काठमाडौँ, साउन ३२ गते । खुम्बुमा हिमताल फुट्दा थामे गाउँका घरहरू बगाएको छ ।  हिमताल फुट्दा सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर ५ थामेमा केही घरहरू बगाएको हो । यसबाट दुधकोशी तटीय क्षेत्रमा जोखिम  बढेको छ । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलाको शिरमा रहेका केही हिमताल फुट्दा थामे बस्तीका केही घर र होटलहरु बगाएको हो भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ । सोलुका प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेले गोरखापत्र अनलाइनसँग कुरा गर्दै भन्नुभयो, ‘‘सोलु सदरमुकामबाट पैदल हिँडेर जाँदा चार–पाँच दिन लाग्न सक्छ, गाडी जाने मोटर बाटो छैन, यहाँ हेलिकोप्टर पनि छैन, त्यसैले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग हेलिकोप्टरका लागि समन्वय गरिदिन आग्रह गरेका छौँ ।

हिमताल वा हिम पहिरो के फुटेको टुङ्गो लागेको छैन र त्यसको मुहान कहाँ छ यकिन भएको छैन । ’’तर खुम्बु पासाङल्हमु गाउँपालिकाका प्रवक्ता लाक्पा छिरि शेर्पाले थामे खोलाको शिरमा रहेका हिमतालहरू फुटेर बाढी आएको जानकारी दिनुभयो । उक्त क्षेत्रमा सञ्चार सम्पर्क पनि स्थापित हुन नसकेकाले कति वटा ताल फुटे भन्ने यकिन विवरण आउन कठिन भइरहेको प्रवक्ता शेर्पाको भनाइ छ । सिङ्गो थामेमा बाढी पसेको र एउटा होस्टल र दुई वटा होटलहरु पूर्ण रूपमा बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी द्वारिका प्रसाद घिमिरेले बताउनुभयो । थामेको बाढी दुधकोशीमा मिसिएसँगै दुधकोशी तटीय क्षेत्रमा जोखिम रहेको प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेले बताउनु भयो । तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन प्रशासनले अपिल समेत गरेको छ । दुधकोशी नदी बहने सोलुखुम्बु र खोटाङ क्षेत्रका नागरिकहरूमा त्रास बढेको हो । बाढीले के कति मानवीय क्षति पुराएको हो भन्ने यकिन भने हुन सकेको छैन ।जल तथा मौसम विज्ञान विभागले एक सूचना प्रकाशित गरी सोलुखुम्बु जिल्ला खुम्बु पासाङ्ल्हामु गाउँपालिका वडा नं. ५ थामे आसपास ठुलो बाढी आएको जानकारी स्थानीयबाट प्राप्त भएकाले सोलुखुम्बुको जोरसल्लेदेखि तल दुधकोशीको तटीय क्षेत्रमा हुनेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित रहन अनुरोध गरेको छ ।

भिडियो स्रोतः खुम्बु पासाङ ल्हामु गाउँपालिका 
https://www.facebook.com/plugins/video.php?height=476&href=https%3A%2F%2Fwww.facebook.com%2Fkplrm%2Fvideos%2F1776968732834589%2F&show_text=false&width=238&t=0

काठमाडौँ, साउन ३२ गते । सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमताल फुटेको आशङ्का गरिएको छ । त्यहाँको थामे क्षेत्रमा अहिले ठुलो बाढी आइरहेको जनाइएको छ ।

सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले घटनाको पुष्टि गर्दै सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो ।

उहाँले हिमपहिरो आएको हो वा हिमताल फुटेको हो भन्ने यकिन हुन नसकेको बताउनुभयो । अहिलेसम्म दुई वटा होटल पूर्ण रूपमा बगाएको र मानवीय क्षतिको विवरण प्राप्त नभएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी साेलुका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार, तीनवटा घर बगाएको, चार–पाँचवटा घर तान्न लागेको छ । त्यस क्षेत्रमा प्रहरी टोली पठाइएको र विस्तृत विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । यो समाचार तयार पार्दासम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन ।