श्रीकृष्ण जन्माष्टमीमा बनाएको मुर्ती विसर्जन
इनरुवा, भदौ १३ गते । ग्रामिण बस्तीमा घरघरमै भगवान कृष्णको मुर्ती पुजा गरेर हर्सोल्लासाका साथ कृष्णजन्माष्टमी मनाएका सुनसरीका स्थानीयहरुले बुधबार मुर्ती विसर्जन गरेका छन् । सदरमुकाम इनरुवा सहित जिल्लाका विभिन्न स्थानमा बनाएको श्रीकृष्णको प्रतिमुर्ती घरघरमा पूजा–आराधना सकेपछि विसर्जन गरेका हुन् ।
नागपञ्चमीको दिनबाट बनाउन सुरु गरेको भगवान् श्रीकृष्णको प्रतिमुर्तीको सोमबार र मंगलबार भव्य पूजा–आराधना गरेर मुर्ती विसर्जन गरेको इनरुवा ९ का स्थानीय बलदेव यादवले जानकारी दिनुभयो ।

आफूहरुले विगतदेखी नै घरघरमै मुर्ती पुजा गरी श्रद्धा–भक्तिपूर्वक श्रीकृष्णजन्माष्टी पर्व मनाएर मुर्ती विसर्जन गरेको इनरुवा ९ बबियाका विन्देश्वर यादवले बताउनुभयो । जिल्लाको इनरुवा, गढी, दुहवी, बर्जु, देवानगञ्ज, हरिनगर, भोक्राहा नरसिंह, कोशी, रामधुनी सहितको क्षेत्रमा हर्सोल्लासाका साथ कृष्णजन्माष्टमी मनाएका स्थानीयहरुले सुनसरी खोला, शंकरपुर शाखा नहर, कोशी व्यारेज र कोशी कटानमा मुर्ती विसर्जन गरेको कोशी गाउँपालिका ८ भाण्टाबारीका स्थानीय देवराज यादवले बताउनुभयो ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको दिनलाई विषेश गरेर यदुबशी यादवलहरुले जिल्लाको गाउँगाउँमा श्रीकृष्णजन्माष्टमीको दिन भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेकोले पुजापाठ गरेको पण्डित बलाराम यादवको कथन छ ।
