वर्षाका कारणले जनजिवन प्रभावित , विद्यालयहरु बन्द
इनरुवा, असार २६ गते । सुनसरीमा चारदिन देखिको अविरल वर्षाका कारण जनजीवन जनजीवन प्रभावित भएको छ । वर्षाले जिल्ला सदरमुकाम इनरुवा सहित उतरमा रामधुनीको वडाहरु, पूर्वमा गढी, दुहवी र दक्षिणी क्षेत्र कोशी, भोक्राहा नरसिंह, हरिनगर, देवनागञ्ज, बर्जु सहितका गाउँहरु डुवानमा परेको छ । ग्रामिण सडकहरु डुवानमा परेकाले आवतजावतमा समस्या भएको छ भने कयौं घरमा पानी पसेको छ । वर्षाको कारण बुधबारबाट संस्थागत विद्यालयहरु बन्द गरिएका छन् । नीजि विद्यालयहरुले सडकबाटो डुवानमा परेकाले विधार्थीलाई आउन तथा बस पठाउन समस्या भएकाले विदा दिएको छ भने केही सामुदायिक विद्यालयहरुले समेत बाढीलाई ध्यानमा राखेर विद्यालयहरु बन्द गरिएको जानकारी दिनुभयो ।

गाउँका कच्ची सडक डुवानमा गरेको र क्षतीग्रष्त भएपछि सवारी आवागमन ठप्प भएको देवानगञ्जका विवेक मेहताले जानकारी दिनुभएको छ । वर्षाका कारणले जिल्लाका सरकारी कार्यालयमा सेवाग्राही घटेका छन् । लगातार चार दिनदेखिको अविरल वर्षाले इनरुवा नगर प्रवेश गर्ने इनरुवा कौवा खोच सडक पूर्ण डुवानमा परेको छ ।
डुबानमा परेको इनरुवा नगरपालिका–४, ९ र १० का उराँव टोल, खिखरी पट्टी, खत्वे टोल, मुसहरी टोलका सय बढी घर परिवारका ५०० जना प्रभावित भएका छन् । अविरल वर्षाको कारणले भुमि सुधार कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई सहितको कार्यालय डुवानमा परेको छ ।

उता सुनसरी खोला, गडन खोला , सेहरा खोलामा बाढीको पानीले थप डुवानको जोखिम बढेको स्थानीयहरुले बताएका छन् । यसैबीच जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवत्ता प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले वर्षा भईरहेको र नदी खोलामा पानीको बहाव र सतह बढेको भएपनि कोही कहिकतै विस्थापित भएको वा उद्धार गर्नुपर्ने अवस्थाको नरहेको प्रतिकृया दिनुभयो । उहाँले विपतको बेला प्रहरीलाई उच्च स्वतर्कता साथ तयारी अवस्थामा राखिएको र हाल त्यसो जोखिम नरहेको समेत बताउनुभयो ।
