श्रीलङ्का टप्पुमा बगर खेती
बाबुराम कार्की
वराहक्षेत्र, भदौ ३ गते । नदी उकास क्षेत्रमा रहेको श्रीलङ्का टाप्पुमा बगर खेती गरिने भएको छ । चारैतिरबाट कोसी नदी सुसाउँदै बगिरहने ठन्डा हावा पानी र स्वच्छ वातावरण रहेको टापुमा किसानहरुले बगर खेती गर्ने भएका छन् । टप्पुमा किसानहरुलाई बगर खेतीतर्फ आकर्षण गराउन वराहक्षेत्र नगरपालिकाले बगरखेती कार्यक्रम सुरु गरेको छ ।
नगरका बजारहरुमा बाहिरबाट आउने दैनिक उपभोग्य सामग्री न्यूनीकरण गर्न र नगर क्षेत्रका कृषकलाई आत्म निर्भर बनाउन बगर खेती लाभदायिक हुने वराहक्षेत्र नगरपालिकाले जनाएको छ ।

वराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ का टप्पुवासी कृषकहरुलाई नदी उकास क्षेत्रमा तरकारी खेती गरी जीविकोपार्जनका लागि कृषकहरुलाई व्यावसायिक रुपमा बगर खेती प्रवद्र्धन कार्य सुरु गरेको बताइएको छ । बगरमा किसानहरुले तरबुजा, काँक्रो, लौकालगायतका तरकारी र फलफूलका बिरुवा लगाउने भएका छन् ।
वराहक्षेत्र नगर कृषि विकास शाखाका प्राविधिक निरकुमार राईका अनुसार नगदेबालीको पकेट क्षेत्रको रुपमा रहेको टप्पुमा किसानरुलाई बगर खेतीतर्फ पनि आकर्षण गराउन वराहक्षेत्र नगरपालिकाले कार्यक्रम अगाडि सारेको छ । टप्पुका टप्पुमा रहेका बगरहरुलाई प्रयोगमा ल्याई नगदेबालीका साथसाथै बगर खेती गरिने भएको उहाँले बताउनुभयो ।
कृषकहरुले प्रमुख बालिकारुपमा मकै, बोडी, खौर्सानी, टमटर, काउली, भेन्टालगायतका बालीहरुको खेती गर्दे आएका थिए । जिवीकाको प्रमुख स्रोत खेती र पशुपाल गर्दै आएका टाप्पु बासीलाई व्यवस्थित रुपमा व्यवसायिक बगर खेतीको लागि पालिकाले सहयोग गर्ने भएको नगर प्रमुख रमेश कार्कीले बताउनुभयो ।
नगरपालिकाले व्यवसायीक र आधुनिक रुपमा खेती गर्न कृषकहरुलाई बगर खेती प्रवद्र्धन कार्यक्रम अगाडि ल्याइएको नगरपालिकाका कृषि विकास शाखाका प्राविधिक निरकुमार राईले बताउनुभयो । पालिकाले कृषकहरुलाई व्यवसायिक तरकारी खेती गर्नका लागि स्थानीय गरैया कृषि सहकारीमार्फत रासायिनिक मल, उन्नत जातको बीउ, सिँचाइका सामग्रीहरु वितरण गर्दै आएको जनाइएको छ ।
नगदेबालीका लागि पकेट क्षेत्र रहेको टप्पुमा बगर खेती प्रवद्र्धनका लागि स्थानीय कृषकलाई बीउ र मलखाद वितरण तथा अभिमूखिकरण कार्यक्रम समेत पालिकाको कृषि शाखामार्फत हँुदै आएको बताइएको छ । तरकारी खेती गरेर आम्दानीमा लागेका कृषकहरुलाई बगर खेती कार्यक्रमले थप फाइदा हुने स्थानीय गरैया कृषि सहकारी संस्थाका अध्यक्ष बद्री राईले बताउनुभयो । किसान हरुलाई कम्पोष्ट मल, काक्राको बीउ, टमाटरको बीउ र खोर्सानीको बीउ वितरणका साथै अभिमूखिकरण गरिएको थियो ।
बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६, ९ बेलकाको २ र ३ वडा पर्ने टापु १४ किलोमिटर लम्बाइ र ५ किलोमिटर चौडाइको क्षेत्रफलमा फैलिएको छ । टापुमा नौ सय घरपरिवारका ७ हजार बढी संख्यामा मानिसहरुको बसोबास रहदै आएको छ ।
