भण्टाबारी सीमावर्ती क्षेत्रमा लागूऔषध नियन्त्रण गर्न निगरानी कक्ष स्थापना
देवराज यादव।। इनरुवा
इनरुवा, साउन २८ गते । सुनसरीको कोशी गाउँपालिकामा लागूऔषध नियन्त्रण गर्न सीमामा निगरानी कक्ष स्थापना गरिएको छ । जिल्लाको कोशी गाउँपालिका वडा नम्बर ८ स्थित भण्टाबारी सीमावर्ती क्षेत्रमा लागूऔषध नियन्त्रण गर्न निगरानी कक्ष स्थापना गरिएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर कोशीको सहयोगमा जिल्ला प्रहरी कार्यालय सुनसरीले भाण्टाबारी सीमामा निगरानी कक्ष स्थापना गरेको हो । लागूऔषध दुव्र्यसनी निगरानी कक्षको एक कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरिक्षक भिमबहादुर दाहालले उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि दाहालले पछिल्लो समय खासगरी सीमावर्ती क्षेत्रमा लागूऔषधको समस्या विकराल रुपमा देखिएकोले यसलाई न्युनिकरण तथा नियन्त्रण गर्ने उद्देश्यले प्रदेशभरीकै सीमावर्ती क्षेत्रमा निगरानी कक्ष स्थापना गरिरहेको बताउनुभयो ।
लागूऔषध नियन्त्रण गर्न स्थापना गरिएको निगरानी कक्ष लाभदायक हुने विश्वास व्यक्त गर्नुहुदै दाहालले लागूऔषध दुव्र्यसनी न्युनिकरण तथा नियन्त्रण गर्न सबै पक्षको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।
कोशी गाउँपालिका वडा नम्बर ८ स्थित ईलाका प्रहरी कार्यालय भण्टाबारीमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख बिपिन रेग्मीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवीन कृष्ण भण्डारी, बिओपी हरिपुर हाल प्रस्तावित सीमा सुरक्षा गुल्म भण्टाबारीका प्रमुख सन्तोष अधिकारी, ईलाका प्रहरी कार्यालय भण्टाबारीका इन्चार्ज वरिष्ठ सई जालन्धर बराल, ईलाका प्रहरी कार्यालय लौकहीका प्रमुख यदु खड्का, प्रहरी चौकी कोशी ब्यारेजका प्रमुख सुभाषचन्द्र सुनुवार, कोशी गाउँडपालिका न्यायिक समिति सदस्य कमरुद्दिन मियाँ र स्थानीय पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
१, सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ८ स्थित भण्टाबारी सीमावर्ती क्षेत्रमा लागूऔषध नियन्त्रण गर्न निगरानी कक्ष स्थापना गर्दै प्रहरी अधिकारीहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
