करोड ३ लाख, संघीय सरकार राजस्व बाड्फाडतर्फ मूल्य अभिवृद्धि करबाट आठ करोड ४० लाख ६० हजार ६४९ र अन्तशुल्क रु तीन करोड पाँच लाख ३९ हजार ३५१ रुपियाँ,संघीय सरकार सशर्त संचालन अनुदान २० करोड ६१ लाख २५ हजार, संघीय सरकार विशेष अनुदान पुजिगत १ करोड ५० लाख,संघीय सरकार समपुरक अनुदान १ करोड ५० लाख,प्रदेश समपूरक अनुदान १ करोड ,आन्तरिक आम्दानी १ करोड ५० लाख लगायतबाट व्यवस्थापन हुने प्रस्तुत निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

कोशी प्रदेशसभा सदस्य सदानन्द मण्डलको प्रमुख आतिथ्य एवं जिल्ला समन्वय समिति महासंघका केन्द्रीय सभापति राजन मेहता,इनरुवा नगरपालिकाका मेयर एवं नेपाली कांग्रेस सुनसरी सभापति केदार भण्डारी,हरिनगर गाउँपालीका अध्यक्ष गफार अन्सारीकाे विषेश आथित्यतामा गाउँ सभा सम्पन्न भएको छ । कार्यक्रममा कोशी गाउँ पालिकाका उपाध्यक्ष अनितादेवी यादव,विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, वडाका जनप्रतिनिधिहरु, सरोकारवाला,सुरक्षाकर्मी,संचारकर्मी लगायतको उपस्थितिमा अध्यक्ष ऐयुब अन्सारीले बजेट , नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे थियोे ।

वार्षिक बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुदै अध्यक्ष अन्सारीले आगामी वर्षका लागि कोशी गाउँपालीकाले शिक्षाका लागि र शैक्षिक गुणस्तरसंगै राेजगार दिने कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो । त्यसैगरी कृषि तथा स्वास्थ्यलाई पनि प्राथमिकता राखेको बताउनुभयाे । आफू २०७४ सालमा पहिलोपटक निर्वाचित भएदेखि दोस्रो कार्यकालको दुई वर्ष सहित सात वर्षसम्म मुख्य गरी पूर्वाधार विकासलाई बढी प्राथमिकतामा राखेर काम गरेकोमा हरेक वडा वडामा पक्की बाटो पुर्‍याउन सफल भएको उहांको भनाइ छ । अब भने शिक्षा,स्वास्थ्य,कृषि र रोजगारका क्षेत्रलाई बढी प्राथमिकता राखेर काम गर्ने हिसाबले नीति तथा कार्यक्रम प्रस्तुत गरेको बताउदै अध्यक्ष अन्सारीले संघीय सरकारले आफूहरूले अपेक्षा गरेअनुसार बजेट उपलब्ध गराइदिएको अवस्थामा नीति तथा कार्यक्रम कार्यान्वयन गर्न केही सहज हुने बताउनुभयाे । उक्त कार्यक्रममा कोशी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर दाहालले बजेट ,निति तथा कार्यक्रम सफल कार्यान्वयन गर्ने बताउनुभयो ।

सोही सभामा चालू आर्थिक वर्षमा सबैभन्दा बढी राजस्व संकलन गर्ने कोशी गाउँपालीका वडा नम्बर १,३ र ७ नम्बर वडा कार्यालयलाई नगद र प्रशंसा पत्रबाट सम्मान गरिएको छ । यस्तै उत्कृष्ट काम गर्ने कर्मचारीकाे रुपमा प्रशासन शाखा प्रमुख विनोद मिश्र र लेखा अधिकृत सुरप्रसाद दंगाललाई समेत नगद र प्रशंसा पत्रबाट सम्मान गरिएको जनाएको छ।

२, गाउँ सभा बजेट ,नीति तथा कार्यक्रममा सम्मानितहरु तथा अथितिले सम्मान गर्नुहुदै।

तस्बिर : इनरुवा