सातौं करम पूर्व सन्ध्या कार्यक्रमको तयारी
जयकृष्ण यादव । इनरुवा
इनरुवा, भदौ ९ गते । सुनसरी सदरमुकाम इनरुवामा सातौं करम पूर्व सन्ध्या कार्यक्रमको तयारी सुरु थालेको छ । सातौं करम पूर्व सन्ध्या तथा सांस्कृतिक कार्यक्रमको तयारी थालेको नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान सुनसरीले जनाएको छ । जिल्लामा बसोबास गर्ने उराँव समुदायले आफ्नो महान पर्व करम पूजाको अवसरमा पूर्वसन्ध्या तथा सांस्कृतिक कार्यक्रमको तयारी थालेको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिनुभयो ।
नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाको आयोजनामा करम पूर्व सन्ध्या कार्यक्रम भव्यताका साथ तयारी थालिएको छ भने भाद्र पूर्णिमाको दिन करम पूजा मनाइने भएकाले त्यस अघि नै जमरा राख्ने र सोही जमारा लगाएर करम पुजा सहित सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरेको जनाएको छ । करम पूजा मनाउनलाई एक हप्ता अगाडि बाजा–गाजा सहित स्थानीय नदीबाट जमरा राख्न वालुवा ल्याइन्छ । सोही विधि अन्तरगत इनरुवाको सुनसरी खोलाबाट बालुवा ल्याएर जमरा राखिने र जमारा लगाएर पुजासगैं सातौं करम पूर्व सन्ध्या तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको उराँवले जानकारी दिनुभयो ।
उराँवहरु आफ्नै मौलिक भेषभुषामा सजिएर ¥याली समेत निकालिने भएको छ । उराँव समुदायको महान पर्वको बारेमा जानकारी दिन तथा भाषाको संरक्षण गर्ने र मौलिकता प्रदर्शन गर्ने उद्देश्यका साथ कार्यक्रम गर्ने प्रतिष्ठानका उपाध्यक्ष जयप्रकाश उराँवले बताउनुभयो । उहाँले उराँवहरूको हक, अधिकार र पहिचानका लागि योगदान रहने गरि करम पूर्व सन्ध्या कार्यक्रम गरिने भएको जानकारी दिनुभयो ।


वहाँले उराँव समुदाय इनरुवाको पहिलो जाती मध्येको एक भएकाले उनीहरुको भाषा, कला, संस्कृति र संस्कारको संरक्षणमा आफूहरुले कार्यक्रम गर्ने बताउनुभयो ।
करम पूर्व सन्ध्या तथा सांस्कृतिक कार्यक्रममा उराँव कलाकारहरूले नाटक, नृत्य, र्याली र झाँकी प्रदर्शन गर्ने तयारी गरेको छ । करम पूर्व सन्ध्या कार्यक्रममा आफ्नो कला कौशल, गीत, नृत्य, पहिरन, बाजागाजा, पोशाक, मौलिक हातहतियार, कृषि औजार, जीविकोपार्जनका साधन प्रदर्शन गरिने नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानका सहसचिव देवप्रकाश उराँवले बताउनुभयो । उराँवले नयाँ पुस्तालाई उराँव समुदायको परम्परागत भेषभुषा र भाषा, संस्कृति बारे जानकारी दिन र इनरुवा झोडा फँडानी भएका समयमा बसोबास गर्ने पहिलो जाति भएकाले यस जातिका बारेमा सबैलाई जानकारी गराउनको लागि पनि करम पूर्व सन्ध्या तथा संस्कृतिक कार्यक्रमको तयारी गरेको उल्लेख गर्नुभयो ।



१, सुनसरी सदरमुकाम इनरुवामा सातौं करम पूर्व सन्ध्या कार्यक्रमको तयारी सुरु गरेको बारेमा जानकारी दिदै नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाको बैठकमा पदाधिकारीहरु ।
