काठमाडौँ, भदौ २ गते । दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत र कृषि नायब प्राविधिक सहायकविरुद्ध नौ लाखभन्दा बढि भ्रष्टाचार मुद्दा दायर भएको छ ।अख्तियार दुरुयोग अनुसन्धान आयोगले कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि नायब प्राविधिक सहायक अशोक सिंह धामीविरुद्ध आइतबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा अनुसन्धान हुँदा उनीहरुले घुस लिएको पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अख्तियारको कार्यालय कञ्चनपुरबाट खटिइ गएको टोलीले मोहन र अशोकले सेवाग्राहीबाट चार लाख १२ हजार रुपियाँ घुस लिइसकेको अवस्थामा उक्त रकम र अशोकको नाम काटिएको दुई लाख ५० हजार रुपियाँको दुई वटा गरी पाँच लाखको चेकसहित नियन्त्रण लिइएको हो ।मोहन र अशोकलाई भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुरमा विगो नौ लाख १२ हजार रुपियाँ कायम गरी आज विशेष अदालत,  काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।