उपभोक्ता अदालत गठन गर्नुपर्ने ः सरोकारबाला
जयकृष्ण यादव । इनरुवा
इनरुवा, भदौ ७ गते । सुनसरीका सरोकारबालाहरु तथा उपभोक्तावादीहरूले उपभोक्ता अदालत गठन गर्नुपर्नेमा जोड दिएका छनु । उपभोक्ता मञ्च सुनसरीले इटहरीमा आयोजना गरिएको उपभोक्ता अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले उपभोक्ता अदालत गठन गर्नुपर्ने जोड दिएका हुन् । कार्यक्रममा उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष आनन्द बहादुर थापाले उपभोक्ता तथा नागरिकहरूको अधिकार सुनिश्चित गर्न उपभोक्ता सम्बन्धी ऐन २०७५ को पूर्ण कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
उहाँले उक्त ऐन कार्यान्वयन गर्न उपभोक्ता अदालत गठन गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । थापाले अहिलेको वर्तमान परिवेशमा कानुन हिसाबले उपभोक्ताहरु मजबुत भएपनि कार्यान्वयन निकै फितलो रहेकोमा चिन्ता व्यक्त गर्नुभयो।
जिल्लाका सरोकारवालाहरूले उपभोक्ताहरूको अधिकार सुनिश्चित गर्नका लागि राज्यले ल्याएको उपभोक्ता सम्बन्धी ऐनको पूर्ण रुपमा कार्यान्वयन गर्न उपभोक्ता अदालत गठन गर्नुपर्ने आवश्यक रहेको माग जायज भएको कार्यक्रमका प्रमसख अथिति दुहवी नगरपालिका प्रमुख बेदनारायण गच्छदारले बताउनुभयो ।
त्यसैगरी जेष्ठ नागरिक मञ्चका कोशी प्रदेश वरिष्ठ उपाध्यक्ष जगदीश प्रसाद ओलीले उपभोक्ताहरुको हक अधिकार सुनिश्चित गर्न संविधानको मौलिक हककै रुपमा उपभोक्ता अधिकारलाई सुनिश्चित गरेको भएपनि कार्यान्वयन फितलो रहेको बताउनुभयो ।
ट्रेड युनियन कांग्रेसका ज्योति कोइरालाले सबैको हितमा र सबैको अधिकारको सुनिश्चितताका लागि उपभोक्ता मञ्चले काम गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । उपभोक्ताहरु अरुको तुलनामा ठगिने, पीडामा पर्ने र कानुनी उपचार पाउन समस्या रहेकाले उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो। ।
नागरिकहरूको अधिकार सुनिश्चित गर्नका लागि सबै पक्षको समन्वय जरुरी रहेकोसमेतथ उहाँले बताउनुभयो । त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्काले बजार अनुगमन र उपभोक्ता हितको विषय एकअर्कासँग जोडिएकाले त्यसमा विशेष ध्यान दिनुपर्ने आवश्यक रहेको बताउनुभयो ।
खड्काले बजार अनुगमन मौसमी नभईकन नियमित रुपमा गर्नुपर्ने र त्यसको कारबाही भएको अवस्थाको बारेमा सञ्चारमाध्यममा ल्याउनुपर्ने जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा इटहरी उद्योग वाणिज्य सङ्घका अध्यक्षले सबै इमान्दार हुनुपर्ने, सचेत नागरिक र उपभोक्ता हुनुपर्ने र डिलर, वितरक, उत्पादक र उपभोक्तासम्म सबैको समस्या समाधान गर्नका लागि एकअर्कासँग समन्वय जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा डिल्लीराम अधिकारी, खगेन्द्र आचार्य, दामोदर दाहाल, दुहबी नगरपालिकाकी उपप्रमुख मेनुका खतिवडा पोखरेल। इनरुवा नगरपालिकाकी पूर्व उपप्रमुख जमुना गौतम पोखरेल लगायतका सरोकारवालाहरुले बोल्नुभएको थियो । उपभोक्ता मञ्च नेपालको आयोजनामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता उपभोक्ता मञ्च सुनसरीका अध्यक्ष राजु ढकालले गर्नुभएको थियो भने प्रमुख अतिथि दुहवी नगरपालिका प्रमुख वेदनारायण गच्छदार रहनुभएको थियो ।
उपभोक्ताहरूको अधिकारका लागि बनेको ऐनलाई कार्यान्वयन मात्रै गर्न सके नागरिकहरूले स्वच्छ, स्वस्थ र गुणस्तर वस्तु तथा सेवा उपभोग गर्न पाउनेमा दुविधा नहुने समेत सरोकारबालाहरुले बताएका थिए । उपभोक्ता मञ्च नेपालले आयोजना गरेको कार्यक्रममा जिल्लाका सय बढी सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
१, उपभोक्ता मञ्च सुनसरीले इटहरीमा आयोजना गरिएको उपभोक्ता अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरु ।

तस्विर ः जयकृष्ण यादव । इनरुवा
